राष्ट्र बैंकको सहयोग किन अस्वीकार गर्दैछन् बैंकहरु ?




काठमाडौं । बैंकहरुलाई तरलता अभावको समस्या कम होस् भनेर नेपाल राष्ट्र बैंकले सहयोग गर्ने उद्देश्यले मंगलबार ४० अर्ब रुपैयाँ रुपैयाँ तरलता लिन बैंकहरुलाई आह्वान गर्यो ।

तर, मंगलबार तरलताको कुनै समस्या नभएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ५३ करोड रुपैयाँ लियो । जम्मा २७ वटा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंक ऋणपत्रमा बोलकबोल गरेका थिए ।

बजारबाट बैंकहरुले १४ प्रतिशतसम्म व्याजदरमा निक्षेप उठाइरहेका छन् तर किन राष्ट्र बैंकले ४ प्रतिशतको हाराहारीमा तरलता उपलब्ध गराउँदा पनि बैंकहरु राष्ट्र बैंकको सहयोग लिइरहेका छैनन् ?

तर, स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अरुले अन्तर बैंक व्याजदर भन्दा कममा बोलकबोल गरेकाले राष्ट्र बैंकले उनीहरुको बोलकबोल स्वीकार गरेन ।

राष्ट्र बैंकले बुधबार फेरि ४० अर्ब रुपैयाँको ऋणपत्र किन्न बैंकहरुलाई आह्वान गर्यो । राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीका अनुसार बुधबारको राष्ट्र बैंक ऋणपत्रमा ६ वटा बैंकले ६ अर्ब ७० करोड रुपैयाँ माग गर्दै बोलकबोल गरे ।

तर, मंगलबारको अन्तर बैंक कारोबारभन्दा कम व्याजदरमा बैंकहरुले ऋणपत्रका लागि बोलकबोल गरेकाले राष्ट्र बैंकले बुधबारको ऋणपत्र रद्द गर्नुपरेको पंगेनीले बताए । र, फेरि बिहीबार पनि राष्ट्र बैंकले ४० अर्बको ऋणपत्रका लागि आह्वान गरेको छ ।

‘मंगलबारको अन्तर बैंक व्याजदर ३.६० प्रतिशत छ, तर बुधबारको ऋणपत्रमा अधिकतम ३ प्रतिशत र न्यूनतम ०.७४ प्रतिशतमा माग गर्दै बोलकबोल परेकाले सबै बैंकको बोलकबोल अस्वीकार गरेका छौं,’ पंगेनीले क्लिकमाण्डूसँग भने ।

राष्ट्र बैंकले अन्तर बैंक व्याजदको भारित औषतभन्दा बढी व्याजदर पाएमात्रै ऋणपत्र बेच्ने जनाएको छ । अन्तर बैंक व्याजदर भनेको बैंकहरुले एकआपसमा अल्पकालीन सापट आदान प्रदान गर्दा लिइने व्याजदर हो ।

तरलताको अभाव भएका बैंकहरुले पर्याप्त तरलता भएका बैंकहरुबाट अन्तर बैंक सापटी लिन्छन् । जसकारण बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेपछि अन्तर बैंक कारोबारको व्याजदर बढ्ने गर्छ ।

केही महिनाअघिसम्म १ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंक व्याजदर अहिले ४ प्रतिशतसम्म पुग्नु यसैको उदाहारण हो ।

बजारबाट बैंकहरुले १४ प्रतिशतसम्म व्याजदरमा निक्षेप उठाइरहेका छन् तर किन राष्ट्र बैंकले ४ प्रतिशतको हाराहारीमा तरलता उपलब्ध गराउँदा पनि बैंकहरु राष्ट्र बैंकको सहयोग लिइरहेका छैनन् ? यो भने निकै चाखलाग्दो विषय बनेको छ ।


पुष्प दुलाल