आयात १.२ प्रतिशतले घट्दा निर्यात २५.९ प्रतिशतले बढ्यो, असन्तुलन कायमै



काठमाडौं । भदौ महिनामा आयात १.२ प्रतिशतले घट्दा निर्यात भने २५.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको तथ्याङकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६-७७ को दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकमा ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ । यता चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ । जस्तापाता, जुस, तार,
तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।

आव २०७६-७७ को दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ । हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भने वीरगंज भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट आयात वृद्धि भएको छ ।

आव २०७६-७७ को दुई महिनासम्ममा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले संकुचन २ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा निर्यात-आयात अनुपात ८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु