कुनबेला पक्राउ परिने हो भन्ने डरले राति निद्रा लाग्दैनः बीओकेका सीइओ शोभनदेव पन्त



झापाको बिरिङ खोलाको जग्गाको नक्कली धनीपुर्जा बनाएर बैंक अफ काठमाण्डूबाट सुरेन्द्र श्रेष्ठले करोडौं ऋण लिएको तथ्य खुलेपछि प्रहरीले बैंकका तत्कालीन सीइओ अजय श्रेष्ठसहित दर्जन बढीलाई प्रहरीले पक्राउ गरेर बैंकिङ कसूरको मुद्दा चलाएको छ । जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने भद्र र इमानदार बैंकर अजय श्रेष्ठ पक्राउ परेपछि बैंकिङ क्षेत्र आश्चर्यमा परेको छ । बैंकर्स संघले बैंकिङ कसूर ऐनमै खोट रहेको भन्दै संशोधनका लागि लबिङ गर्ने निर्णय गरिसकेको छ । कतिपय बैंकरहरुले भने तत्कालीन लुम्बिनी बैंक पक्षले तत्कालीन बैंक अफ काठमाण्डूलाई रिस फेरेको आरोप पनि लगाएका छन् । पछिल्लो घटनाक्रमका विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि कमलकुमार बस्नेतले बैंकका सीइओ शोभनदेव पन्तसँग गरिएको कुराकानीको सम्पादित अंशः

तत्कालीन बैंक अफ काठमाण्डूका सीइओ अजय श्रेष्ठसहित केही कर्मचारीलाई प्रहरीले पक्राउ गरेर बैंकिङ कसूरमा मुद्दा चलाएपछि तत्कालीन लुम्बिनी बैंकले तत्कालीन बैंक अफ काठमाण्डूमाथि रिस पोखेको भन्ने आरोप लागेको छ । खासमा भएको के हो ?

हामीले बुझ्नुपर्ने कुरा के हो भने डिफल्टर र फर्जरीको केश फरक हुन्छ । डिफल्टरको केश भएको भए हामी डीआरटी जानुपर्थ्यो । तर यो फर्जरीको केश हो । नेपालको कानुन अनुसार फर्जरीको केश भनेको एक वर्षभित्र सम्बन्धित अनुसान्धान गर्ने कानूनी निकाय (प्रहरी)मा पठाउनुपर्ने हुन्छ । त्यो अनुपालना गर्दै ८/१० महिनासम्म यो केसलाई सल्ट्याउनका लागि सञ्चालक समितिबाट ३ पटकसम्म ताकेता भयो ।

यो केशलाई रिभ्यू गरेर सकेसम्म लोन सल्टियोस् र यो अवस्थासम्म नआइपुगोस् भनेर प्रयास गर्दागर्दै पनि केही उपाय नलागिसकेपछि कानूनको अनुपालना गर्नु लागि नितान्तरुपमा हाम्रो किटानी जाहेरी ऋणीलाई हो । ऋणीले फर्जरी गर्यो, बैंकिङ कसुर गर्यो, नक्कली लालपुर्जा बनाएर बैंकलाई ठग्यो । यस बारेमा हामीले अनुसन्धान पनि गर्यौं । त्यहाँभन्दा बढी गर्ने अधिकार हामीलाई छैन । त्यसैले हामी प्रहरीकहाँ गएका हौं ।

तर ऋणीलाई किटानी गर्दा त्योसँग संलग्न सबै मान्छे तानिन्छन् । र, सीइओ पनि तानिन्छन् भन्ने कुरा त तपाईंहरुलाई पनि थाहा थियो नि हैन र ?

अब अनुसन्धान गर्ने निकायले क-कसलाई बोलाउँछ त्यो उसको कुरा हो । तर संगठित वित्तीय अपराधको केसमा किटानी जाहेरी गर्नुभन्दा अरु उपाय के छ र ? आफु फासिन्छ भनेर बस्नु हुँदैन । राज्यको निकाय त उ हो नि । भोलि के हुन्छ ? सम्बन्धित निकायले अरु कति ड्यामेज गर्छ ? कति बैंकमा गएर उसले कति ड्यामेज गर्छ ? हामी फाइनान्सियल सेक्टरलाई बचाउन लाग्यौं । संगठित गिरोहलाई अनुसन्धान गर्नको लागि कानूनको अनुपालना गर्नु पर्ने हाम्रो कानूनी कर्तव्य थियो । हामीले त्यही कर्तव्य निभाएका हौँ । प्रहरीले कसलाई तान्ने नतान्ने भन्ने हाम्रो बहस भएन । सम्बन्धित निकायको अनुसन्धानकर्ताले जे उपयुक्त ठान्छ । त्यो उसको कुरा हो । यो स्तरको भ्रामक बिचारहरु बैंकिङ क्षेत्रमा आउनु दुर्भाग्यको कुरा हो ।

केही नाम चलेकै बैंकरहरुले पनि यस्तो आरोप लगाइरहनु भएको छ । उहाँहरुले कानुन र बैंकिङ बुझेका छैनन् भनेर पनि कसरी भन्नू ?

समस्या कानूनमा छ । केही सीइओले गरेको असल नियत, त्यसको आफ्नो कुनै किसिमको प्रलोभन, कुनै पनि खराब नियत नभए पनि सीइओलाई जिम्मेवारी बनाउने कानून छ । घाटमा जाने बेलासम्म पनि छाड्दैन यो कानूनले । यो कानूनलाई सकेसम्म चेतना नआउने र यसलाई राजनीतिकरण गरेर बैंकभित्रको धमीलो पानीमा माछा मार्न खोज्ने यो जुन स्थिति सिर्जना गर्न खोजिएको छ । यही हो दुर्भाग्य ।

कस्ले धमिलो पानीमा माछा मारिरहेको छ ?

धमिलो पानी भनेको अरुको दिमाग भ्रमित बनाउने हो । किन यो ओपनियन क्रिएट गरेको ? वाट इज दि अब्जेक्टिभ ? तथ्य खोज्नु त पर्यो नि । तथ्य के हो ? विद्वान समूह नै छन् । उनीहरुले तथ्य हेर्नु पर्दैन ?

२०१७ सालमा अजय श्रेष्ठ सरले धनगढी केसमा २ करोड ७५ लाखको लागि आफैं निवेदन दिनु भएको छ पुलिसमा । पछि उहाँ आफैं बयान दिन पनि जानुभयो । नहुने थियो भने किन गरेको त ?

त्यति बेलाका ४ जना स्टाफ थुनामा परेका छन् । मुद्दा आजसम्म पनि चलेको छ, बैंक त्यो बेला टोटल लसमा गएको थियो ।

अब यसबाट यसबाट कोही पनि बच्दैनन् । सीइओमात्र होइन कुनैपनि स्तरका कर्मचारी बच्दैनन् । ठीक छ दोषीलाई कारवाही गर्नुपर्ने हुन्छ । दोषीबाट असूलउपर गर्नु पर्छ । जसले हिनामिना गरेको छ त्यसलाई कारवाही हुनपर्छ । बैंकिङ व्यवसाय साँच्चै जोखिमपूर्ण व्यवसाय हो । जसले केही गरेको छैन । निर्दोष छ, त्यसलाई त केही प्रोटेक्सन त हुनु पर्छ नि । मेरो आग्रह त्यति मात्र हो ।

तर, यो मुद्दाले तपाईंहरुलाई पनि अफ्ठ्यारो पार्यो है ?

हाम्रो निवेदनमा के छ भने संगठित अपराधको शंका लागेपछि हामीले यो बारेमा छानविन होस् भनेर राज्यले दिएको उपयुक्त निकायमा मुद्दा हालेको हो । कानूनले दिएको समय क्रस नहोस् भन्ने हिसाबले । १० महिनासम्म प्रयास गरेर, ३ पटक बोर्डमा छलफल गरेर यसलाई सल्टिएन भन्ने हिसाबले । अजय सरको केशमा मैले धेरै बोल्न मिल्दैन ।
सीइओहरु कसरी फस्छन् ?

सीइओको नियत असल भएपनि उ फस्छ । सीइओले भनेको सबै विश्वासको आधारमा काम गर्ने हो । १०० वटा ब्रान्चबाट एक एक वटा लोन एप्रुभलको लागि उसकोमा आएको छ भने सबै एक एक गरेर हेर्न सम्भव हुँदैन । सबैको प्रपोजल, भ्यालुएसन सीइओ बनाउने होइन । पूर्वदेखि पश्चिम महाकालीसम्मको ऋण लिने निवेदकलाई सीइओले भेटेर कुरा गर्न संभव हुँदैन ।

सबैको लागि कर्मचारी छुट्याएको हुन्छ । प्रपोजल बनाउने, जग्गा हेर्न जाने त्यसको भ्यालुलेसन गर्ने, सबैको प्रक्रिया हुन्छ । ब्रान्च म्यानेजरको अख्तियारीमा भएको काम उसले गर्छ नहुने भए योभन्दा माथिल्लो तहमा सिफारिस हुन्छ । तहगतरुपमा प्रक्रियाहरु पुरा हुदै सीइओ भएकोमा कर्जाको फाइल आइपुगेको हुन्छ । यी तलका व्यक्तिहरु सबै सीइओका विश्वासका हुन्छन् । उनीहरुले हेरेको कामलाई विश्वास गर्नुपर्ने हुन्छ ।

दशरथको छोरा राम नै भएपनि मेरा हनुमानहरु ३ वटा गुणका हुन सक्छन् । एक उसको क्षमतामा भर पर्छ । उसमा जजमेन्ट गर्ने क्यापासिटी नै छैन भने उसले के ठीक हो के ठीक होइन छुट्याउन नै सक्दैन ।

दोस्रो आचरण हो । आचरण नै ठीक छैन भने त्यसमा भरपर्छ । र, तेस्रो नियत । नियत ठीक छ कि छैन त्यसमा भरपर्छ । त्यो कर्जा पास हुने प्रक्रियामा अरुलाई प्रभावित गरेर कुनै एक वा दुई जना व्यक्तिको मात्र कर्जा सीइओबाट एप्रुभल गराएको हुनसक्छ । सीइओलाई त उसले पुर्णविश्वास दिलाएको हुन्छ ।

विभिन्न तरिकाले उसले सीइओको यति विश्वास जितिसकेको हुन्छ यसले ल्याएको प्रपोजल सीइओले नाई भन्ने अवस्था नै देख्दैन । तर उसको नियत खोटो भइसकेको हुन्छ । उसले कुनैपनि कस्टमर या भ्यालुएटसँग मिलेर सबै काम गरेको हुन्छ । चिन्नै सकिँन्दैन । कस्को नियत खराब हुन्छ थाहा नै हुँदैन ।

रिक्स हेर्ने प्रभावशाली व्यक्तिहरु हुन्छन् । उसले भनेको कुरा र गरेको काममा विश्वास गरेर पनि हुँदैन । वाध्यता पनि छ सीइओको उनीहरुलाई विश्वास गर्नु नै पर्ने किन भने उसले त सबै कस्टमरलाई गएर भेट्न त सम्भव नै हुँदैन । उनीहरुलाई विश्वास गरी त कारोबार नै चल्दैन । दिनमा कति धेरै काकोबारहरु भएका हुन्छन् । सबै सीइओले हेरेर साध्ये हुँदैन । तर विश्वास गरेको व्यक्तिमा यी ३ वटा कुरा भएन भने सीइओ जतिसुकै असल भएपनि फस्छ । सीइओका यस्ता मित्र भए भने दुस्मनको आवश्यकता पर्दैन । अब बुझ्नुस् घटना के कारणले भइरहेको छ । विश्वासको मान्छेहरुबाट नै विश्वासघात भएको हुन्छ । हामीले ब्रान्चमा त विश्वास गरेका मान्छेहरु त राखेका हुन्छौं ।

गलत नियत भएका कर्मचारीहरुलाई कसरी चिन्ने ?

नचिन्दाको अवस्थामा हो यो सबै हुने । चिन्न गाह्रो हुन्छ । बैंकमा १ हजारभन्दा बढी कर्मचारी हुन्छन् । कसको नियत कस्तो छ भनेर थाहा पाउन सजिलो छैन । म बैंक अफ काठमाण्डू आएको २ वर्ष भयो । केही कर्मचारीहरुलाई गलत नियत भएकै कारणले मैले जागिरबाट निकालेको पनि छु । गलत काम गर्ने कर्मचारीलाई निकाल्दा रिस फेर्यो भन्ने ? हामीले टुलुहुटुलुहु हेरेर बसिदिनु पर्ने भन्न खोजिएको हो ?

निर्दोष मान्छेहरु फस्न नदिन के गर्नुपर्ला ?

कानुनमा सुधार गर्नुपर्छ । आज पुलिसले दोषी प्रमाणित गरिकन मान्छेलाई थुनामा राखेको छ । यसमा अलिकति कानूनी पाटो र अलिकति सामाजिक पाटो छ । कानूनी पाटोमा बैंकका कर्मचारी बाघको मुखमा बाख्रा पुगे जस्तो हो । छोड्ने कुरै हुँदैन । कानुनमा नगई पनि सुख छैन । र, गए पनि यस्तै हालत हुन्छ । कानूनमा असल नियतले गरेको कामको केही मुल्याङकन नै छैन । र, अरुलाई भन्दा सीइओलाई बढी सजायदेखि बिगोसम्म बढी छ ।

आज हरेक बैंकले २ अर्बमात्रै नाफा कमाउँदा पनि ६०/७० करोड रुपैयाँ कर तिरेका हुन्छन् । ७/८ सय कर्मचारी म्यानेज गरेका हुन्छन् । आज मोटामोटी सबै बैंकहरुको १०० करोड रुपैयाँ निक्षेप छन् । कति गंभीर अवस्थामा काम गरेको हुन्छन् सीइओहरुले । त्यस्ता बैंकका सीइओहरुलाई दोषी प्रमाणित नभइकन थुन्नुपर्ने के आवश्यकता छ, यो के हो ? आज अजयजीलाई थुन्यो, भोलि अरुलाई थुन्दैन भन्ने के छ ? यही कारणले राति निन्द्रा लाग्दैन । किनभने भोलि म पनि पर्न सक्छु ।

यो कानूनले त आर्यघाटबाट पनि उठाएर बिगो लिने भयो । असल नियतले गरेको कामको त मुल्याङकन हुनु पर्छ नि । कानूनमा सुधार ल्याउनु पर्छ । संसारभरी कानूनमा केही हदसम्म छुट छ । नियत छुट्याउनु पर्छ । नियत त छुटिन्छ नि । हिँजोका कामहरुको मुल्याङ्न हुन्छ । यति त पुलिसले बुझ्दिनु पर्यो नि ।


पुष्प दुलाल