हवाई उडानमा चीनको नाकाबन्दी, चिनियाँ जहाजले सातामा ५६ उडान गर्दा, नेपालबाट शुन्य



काठमाडौं । चिनियाँ एयरलाइन्सले नेपालमा सातामा अहिले ५६ वटा उडान गरिरहँदा नेपालबाट भने एउटा पनि उडान हुन सकेको छैन् । यो एक प्रकारले चीनले नेपालका लागि हवाइ उडानमा नाकाबन्दी लगाए सरह भएको देखिन्छ ।

चीनका हवाइ कम्पनीहरु एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपालमा उडान भरिरहेका छन् । तर नेपालबाट भने नेपाल वायू सेवा निगम र हिमालयन एयरलाइन्सले भने उडान गर्न पाएका छैनन् ।
चीनले आफूले एकोहोरो रुपमा नेपालमा हवाइ उडान गरे पनि विभिन्न बाहनामा नेपाली विमानहरुलाई भने उडान गर्न दिएको छैन ।

विभिन्न बहानामा चीनले नेपाली जहाजलाई आफ्नो देशमा उडानको अनुमति दिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएर चीन जादा हिमालयन एयरलाइन्समा गएका थिए । दोस्रो पटक प्रधानमन्त्री भएर चीन जहाज सरकारी लगानीको नेपाल एयरलाइन्समा गएका थिए ।

नेपाल एयरलाइन्सका अधिकारीहरु प्रधानमन्त्री ओली नेपाल एयरलाइन्समा चीनको औपचारिक भ्रमणमा नेपाल एयरलाइन्समा गएपछि चीन उडान गर्न पाउनेमा विस्वस्त थिए ।

यसैबीच नेपाल एयरलाइन्सले चीनको ग्वान्जाओमा उडान अनुमतिका लागि अहिले सेफ्टी अडिटका लागि चिनियाँ अधिकारीहरुलाई नेपाल बोलाउने भएको छ ।
नेपाल वायू सेवा निगमका सह–प्रवक्ता नवराज कोइरालाले भने, ‘सेफ्टी अडिटका लागि चीनसँग छलफल भइरहेको छ, सम्भवतः एक साताभित्रमा उनीहरु नेपाल आइसक्ने छन ।’

उक्त टोलीले सेफ्टी अडिट गरिसकेपछि रिपोर्ट राम्रो आएमा उडान अनुमतिका लागि धेरै समय कुनुपर्दैन ।

यस अगाडि चाटर्ड उडानका लागि समेत हिमालयन एयरलाइन्ससँग सेफ्टी अडिट गरिएको थियो । जसमा हिमालयन पास भएको थियो । तर पनि हिमालयनले नियमित उडान भने गर्न पाएका छैन् ।

त्यस्तै, चीनको चासो यूरोपियन युनियनले नेपाली आकाशलाई कालो सूचीमा राख्नुमा पनि छ । यही कारणले चीनले लामो समयदेखि यसमा आलटाल गरेको देखिन्छ ।
नेपालको उड्डयन सुरक्षाको अवस्था कमजोर भएको र दुर्घटना बढेको भन्दै युरोपले समेत सुधारका लागि पत्र पठाएको थियो ।

वाइड बडी खरिद गरेको एक वर्षसम्म पनि नेपाल एयरलाइन्सले उडान गर्न नपाउँदा ऋणको किस्ता समेत तिर्न सकेको छैन् । त्यस्तै, अहिले आएर सरकारसँग किस्ता तिर्न गुहार मागिरहेको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा निगमलाई १ रुपैयाँ पनि दिन नसक्ने बताइसकेका छन् ।

चीनले आफूले मात्रै नेपालमा उडान गर्दा नेपाली एयरलाइन्सलाई ठूलो घाटा भइरहेको छ । नेपालमा भारतपछि सबैभन्दा बढी पर्यटक चीनबाट आउँछन् । सन् २०१८ मा मात्रै चीनबाट १ लाख ५३ हजार ६३३ पर्यटक नेपाल आएका थिए । चिनियाँ एयरलाइन्सको एकाधिकार भएपछि चीनका सहरहरुबाट नेपाल आउने हवाई भाडा अन्यत्रको भन्दा महंगो छ ।

यता सरकारले भने नेपाल र चीनबीच हवाइ सेवा सम्झौता पुनरावलोकन गर्नका लागि स्वीकृति दिने निर्णय गरिसकेको छ ।

नेपाल सरकार र चीन सरकारका प्रतिनिधीमण्डलबीच चीनको राजधानी बेइजिङमा २५–२६ जुलाई २०१९ मा हुने वार्ताका लागि सरकारले वार्ता टोली गठन गरेको हो ।
वार्तामा चीन र नेपालबीचको वातार्मा उडान संख्या तथा रुट वृद्धिका विषयमा द्विपक्षीय छलफल हुनेछ ।


क्लिकमान्डु