सामूदायीक विद्यालयको खराब नतिजा र यसका कारणहरु – शिक्षक विष्णुप्रसाद ज्ञवालीको लेख
विकास र सभ्यताको जनकको रुपमा शिक्षालाई लिने गरिन्छ । शिक्षाले गर्दा नै ढुंगेयुगका प्राणी आजको वैज्ञानिक युगमा पृथ्वीमाथी नै वर्चश्व कायम गर्न सक्ने प्राविधिकको रुपमा पहिचान कायम गर्न सक्षम भइसकेका छन् । हरेक राष्ट्रको सर्वाङ्गिण विकासमा पनि शिक्षाले नै महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
शिक्षित नागरिक देश विकासको लागि आवश्यक जनशक्तिको रुपमा खडा भई देश विकासमा योगदान दिन सक्दछन् । अन्यथा अहिले विश्वव्यापीकरणको युगमा कुनै पनि राष्ट्रले आफ्ना नागरीकहरुलाई सुखी र खुसी राख्न कठिन पर्दछ ।
हाम्रो देशमा शिक्षाको विकासक्रमलाई हेर्यो भने इतिहास त्यति पुरानो भेटिदैन । राणाकालमा कर्मकाण्डी शिक्षा, स्तुतिगान र लुकिछिपी भएका केही प्रयासहरु र पञ्चायतीकालमा राजभक्ति र पञ्चायती आचरण भएका शिक्षित नागरिक वनाउने उद्देश्यका साथ प्रशस्त मात्रामा प्राथमिक विद्यालय, केही माध्यमिक तथा केही सदरमुकाम केन्द्रित क्याम्पसहरुको स्थापना गरियो । यसबाट नागरिकहरु साक्षर हुने मौका र केहीले शिक्षित हुने मौका पनि पाए । पञ्चायती शासनकाललाई शिक्षित हुने अवस्थाकाृ सुत्रपात भन्न सकिन्छ ।
२०४६ सालको आन्दोलनपछि शैक्षिक क्षेत्रमा सुनौला दिनहरु आए । स्थापना भएका प्राथमिक विद्यालय र माध्यमिक विद्यालयहरु होडवाजी र हचुवाकै भरमा तछाड मछाड गर्दै माध्यमिक (तत्कालीन उच्च माध्यमिक) विद्यालयको रुपमा स्तरोन्नत्ती गरियो ।
हरेक गाउपालिकामा मा.वि (प्लस टु)हरु खोलेर शहर केन्द्रित शिक्षालाई ग्रामिण तहसम्म पु¥याइयो । सरकारले कक्षा चलाउने स्वीकृति दिएपछि दरवन्दी दिन्छ भन्दै कक्षा वढाउने काम व्यापक रुपमा भयो र कही कही दरबन्दी र राहत कोटा पनि वितरण गरियो ।
दरवन्दी र राहत कोटा नपाउने विध्यालयहरुले आधारभूत तहमा पढाउने शिक्षकहरुलाई कक्षा ११, १२ सम्म पढाउन लगाएपछि आधारभूत तहका कक्षाहरुको पढाइमा वाधा पर्न गई उक्त तहको जग खल्वलिन गई एसइइ नतिजामा असर देखापर्न थाल्यो ।
यो अवस्थालाई सरकारले शिक्षकले नपढाएको, राजनीति गरेको, शिक्षकहरुले सरकारी रकम बालुवामा पानी जस्तै गराएको, राजनीतिक दलको पछि लागेको जस्ता दोषहरु शिक्षकहरुलाई लगाएर पन्छिने गरेको छ । निम्न कारक तत्वहरुको समाधान वेलैमा नगर्ने हो भने शैक्षिक उपलव्धि वर्तमान भन्दा पनि नखस्कला भन्न सकिदैन ।
१. शिक्षक दरवन्दी
आधारभूत विद्यालयमा ३, ४ जना मात्रै शिक्षकहरुले अध्यापन गराउनुपर्दा ४५ मिनेटको समयमा पढ्नुपर्ने विषयवस्तु २५ मिनेट पढेर पाठ्यक्रमले तोकेको सिकाइ उपलव्धि हासिल हुने कसरी सम्भावना देख्न सकिन्छ ? यहि तरिकाले पढ्दै गएको विद्यार्थीले एसइइमा राम्रो नतिजा ल्याउन सक्दैन । त्यसैले सबै तहमा तोकिएको दरवन्दि पूरा हुनुपर्दछ । दरवन्दी पूरा भएको र ४५ मिनेट पूरै हरेक विषयको पढाइ हुने विद्यालयमा पढ्न पाउनु विद्यार्थीको अधिकार हो । विद्यार्थीको आधारमा दरवन्दी कम गर्ने कुराको सम्बन्ध हुँदैन । यसमा विषय र पूर्णांकसँग दरवन्दीको सम्बन्ध हुन्छ ।
२. तहगत शिक्षक व्यवस्था
आधारभूत तहको शिक्षकले कक्षा एक, दुइमा पनि पढाउने अनी ११, १२ मा पढाउदा माथिल्लो कक्षाको पढाइमा वढी तयारी गर्ने र तल्लो कक्षाको लागि तयारी अपुग हुने हँुदा जुन तहको शिक्षक हो त्यही तहमा मात्र पढाउन लगाउने व्यवस्था नभएसम्म फलामे ढोकाको हाउजुगी यथावत रहन सक्दछ ।
३. उदार कक्षोन्नती
काम गर्ने मान्छेहरु सधै पूर्णत सफल नै नभइ आंशिक सफल हुनेहरु अधिकांश भेटिन्छन् । विद्यार्थीहरु पनि प्रायः यस्तै वर्गमा पर्दछन् । तर विद्यालयहरुमा उदार कक्षोन्नतीलाई फरक ढंगले परिभाषित गरी धेरै विषयहरुमा कमजोर विद्यार्थीहरुलाई उनीहरुको स्तरोन्नतीमा जोड नदिई कक्षोन्नतीमा मात्र जोड दिनाले अन्तत्वगत्वा एसइइ परीक्षाको परिणाममा आएर प्रभाव भेटिएकोे छ । तसर्थ कमजोर विद्यार्थीहरुलाई सुधारात्मक (रेमिडियल) शिक्षाको व्यवस्थापछि मात्र उदार कक्षोन्नती व्यवस्थामा समावेश गर्नुपर्ने हुन्छ ।
४. परीक्षा प्रणालीमा सुधार
एसइइ परीक्षा १०, १२ दिनमा हतार हतार गरेर समाप्त गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ किनभने स्नातक वा अन्य माथिल्ला तहहरुको परीक्षामा एउटा विषयको ३, ४ दिनको फरकपछि मात्र अर्को विषयको परीक्षा तय गरिएको हुन्छ । एसइइ परीक्षाको चाहे नियमित होस वा या पूरक, शनिबार बाहेक कुनै पनि अन्तराल देखिदैन । फलतः लगातार परीक्षाले गर्दा हुने दिमागी थकानको परीणामा पनि एसइइ नतिजाको प्रभावकारी तत्वका रुपमा हेर्न सकिन्छ ।
५. विद्यमान त्राशपूर्ण वातावरण
अन्य तहको परीक्षाको तुलनामा एसइइ परीक्षाको प्रचार, प्रसार, टिका, टिप्पणीका साथै अभिभावकको परीक्षा केन्द्रमा हुने जमघट, प्रहरीको बाक्लो उपस्थिति, परीक्षाकेन्द्रको प्रवेश गेटमै गरिने खानतलासी, घाटीमा परिचय पत्र झुण्डाउने आउने निरीक्षणको जम्बो टोली, चिसो मौसम नै भएतापनि न्यानोजन्य वाक्लो लुगामा चिटका सम्भावना देखि गरिने खानतलासी आदिले परीक्षाको सकारात्मक मानसिकताका साथ आउने विद्यार्थीहरुमा पैदा गर्ने त्राशहरु कल्पना गर्दा पनि सहज अनुभुति हुँदैन ।
परीक्षा प्रणालीमा चिट चोर्ने , चोराउने कार्यलाई निरुत्साहीत गर्न छाडेर विद्यार्थीहरुलाई हाउगुजीजस्तो गराउँदै होमसेन्टर नदिनु पनि त्राशको एउटा पर्याय बनिरहेको पाइएको छ । यो अवस्थामा सुधार आएतापनि एसइइको नतिजा सकारात्मकतातर्फ उन्मुख हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
६. प्रधानाध्यापकको व्यवस्था
वर्तमान परीपे्रक्षमा भएको शिक्षकहरुको वर्गिकरण, निजी, राहत, अस्थायी, पीसीएफ, करार, आदि विधिवत वर्गिकरण, दशौं वर्ष पढाँउदा पनि सेवाको सुरक्षा नहुनुको प्रभावको परिणाम पनि कम डरलाग्दो छैन । माध्यमिक तहमा आधारभुत तहको दरवन्दीका प्रधानाध्यापकहरु पनि भेटिनु मात्र नभइ कम योग्यताका प्रधानाध्यापकको मातहतमा उच्च योग्यता भएका शिक्षकहरुले प्रशासनिक सुपरीवेक्षण, सहयोगलगायत पेशागत सम्वन्धहरुका भोगाइहरु पनि कम अप्ठ्यारा छैनन् ।
त्यसैगरी राजनीतिले जकडिइ भागवण्डामा गठित विद्यालय व्यवस्थापन समिति, क्रियाशिल हुन नसकेको शिक्षक अभिभावकसंघका बीचमा सेवा प्रवेशको उमेरलाई टेकेर पद ग्रहण गर्दै गुट उपगुट कायम गरी सोहि खालको व्यवहार र कार्यजिम्मेवारी प्रदान गर्ने प्रधानाध्यापकको मातहतमा रहि पेशागत धर्म निर्वाह गर्ने उच्च शैक्षिक योग्यता, सीप र कौशलता भएका शिक्षकहरुलाई प्रदान गर्न नसकिएको अनुकुलित विद्यालय वातावरण सवैभन्दा भयानक कारक तत्वका रुपमा देखिएको छ । यसैगरी सक्षम र योग्य प्रधानाध्यापक र कुशल नेतृत्व भएका ठाँउमा समेत प्रधानाध्यापकलाई हुने अतिरिक्त वोझहरुलाई अवमुल्यन गरी प्रदान गरिने अतिरिक्त भत्ता पनि सोचनीय पक्षअन्तर्गत उभिएको छ ।
त्यसर्थ : विद्यालयको तहअनुरुपको उच्च शिक्षा हासिल गरेको दक्ष, योग्य र कुशल नेतृत्व प्रवाह गर्न सक्ने शिक्षकलाई अलगै तलव वा सम्मानजनक भत्ताको व्यवस्था गरी प्रशासनिक व्यक्तिको रुपमा नियुक्त गर्ने प्रक्रिया अविलम्व अवलम्वन गरिएमा त्यसको सकारात्म परिणाम एसइइमा पनि देखिने कुरा सहजै सुनिश्चित गर्न सकिन्छ ।
यसका अतिरिक्त, शिक्षकहरुमा स्थाई र अस्थाई दुई प्रकारको मात्र विभाजन, कपि परीक्षणमा सुधार, रिटोटलिङ्गमा हजारौ पास हुने शुरुमा फेल भेटिने परिस्थितिको सुधार गर्न परिणाम अंकन कार्यको गुणस्तरमा जोड समेत दिनुपर्ने देखिन्छ । एसइइको नतिजा परिणाममुखी वनाउने हो भने माथी उल्लेखित सवै पक्षहरुमा सुधार हुन जरुरी देखिन्छ ।