धातुको मुद्रीकरण बैंकमा सुनचाँदी निक्षेप राख्ने स्वागतयोग्य योजना



घरमा वा लकरमा सुरक्षित राखिएको सुनमा व्याज पाइए कस्तो होला ? बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले बुँदा नं २३८ मा भनेका छन् ‘नेपाली नागरिकले सम्पत्तिको रुपमा आर्जन गरेको सुन र चाँदी लगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था मिलाइनेछ ।’

वित्तीय क्षेत्र शीर्षक अन्तर्गत उक्त बुँदामा अर्थमन्त्रीले भनेको कुराको आशय सुनलगायतका अन्य बहूमुल्य धातुको मुद्रीकरणसँग सम्बन्धित छ । जसको अर्थ धातुजन्य पदार्थलाई नगदमा रुपान्तरण गरिनु हो । अर्थात् जसरी नगदलाई बैंकले निक्षेपको रुपमा स्वीकार गर्छन्, त्यसैगरी सुन चाँदीलाई पनि स्वीकार गर्नु हो ।

घरायसी रुपमा प्रयोग भएका गरगहना भाँडाकुँडा वा अन्य अवस्थाको सुनचाँदी यो योजना अन्तर्गत स्वीकार्य हुन्छ । उत्पादकत्वको हिसालबे धेरै ठूलो योगदान नदिने यस्ता वस्तुको आयातामा हुने विदेशी मुद्राको खपतलाई निरत्साहित गर्न यस्तो योजना सफल हुने आकलनमा साथ अर्थमन्त्री विश्वस्त रहेको देखिन्छ । साथै, यस्ता निक्षेपमार्फत अनिवार्य नगद मौज्दात (सीआआर) र एसएलआरमा पनि उल्लेख्य सुधार गर्न सकिने देखिन्छ । जसको प्रत्यक्ष फाइदा बैंकलाई हुने देखिन्छ । तसर्थ बैंकले यी र यस्ता अन्य योजनालाई सफल बनाउन सम्पूर्ण स्रोत परिचालन गर्न कन्जुस्याई गनृूको कुनै तुक छैन ।

यो योजना आफैंमा जादुको छडी भने पक्कै होइन । तर एउटा प्रयास पक्कै हो । जसले तरलता सुधार गर्न केही योगदान हाम्रो अर्थतन्त्रमा पक्कै दिनेछ । सन् २०१५ बाट भारतमा सुरु भएको यस्तो योजना अन्तरगत करिब २० महिनाको अवधिमा भारतमा ६ हजार ५१० किलो सुन निक्षेपको रुपमा बैंकिङ च्यानमा भित्रिएको देखिन्छ । भारतको कूल सुन आयातको जम्मा २ प्रतिशत मात्र यो योजना अन्तरगत आएको देखिन्छ ।

यो उल्लेख्य मात्रामा भएको सुधार नभएता पनि भविष्यको बाटो पहिल्याउनका लागि राम्रो मार्गदिशा भने पक्कै हो । न्यून व्याजदर तथा जनचेतनाको कमीका कारण सर्वसाधारणमा यस्को चासो नभएको निष्कर्ष भारतमा निकालिएको थियो ।

नेपालले यसबाट केही सिकेर अगाडिका योजना बनाउँदा लाभदायक हुन्छ । सम्पत्तिको रुपमा जम्मा गरिने सुन चाँदी जुन सधै र सबै प्रयोगमा आउँदैनन् । त्यस्ता सुनचाँदीलाई बैंकमा राखेर व्यक्तिले केही मुनाफा (व्याज) प्राप्त गर्नुका साथै बैंक र अर्थतन्त्रलाई पनि यसले थप टेवा दिन्छ । यस्ता योजना मार्फत सर्वसाधारणले सम्पत्तिको रुपमा राखेको धातु सुरक्षित हुनुका साथै यसको सुरक्षाका लागि गरिने खर्चमा समेत कटौती गर्न सकिन्छ । उच्च तरलता भएका यस्ता धातुको लगानी सुरक्षित गराउन हेजिङ सुविधा पनि सँगै ल्याउन सकेको खण्डमा अझ उत्तम हुन्छ ।

यो योजना निक्कै सरल विधिमा गराउन सकिन्छ । ग्राहकले आफ्नो कुनै पनि रुपमा सुन चाँदी बैंकमा ल्याउने । उक्त धातु सम्बन्धित विभागका कर्मचारीले जाँचेर त्यसको मूल्य र मात्रा निकाल्ने । त्यसका लागि रसायन छुट्टयाउन त्यसलाई गाल्न पनि सकिन्छ । त्यसपश्चात् यसको शुद्धताको प्रमाणिकरण गर्ने । ग्राहकलाई शुद्धताको प्रमाणपत्र दिने । सुन मुद्दती खाता खोल्न यो प्रमाणपत्र अनिवार्य हुन्छ ।

तत्पश्चात् साधारण खातामा मात्र व्याज प्राप्त भए जसरी यसमा पनि नियमानुसार व्याज प्राप्त हुँदै जान्छ ।

तर केही समयका लागि लकिङ पिरियड राखेर त्यसपछि मात्र व्याज दिने व्यवस्था अन्यत्र गरिएको पाइन्छ । त्यसरी निक्षेपको रुपमा आएको सुनचाँदी लगायतका धातुलाई बैंकले पनि विभिन्न सुन डिलर वा गरगहना बनाउने व्यवसायीलाई कर्जाको रुपमा केही बढी व्याजमा धातु कर्जा दिन सक्छ ।

मुद्दति अवधिको समाप्तिमा ग्राहकको इच्छा अनुसार वा भनौ निक्षेप स्वीकार गर्दा गरेको करारको आधारमा सुनचाँदी जे छ त्यो फिर्ता गर्नुपर्छ । वा उक्त दिनको मूल्यको आधारमा फिर्ता पनि गर्न सक्छ । यो ग्राहक र बैंकबीचको आपसी समझदारीमा गर्न सकिन्छ । साथै बैंकले अन्य व्यापारिक योजना पनि अगाडि बढाउन सक्छ ।

राम्रो हेजिङ प्रणालीको विकास स्वयम् बैंकले पनि गर्न सक्छ । यसबाट पक्कै पनि उल्लेख्य मात्रामा धेरै भन्दा धेरै क्षेत्रहरु लाभान्वित हुन सक्छन् । मौद्रिक नीति मार्फत आगामी दिनमा यस विषयमा थप प्रष्टता आउला । यस्ता योजनालाई दुई प्रकारको निक्षेपमा ल्याउनु राम्रो हुन्छ । साथै व्याजदर पनि सयमावधिको आधारमा प्रदान गर्नुपर्छ । यसका सम्पूर्ण कार्यविधिहरु मोद्रिक नीतिमार्फत् आउनु बढी प्रभावकारी हुन्छ ।

सुन चाँदी मार्फत कालो धनलाई बैकिङ च्यानलमा डम्प गर्ने कार्य पनि हुन सक्ने भएकाले यस तर्फ सम्बन्धित निकाय सजग हुनु जरुरी छ । यसका साथै धातु् निक्षेपका रुपमा स्वीकार गर्दा भरिने फर्म (केवाइसी) मा थप कडाई गरिनुपर्छ ।

यो सँगै यो योजनालाई सफल गराउन तथा अर्थतन्त्रमा योगदान हुने हिसाबले कारोवार गराउन यसबाट हुने आम्दानीमा कर छुटको व्यवस्था राख्नु उत्तम हुन्छ । सुन मुद्रिकरण योजनाको मुख्य उद्देश्य अनावश्यक आयातलाई निरुत्साहित गर्नु वा कम गर्नुको साथै बैंकिङ च्यानलमा तरलता वृद्धि गर्नु हो । जुन धेरै हदसम्म सबै सम्बन्धित पक्षको सहभागितामा सम्भव हुन्छ ।

सैद्धान्तिक रुपमा भन्नुपर्दा यो योजना लागू गर्दा केही नकारात्मक असर पर्ने ठहर भने निकाल्न सकिन्छ । तसर्थ धेरै भन्दा धेरै सहभागिता गराउन प्रयत्न गर्नुपर्छ । नेपाली घरपरिवार, मठ मन्दिर, संस्था, गुठी आदिसँग सुनचाँदी छन् । त्यसैगरी वास्तविक रुपमा कति मात्राको धातु दैनिक कति खपत हुन्छ, तथा बैध अवैध रुपमा नेपाल भित्रन्छ भन्ने कुराको जानकारीबिना सुन मुद्रिकरण योजनाको सफलता वा असफलताको आँकलन गर्न सकिन्न ।

प्रतिक्षारत मौद्रिक नीतिमार्फत् सुन मुद्रिकरण योजना अन्तरगतका विभिन्न अवधिको व्याजदर, व्याज प्राप्ति हुने समयको किटान, निक्षेप निकासीको समय र प्रकार शुद्धताको प्रमाणपत्र, कर छुटको व्यवस्था, निक्षेपको मात्रा आदि महत्वपूर्ण बुँदाहरु समावेश गरिनु पर्छ ।

आगामी आर्थिक वर्षका लागि आएको बजेटमा यस्ता योजना समावेश हुनु अर्थमन्त्री स्वयको जोडबलमा आएको कुरा निश्चित हुन्छ । तसर्थ उनले यसको कार्यान्वयनमा थप जोड गर्ने छन् भन्ने कुरामा निश्चिन्त हुन सकिन्छ । व्याजको हिसाब गर्दा गरगहनामा काटिने ज्याला, जर्ती र अन्य खर्चलाई जोडेर त्यसमा नाफा हुन सक्ने प्रतिशतको व्याज दिन सक्नु पर्छ । अन्यथा, घरासायी सुनचाँदीको हिस्सा बैंकको निक्षेपमा आउँदैन ।


क्लिकमान्डु