कति होला सगरमाथाको उचाइ ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेका कर्मचारीको टोलीलाई विदाइ गरेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबार त्यसतर्फ जाँदैछन् ।

टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने बताइएको छ ।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए । ‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला’ प्रधानमन्त्री ओलीले भने ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’

प्रधानमन्त्री ओलीले टोलीलाई मौसम र स्वास्थ्यको ख्याल गर्न सुझाएका छन् । ‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

विदाइ कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चुनौतीपुर्ण र सरकारले गरेको ऐतिहासिक कार्य भएको हुनाले सावधानीपूर्वक जिम्मेवारी पुरा गर्न आग्रह गरिन । ‘हामीले आफ्नै तर्फबाट पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्दैछौ’, मन्त्री अर्यालले भनिन् ‘सरकारले तपाइहरूलाई ठूलो जिम्मेवारी दिएको छ । सावधानीकपूर्वक उक्त जिम्मेवारी पुरा गर्दै सावधानीपूर्वक काम सम्पन्न गर्नुस् ।’


क्लिकमान्डु