हल्ला भए अनुसार लगानी सम्मेलनबाट उपलब्धी हासिल भएनः नविन्द्रराज जोशीको टिप्पणी



सरकारले लगानी सम्मेलन गर्यो लगानी आकर्षित गर्नको लागि एउटा राम्रो कामको सुरुवात हो ।

दुईवर्ष अगाडि लगानी सम्मेलन गरिएको थियो । जसको संयोजक म आफै थिए । लगानी सम्मेलनमा जुन हिसाबले हल्ला गरिएको छ त्यो तरिकाले उपलब्धी हासिल नभएको देखिएको छ ।

अहिलेसम्म सम्मेलनबाट कति रकमको प्रस्ताव आयो कस्ता आयोजनामा लगानी गर्न लगानीकर्ता तयार भए त्यसको विस्तृत जानकारी आएको छैन । संचारमाध्यममा १७ खर्ब लगानी आउने भनिएको छ ।

लगानी सम्मेलनको क्रममा सम्झौता भएका परियोजनाहरु अगाडि बढाउने निर्णय पहिले नै भइसकेको हो । अरुण तेस्रोमा भएको सम्झौता होस् या त्रिशुली १ मा यो पहिला नै लगानीको लागि अगाडि बढी सकेका आयोजना हुन् ।

लगानी बोर्डले विभिन्न खाले परियोजना यो पटक शोकेस गरेको थियो । त्यसमा भएका परियोजनाहरु सरकार आफैले गर्नुपर्ने खालका थिए । जस्तो फोहरमैला व्यवस्थापनको काम स्थानीय सरकारले गर्नुपर्ने हो । यो परियोजनामा समेत हामीले विदेशी लगानीकर्ता गुहार्न पुग्यौ ।

सम्मेलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाफाको ग्यारेन्टी गर्ने कुरा गर्नुभयो । संसारमा कोहीपनि लगानीमा कसैले पनि नाफाको ग्यारेन्टी गर्न सक्दैन । हामीले लगानी सुरक्षाको ग्यारेन्टी गर्ने हो । नीति सुधारको ग्यारेन्टी गर्न सक्ने हो । लगानीकर्तालाई संरक्षण गर्ने हो । यो सँगै लगानीकर्ताले नाफा गरिसकेपछि लैजाने नाफा र उसले लगानी फिर्ता लैजान चाहेको अवस्थामा त्यसलाई फर्काउने ग्यारेन्टी दिनुपर्ने हुन्छ । तर,लगानीको नाफाको ग्यारेन्टी कसरी दिन सकिन्छ । यस्तो कुराले लगानीकर्तालाई राम्रो सन्देश जादैन ।

विदेशी लगानीकर्तासँगै हामीले आन्तरिक लगानीकर्तालाई पनि आश्वस्त पार्नुपर्छ । पछिल्लो समय लगानीकर्ताको सुरक्षा, बैंकमा ऋण दिन सक्ने रकमको अभाव तथा बढ्यो ब्याजदर स्वदेशी लगानीकर्ताले भोगेका समस्या हुन् ।

हामीले लगानी सम्मेलनको लागि भनेर हतारमा धेरै कानूनहरु पास गर्यौ । यसमा धेरै छलफल समेत भएन । जस्तो विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकको कुरा गरौः विधेयकमा भएको प्रावधानले यहा लामो समयदेखि काम गरेका विदेशी लगानीकर्ता झस्केको अवस्था छ ।

लगानी सम्मेलन गर्ने हतारोले हामीले वक्ताको रुपमा सही व्यक्तिको छनोट गर्न सकेनौ । म्यानमारका विदेशमन्त्रीलाई विशेष वक्ताको रुपमा ल्यायौ । जबकी म्यानमार आफै विदेशी लगानी खोज्दै हिडेको छ । नेपालमा एक रुपैयाँपनि लगानी गरेको छैन । सम्मेलनमा म्यानमारका मन्त्री र व्यवसायीले आफ्नो देशमा लगानी गर्न आह्वान गरे ।

हामीले कस्ता व्यक्तिलाई सम्मेलनमा बोलाउने हो त्यसमा गृहकार्य हुन सकेन ।
लगानी बोर्डले अप्रिल २० सम्म शोकेस भएका परियोजनामा आवेदन दिन सक्ने भनेको छ । ति आवेदन दिएका परियोजनामा कसरी हामीले लगानीकर्तालाई सुविधा दिन सक्छौ त्यो स्पष्ट छैन ।

विगतमा लगानी सम्मेलनमा पनि यो कुरा समस्याको रुपमा देखिएको थियो । यसमा सरकारले हामीसँग सल्लाह पनि गरेन । सम्मेलनमा आउने लगानीकर्तालाई कुन आधारमा परियोजना दिने हो त्यो स्पष्ट भएको छैन ।

नेपाली कांग्रेसका नेता रहेका पूर्व उद्योगमन्त्री जोशी दुई वर्ष अगाडि आयोजित लगानी सम्मेलनका संयोजक थिए । कुराकानीमा आधारित


क्लिकमान्डु