अमेरिका जाने प्रक्रिया लम्बियो, ८ लाख सरकारी कर्मचारी १८ दिनदेखि बेरोजगार !
बाल्टिमोर । अमेरिकामा सरकारी निकायमा काम गर्ने करिब ८ लाख सरकारी कर्मचारी १८ दिनदेखि बेरोजगार भएका छन् । यहाँको निकै ठूलो चाड ख्रिष्टमस अगाडिदेखि नयाँ वर्षहुँदै बेरोजगार भएका विभिन्न ९ सरकारी निकायमा काम गर्ने कर्मचारीहरु अनिश्चित रुपमा अरु खाली हात बस्नुपर्ने भएको छ ।
समाचार अनुसार करिब ४ लाख २० हजार कर्मचारी विनातलब काम गरिरहेका छन् भने ३ लाख ८० हजार पूर्ण रुपमा छुट्टिमा बस्न बाध्य भएका छन् ।
अमेरिकामा सरकारी कर्मचारी भएपनि काम नगरेको पैसा पाईदैन । खासमा यि सरकारी निकायहरुलाई बजेट दिने सरकार सञ्चालन सम्बन्धित एक विधेयक पारित हुन नसक्दा यो अवस्था आएको हो । बजेट अभावको कारण यहाँका ९ सरकारी निकाय सहित धेरै निकाय १८ दिनदेखि बन्द छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी दलबीच सोही विषयमा मंगलबार साझ वार्ता भएपनि १८ दिनदेखिको सरकार बन्द (गभर्मेन्ट सटडाउन) को अन्त्य हुने निचोड भने निश्कन सकेन । स्थानीय समय अनुसार मंगलबार साँझ अबेला भएको दुई पक्षीय वार्तामा दुबै पक्षले अडान नछोडेपछि अमेरिकी सरकार आंशिक बन्द कायमै रहने भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा बलियो पर्खाल बनाउन झण्डै ६ अर्ब डलर बजेट माग गरेपछिको विवादको कारण बजेट पारित नहुँदा १८ दिनदेखि कर्मचारी र सरकारको काम कारबाही प्रभावित भएको हो ।
करिब ८ लाख सरकारी कर्मचारी यो बन्दको प्रभावमा परेका छन् भने ९ विभागिय निकायको काम काज ठप्प छ । जसमा केही सुरक्षा सम्बन्धी काम र आप्रवासी अदालत समेत परेको छ ।
अमेरिकामा तल्लो र माथिल्लो सदनबाट पारित भएको बजेट राष्ट्रपतिले प्रमाणिकरण गरेपछि मात्रै कार्यन्वयनमा आउने प्रवधान छ । सिनेटमा विपक्षि दलको बहुमत रहेकोले ट्रम्प अप्ठ्यारोमा परेका हुन् । सरकारी खर्च सम्बन्धि विधेयक प्रत्येक ६ महिनामा पारित गर्नुपर्ने हुन्छ भने सुरक्षा निकायको बजेट भने यस अगाडि नै पारित भईसकेको छ ।
सरकारी निकायलाई खर्चविहिन बनाउने ट्रम्पको एजेण्डामा भने अहिलेपनि ट्रम्प अडिक रहेका छन् । मंगलबार साँझ सञ्चार माध्यमलाई सम्बोधन गर्दै ट्रम्पले सीमामा पर्खाल नै अन्तिम विकल्प भएको दोहो¥याए भने विपक्षी दलका नेताले अरु उपाय हुँदा हुँदै फोकटको खर्चको लागि पर्खालको योजना ल्याईएको बताए । दुबै पक्षको कुरा नमिलेपछि सरकार बन्द कायमै रह्यो ।
विपक्षी दल डेमोक्र्याट र राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनबीचको मतभिन्नताले यस अगाडि दुबै सदनबाट पारित बजेटमा समेत ट्रम्पले हस्ताक्षर गरेनन् । जसमा सीमामा पर्खाल लगाउने विषय समावेस थिएन ।
कुन कुन निकायमा परेको छ असर ?
सरकार बन्दको कारण केही विमानस्थलको सुरक्षामा समेत असर परेको समाचारहरु आईरहेका छन् । न्युयोर्क टाईम्सले लेखेअनुसार केही विमानस्थलका कर्मचारीले सरकारको कदमको विरुद्ध ऐक्यबद्धता जनाउन स्वतफर्त रुपमा कामबाट विदा लिन थालेका छन् ।
पार्क तथा संग्रालयहरु पूर्ण रुपमा बन्द छन् भने विज्ञान तथा खोजको क्षेत्रमा काम गर्ने निकायहरु पनि बन्द छन् । यसको साथै सामाजिक सुरक्षा, सामुदायिक स्वास्थ्य तथा खाद्य सुरक्षाको क्षेत्रमा काम गर्ने निकायहरुले काम गरेका छैनन् भने कानूनी सेवा प्रदान गर्ने अदालतहरु बन्द छन् ।
समाचारमा जनाईए अनुसार अपराध अनुसन्धान गर्ने निकायहरुमा पनि यसको आंसिक प्रभाव परेको छ । वर्षको अन्तिममा भएको बन्दको कारण सबैभन्दा बढी यहाँको आन्तरिक राजश्व कार्यलय प्रभावित भएको छ ।
राजश्वको हिसाब मिलान गर्ने समयमा भएको यो बन्दको बाबजुत पनि केही कर्मचारीले काम गरिरहेको विभागले जनाएको छ तर यसको काम कारबाही पूर्ण रुपमा प्रभावित भएको छ । खाद्य गुणस्तर नियन्त्रणको क्षेत्रमा काम गर्ने निकायहरु तथा अरु आपतकालिन बाहेकका संस्थाहरुको काम रोकिएको छ ।
लम्बिन सक्छ अमेरिका जाने प्रक्रिया
मंगलबार पनि समाधान ननिस्किपछि अब सरकार बन्दको कारण आप्रवासी सेवा दिने निकायप्रतिको चासो बढेको छ । कति समयसम्म सरकार बन्दको अवस्थामा हुन्छ भन्ने अनिश्चित भएको समयमा लामो समय यो अवस्था रहे नागरिकता तथा आप्रवासी सेवा दिने निकायहरुमा समेत प्रभाव पर्न सक्ने बताईएको छ ।
आप्रवासी सेवा दिने निकाय पूर्ण सरकारी खर्चमा सञ्चालन नहुने भएपनि आप्रवासी अदालतहरु बन्द छन् जसले अदालतमा पुगेका केसहरु ढिलो हुने भएको छ । तर, दुतावास तथा आप्रवासी संस्थाहरुको काम भने सुचारु छ ।
एक आपसमा सम्बन्धित संस्थाहरुमा कोही बन्द हुने तथा कोही खुल्ला हुने भएको कारण स्वतः रुपमा प्रक्रिया लम्बिन सक्ने अनुमान गरिएको छ ।