भारतीय मिडिया लेख्छन्ः १०० भन्दा माथिका भारु नचल्ने निर्णयले नेपालको भ्रमण बर्ष सफल नहुन सक्छ




काठमाडौं । सरकारले भारतीय २ हजार, ५०० र २०० को नोट नेपालमा नचल्ने निर्णय गरेपछि त्यसको विपक्षमा देखिने गरी भारतीय सञ्चार माध्यमहरुले समाचार सार्वजनिक गरेका छन् ।

भारतका अधिकांश सञ्चार माध्यमले सो सम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

गत सोमबार बसेको नेपालको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको थियो । र, त्यसको जानकारी बिहिबार सञ्चार मनलयका आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो ।

पत्रकार सम्मेलनमा सञ्चार मन्त्री गोकूल बाँस्कोटाले नोट नचल्ने मात्रै बताएका थिए, त्यसबारेमा अरु केही जानकारी दिएका थिएनन् । तर भारतीय मिडियाले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन लागेको सन्दर्भमा त्यस्तो निर्णयले प्रतिकूल प्रभाव पार्ने भन्दै समाचार सार्वजनिक गरेका छन् ।

दैनक भास्करले काठमाडौं डेटलाइनमा समाचार लेख्दै नोट नचल्ने निर्णय गरेर समस्या पारेको उल्लेख गरेको छ ।

‘यस्तो निर्णयले पक्कै पनि सम्बन्धमा केही समस्या पार्न सक्छ, नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा लगाइएको त्यस्तो निर्णयले भ्रमण वर्ष मनाउन नेपाल जान चाहेका हजारौ पर्यटकलाई समस्यामा पार्न सक्छ,’ नेपाल जाने हजारौं भारतीय पर्यटक प्रभावित हुने भन्दै भास्करले लेखेको छ ।

सरकारले सो अवधिमा २० ला पर्यटक भित्र्याउने योजना बनाएको छ । नोभेम्बर २०१६ मा भारत सरकारले नोटबन्दी गरेको थियो । त्यसपछि नेपाल सरकारले आफ्ना नागरिकसँग रहेको नोट साट्न पाएका थिएन ।

भारतले सञ्चालनमा ल्याएको नयाँ नोट नेपालमा पनि चल्ने ब्यवस्था नेपाल सरकारले मिलाएको थियो । विगत २ वर्षदेखि नेपालमा समेत उक्त नयाँ नोट सञ्चालनमा रहेको थियो ।

यस्तै बीबीसी हिन्दीले दोस्रो समाचार सामग्री प्रकाशित गरेको छ । बीबीसी हिन्दीको अनलाइन संस्करणमा नेपालका पत्रकार युवराज घिमिरेको भनाईलाई आधार बनाएर समाचार प्रकाशित गरेको छ ।

घिमिरेले नेपाल सरकारको नयाँ निर्णयले खासै प्रभाव नपर्ने भएपनि काम गर्न जाने र आउने नागरिकलाई भने त्यसले समस्यामा पार्ने बताएका समाचारमा उल्लेख छ ।

सरकारको पछिल्लो निर्णयपछि भारतीय रुपैयाँ १०० भन्दा माथिका कुनै पनि नोट नेपालमा चल्ने छैनन् । नेपाल र भुटानमा भारतीय मुद्रा चल्ने गरेका थिए ।

आखिर नेपालले एकाएक किन यस्तो निर्णय लियो ? बीबीसी हिन्दीले प्रश्नवाचक शैलीमा समाचार सुरु गरेको छ । ‘के अब २००, ५००, र २००० को नोट नेपालमा अवैध हुन्छ त ? सबैको जिज्ञासा यही रहेको छ कि नेपालले एकाएक यो निर्णय किन गर्यो । नेपाल सरकारले खास कुनै कारण बताएको छैन । किन यस्तो निर्णय लिनु आवश्यक पर्यो ? यो प्रश्न भने बढी मात्रामा उठेको छ ।’

नेपाल र भारतका व्यापारी र काम गर्न जानेका लागि यस्तो निर्णयले असर पार्न सक्छ । नेपाल र भारतका नागरिक एक अर्का देशमा रोजगारी तथा व्यापार व्यवसाय गर्ने गर्छन् । तिनलाई भने यस्तो निर्णयले समस्या पार्न सक्छ ।

‘पछिल्लो निर्णय कार्यान्वयन गर्न कति व्यवहारिक होला ? पछिल्लो निर्णयपछि १०० भन्दा माथिका कुनै पनि नोट नेपालमा चल्ने छैनन्, पत्रकार घिमिरे भन्छन्ः यो विषय महत्वपूर्ण विषय हो । के नेपाल सरकारको फैसला कार्यान्वयन होला ?’ बीबीसी हिन्दीले लेखेको समाचारमा उल्लेख छ ।

घिमिरेका अनुसार भारतीय नोट नचल्ने निर्णय गर्नुको पछाडि ऐतिहासिक पृष्ठभूमि रहेको छ । सन् १९९९ मा भारतीय एक विमानको आतंकवादीले अपहरण गरे । सो समयमा भारत सरकारको आग्रह बमोजिम नै नेपाल सरकारले ५०० को भारतीय नोट नचल्ने निर्णय गरेको थियो ।

भारतले जब नोटबन्दी गर्ने निर्णय गर्यो नेपालको धेरै नागरिकसँग ५०० र १००० का नोट रहेको थियो । नेपाल सरकारले पटक पटक आग्रह गर्दा समेत भारत सरकारले ती नोट साटिदिएन ।

नोटबन्दीका कारण नेपाली नागरिकको धेरै ठूलो नोक्सान भयो । तर पछिल्लो पटक नेपालले जुन निर्णय लियो, त्यसले कुनै प्रभाव भने पर्ने छैन भन्ने पत्रकार घिमिरेको भनाइ छ ।

नोटबन्दीका कारण नेपाल मात्रै भुटानको समेत ठूलो मात्रामा नोक्सानी भयो । भारतीय अर्थ मन्त्रालयले हालसम्म दुवै देशमा रहेका भारतीय नोटको बारेमा कुने ठोस निर्णय गरेको छैन ।

नेपाल र भुटानले भारतीय मुद्रा चलाउने बारेमा कुनै आधिकारीक समझदारी गरेको भने छैनन् । तर यो व्यवहारिक विषय भएकाले नियमित रुपमा चल्दै आएको थियो ।

नेपालको बजारमा परम्परागत रुपमा नै भारतीय नोट स्वीकार्य रहेको छ । भारतमा नेपाली नागरिक रोजगारी तथा व्यापार व्यवसाय गर्न छुट पाउँदै आएका छन् । भारतको फरेन एक्सचेञ्ज एक्टअनुसार नेपाल जाने व्यक्तिले २५ हजार भारतीय रुपैयाँ लिएर जान सक्ने व्यवस्था गरेको छ ।

भारतले नोटबन्दी गरेको समयमा पनि नेपाल सरकारले सोही एक्ट अनुसार प्रतिनेपाली २५ हजार भारुसम्म भारत सरकारले साटिदिनुपर्ने आग्रह गरेको थियो ।

नेपालमा सन् २०१४ को मेमा समेत ५०० र १००० को नोट लेन देन गर्न रोक लगाएको थियो । त्यतिबेला भारतको आग्रह बमोजिम उक्त निर्णय भएको थियो । सन् २०१५ को मेमा सो निर्णय खारेज गरिएको थियो ।

नोभेम्बर २०१६ मा भारतले ५०० र १००० को नोट बन्द गर्ने निर्णय गर्यो । नेपाल र भुटानको केन्द्रीय बैंकमा रहेको पूरना नोट साटन आग्रह पनि भयो । त्यसबारेमा पटक पटक द्विपक्षीय वार्ता समेत भयो, तर कुनै पनि निर्णय हुन सकेन ।

समस्या यस्तो थियो कि ती नोट साटन पनि सकिएको थिएन, अवैध भएको घोषणा गर्न पनि सकिएको थिएन । जसका कारण धेरै ठूलो रकम काम नलाग्ने बन्न पुगेको थियो ।

१९५७ देखि भारतको १ रुपैयाँ नेपालको १ रुपैयाँ ६० पैसा बराबर हुने निर्णय गरिएको थियो । नेपाल राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक आरबीआई बैंकको बीचमा भएको सम्झौता अनुसार उक्त निर्णय गरिएको थियो । गत अगस्टमा भारतका आर्थिक मामिलाका सचिव सुभाषचन्द्र गर्गले नोटबन्दी पछि नेपाल र भेटानमा रहेका पूराना नोट साटिने सम्भावना एकदमै कम रहेको जानकारी दिएका थिए ।

जबकि नेपाली अधिकारीले मौखिक सहमति अनुसार भारत सरकारले हरेक नेपाली नागरिकको ४५०० बराबरको ५०० र १००० को नोट साटन सहमति जनाएको बताएका थिए । तर हालसम्म सो विषयमा भारतले कुनै औपचारिक जानकारी दिएको छैन । यसै वर्षको जुन महिनामा भुटानी अधिकारीले ठूलो परिमाणमा भारतीय मुद्रा जम्मा गरेर राख्नु गलत हुने भन्दै शर्तक गराएको थियो ।

नोटबन्दीका कारण नेपाल र भुटानका नागरिकले ठूलो हैरानी पाएका थिए । व्यापार व्यवसाय र कारोबारमा समेत समस्या पैदा भएको थियो ।

नेपालले बिमेस्टक राष्ट्रको पूणेमा भएको संयुक्त सैन्य अभ्यासमा सहभागी हुन इन्कार गरिदिएको थियो । त्यसको बाबजूत चीनसँग नेपालले संयुक्त सैन्य अभ्यास गरेको थियो ।

नेपाल एक भूपरिवेष्ठित देश हो । जहाँ भारतको निर्भरता कम होस् भन्ने मान्यता रहेको छ । अघोषित नाकाबन्दीका कारण नेपालले ठूलो समस्या भोग्नु परेको थियो ।


क्लिकमान्डु