पुँजी बजारको अहिलेको अबस्थाः सेयरलाई गुन्द्रुक हुन दिनुस्, कुहेको गोलभेडा नबनाउनुस्




काठमाडौं । सेयर बजार ओरालो लाग्न थालेको ३ बर्ष पुगेको छ । नेपाली पुँजी बजारको घट्दो वा बढ्दो चक्र करिब ३ बर्षकै हुने गरेको छ । त्यसैले यो सिजनको घट्दो चक्र बजारले अब करिब पूरा गरेको छ ।

तर, केही लगानीकर्ता र म्युचुअल फण्ड यो कुरा मान्न तयार नभएका बजारको ‘सेन्टिमेन्ट’ले पुष्टी गर्छ । किनभने अहिले पनि बजारमा कारोबार रकम निकै कम छ । बजार मापक नेप्से परिसुचक घटिरहेको छ ।

यसका दुईटा कारण छन् ।

पहिलो कारण त केही प्राविधिक विश्लेषकहरुले नेप्से परिसुचक ९ सयको हाराहारीमा आउने तथ्य प्रस्तुत गरे । विश्लेषकहरुको यो तथ्य पत्याउने लगानीकर्ताहरुले १२/१३ सयको हाराहारीमा नै परिसुचक हुँदा आफूसँगको सेयर बेचे ।

परिसुचक १२/१३ सयको बिन्दुमा हुँदा सेयर बेचेर बसेका लगानीकर्ताको संख्या पनि ठूलै छ । यो समुह अझै पनि परिसुचक ९ सयको हाराहारीमा आउँला र सेयर किनौंला भनेको बसेको छ ।

दोस्रो कारण म्युचुअल फण्डहरु हुन् । यिनीहरु अहिले सेयरमा लगानी गरिरहेका छैनन् । र, लगानीकर्तालाई पनि लगानी गर्न दिइरहेका छैनन् ।

अहिले बजारमा १२/१३ वटा जति म्युचुअल फण्ड छन् । यी प्रत्येकसँग कम्तिमा १ अर्ब रुपैयाँभन्दा बढी रकम छ । तर, उनीहरु सेयरमा १५/२० करोड रुपैयाँ लगानी गरेर बाँकी रकम बैंकमा राखिरहेका छन् ।

म्युचुअल फण्डको यो कार्यले दोहोरो असर पर्यो । एउटा त उनीहरु आफैसँग पैसा भएपनि सेयर किनिरहेका छैनन् । दोस्रो कुरा लगानीकर्तासँग भएको पैसा उनीहरुलाई फकाएर आफूले लिए, तर सेयरमा लगानी गरेनन् । यसो हुदा सेयरमा लगानी गर्ने रकमकै कमी भयो ।

९ सयको हाराहारीमा आउँला नेप्से ?
आउँदैन । यसका धेरै आधारहरु छन् । जतिबेला नेप्से परिसुचक २९२ अंकमा आइपुगेको थियो, त्यो बेला बैंकहरुको औसत खराब कर्जा (एपीएल) ५ प्रतिशतभन्दा माथि थियो । जस्तो कि नेपाल बैंकको खराब कर्जाको अनुपात नै ५० प्रतिशतभन्दा बढी थियो ।

अहिले बैंकहरुको औसत खराब कर्जाको अनुपात ५ प्रतिशतभन्दा तल छ । अर्थात बैंकहरु लगानी गर्न सक्ने अबस्थामा छन् । उनीहरुको कर्जा विग्रिएको खासै छैन । तरलता अभावको कारण कर्जा दिन सक्ने अबस्थामा बैंकहरु छैनन् भन्ने तर्क आउँन सक्छ । तर, यो तर्क त्यती गम्भीर छैन । यसका बिषयमा अर्काे विश्लेषण प्रस्तुत गर्न सकिन्छ ।

लगानीकर्ताले ‘स्टप लस’ वा ‘प्रोफिट बुक’ गर्ने हो ?
होइन । यो त कारोबारीले गर्ने कार्य हो । यहाँ कारोबारीको लागि होइन, लगानीकर्ताको लागि विश्लेषण गरिदैछ ।

लगानीकर्ताले लगानीको ‘एभरेजिङ’ गर्ने हो । तपाइले किनेको सेयरको वास्तविक लागत कति हो र अहिले त्यही सेयर बजारमा कति मूल्यमा पाइन्छ भनेर सोच्नै पर्ने हुन्छ ।

जस्तो कि तपाइसँग अहिले ३५० रुपैयाँमा किनेको सेयर छ । त्यसको वास्तविक लागत ३३० रुपैयाँ परेको छ र अहिले तपाइ त्यही कम्पनीको सेयर ३०० रुपैयाँमा किन्न खोज्दै हुनुहुन्छ भने तपाइले आफ्नो सम्पत्ति पनि प्रतिकित्ता ३० रुपैयाँले घटाउँन खोज्दै हुनुहुन्छ भन्ने नविर्सनु होला ।

अहिले के गर्नुपर्छ लगानीकर्ताले ?
यसका ३ वटा विकल्प छन् । पहिलो त तपाइसँग महंगोमा किनेको सेयर छ र अहिले बजारमा सस्तोमा सेयर पाइएको छ भने सस्तो सेयर किन्नुहोस् र आफ्नो लगानीलाई ‘एभरेजिङ’ गर्नुहोस् । एभरेजिङ गर्ने यो सुनौलो मौका हो । एभरेजिङ कार्यको लागि कुनै कम्पनीको सेयर बेचेर अर्काे कुनै कम्पनीको किन्न पनि सकिन्छ । जसका लागि तपाइ लगानीकर्ता हो भने यो काम सजिलै गर्न सक्नुहुन्छ ।

दोस्रो कुरा पैसा छैन भने चुपचाप बस्नुहोस् । यो बेला सेयर बेच्ने हुदै होइन । पैसा छ भने र बजारमा सेयर सस्तो मूल्यमा पाइएको छ भन्ने तपाइलाई लागेको छ भने सेयर किनिहाल्नुहोस् ।

अब बजार बढ्ने कारण के हो ?
यसका खासगरी दुईटा कारण छन् । पहिलो कारण त नेपाली पुँजी बजार वित्तीय क्षेत्रका सेयरको ‘डोमिनेसन’मा छ । त्यसमा पनि बैंकिङ क्षेत्रको हिस्सा बढी छ । बैंकहरुले गत बर्षको आफ्नो प्रगति विवरण अझै सार्बजनिक गरेका छैनन् ।

राष्ट्र बैंक अहिले बैंकहरुको ब्यालेन्ससीट स्वीकृत गर्ने ‘असारे चटारो’मा छ । अब चाँढै नै सबै बैंकहरुको वित्तीय विवरण सार्बजनिक हुन्छ । र, बैंकहरुले बार्षिक साधारणसभा गरेर बोनस वितरण सुरुगरहाल्छन् ।

बैंकहरुको गत बर्षको प्रगति राम्रै भएको प्रारम्भीक संकेत मिलेको छ ।

यस्तै अबको केही महिनाभित्रमा नै सेयरको अनलाइन काराबार सुरु हुदैछ । अनलाइन कारोबार सुरु भएपछि नेप्से परिसुचक बढ्छ भन्नेमा सबै ढुक्क जस्तै छन् ।

सेयरलाई गुन्द्रुक हुन दिनोस्, कुहेको गोलभेडा नबनाउनुस्
कुनै कुरा सस्तोमा पाइन्छ भन्ने आलंकार प्रयोग गर्न ‘गुन्द्रुकको भाउमा पाइन्छ’ भन्ने गरिन्छ । यस्तै कुनै कुरा लामो समय त्यसै बस्यो भने गुन्द्रुक जस्तै भयो पनि भन्ने गरिन्छ ।

तर, गुन्द्रुकका् खास उपभोगिता र यसको उपादेयताको बिचार गर्नै पर्ने हुन्छ ।

गुन्द्रुकलाई अचार बनाएर खान सकिन्छ, तरकारी बनाउन हुन्छ । लामो समय राख्दा पनि गुन्द्रुक विग्रदैन ।

बजार घटेकोले आत्तिएका केही लगानीकर्ता आफूसँग भएको सेयरलाई कुहेको गोलभेडा जसरी जति पैसा पाइन्छ त्यतिमा बेच्न लागेका देखिन्छ । सेयर भनेको कुहेका गोलभेडा होइन । यो सुन बन्न सकेन भने पनि गुन्द्रुक बन्छ नै । त्यसैले आफूसँग भएको सेयरलाई बरु गुन्द्रुक हुन दिनोस् तर कुहेको गोलभेडा जसरी कौडीको भाउमा नबेच्नुहोस् । यसले तपाइलाई पछुतो गराउने छ । आगे तपाइकै मर्जी ।


क्लिकमान्डु