राष्ट्र बैंक भन्छः प्रणालीमा तरलता ठिकै छ, ५ वटा बैंकलाई समस्या भएको हो




काठमाडौं । बैंकहरुमा तरलता अभाव भएको चर्चा चलिरहेको समयमा नेपाल राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा आवश्यक तरलता भएको बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बैंकिङ प्रणालीमा आवश्यक तरलता भएको बताए । उनले ५ वटा बाणिज्य बैंकमा भने पुँजी निक्षेप कर्जा अनुपात (सीसीडी रेसियो) नियामकीय दरभन्दा माथि पुगेको बताए ।

राष्ट्र बैंकले सीसीडी रेसियो ८० प्रतिशत नाघ्न नहुने नियम बनाएको छ ।

‘हिजो (कात्तिक १० गते) बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थियो, यो भनेको प्रणालीमा आवश्यक पर्ने जति रकम हो, अस्ति (कात्तिक ७ गते) बैंकिङ क्षेत्रको सीसीडी रेसियो पनि ७७.३६ प्रतिशत थियो, यी दुबै तथ्यांकले प्रणालीमा तरलता अभाव भएको देखाउँदैन,’ प्रवक्ता पौडेलले क्लिकमाण्डूसँग भने ।

तर, उनले ५ वटा बाणिज्य बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा केही माथि पुगेको जानकारी दिए । तोकिएको सीमाभन्दा बढी सीसीडी रेसियो पुगेका बैंकहरुले त्यसको ब्यवस्थापन आफैले गर्नुपर्ने पनि उनले बताए ।

‘बैंकिङ क्षेत्रको सीसीडी रेसियो नियामकीय सीमा (८० प्रतिशतभन्दा तल अर्थात ७७.३६ प्रतिशत) भएपनि ५ वटा बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा केही माथि पुगेको छ, प्रणालीमा तरलता अभाव पनि नभएको र बैंकिङ क्षेत्रको औसत सीसीडी रेसियो पनि नियामकीय सीमाभन्दा तल भएकोले जुन जुन बैंकमा समस्या भएको छ, त्यसको समाधान तिनै बैंकहरुले गर्नुपर्छ, राष्ट्र बैंकले नीतिगत सम्बोधन नै गर्नुपर्ने अबस्था छैन,’ राष्ट्र बैंकको नियमन विभागका प्रमुख समेत रहेका पौडेलले भने ।

उनले प्रणालीमा तरलता अभाव हुन सक्ने संकेत देखिएको भने स्वीकार गरे ।

‘अन्तर बैंक ब्याजदर र ३६४ दिने ट्रेजरी विल्सको ब्याजदर ३ प्रतिशतभन्दा केही माथि पुगेको छ, अल्पकालिन ब्याजदर पनि बढेकोले सचेत हुनुपर्ने अबस्था भने छ,’ पौडेलले थपे ।

तोकिएको सीमाभन्दा माथि सीसीडी रेसियो पुगेका बैंकहरुलाई समस्या समाधान गर्न भनिएको उनले बताए ।

‘जुन जुन बैंकको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि पुगेको छ, उनीहरुलाई राष्ट्र बैंकमै बोलाएर र टेलिफोन गरेर पनि सो अनुपात नियामकीय सीमामा ल्याउन भनिरहेका छौं, उहाँहरुले कि त निक्षेप बढाउनु पर्यो, होइन भने दिइएको कर्जा फिर्ता गर्नुपर्यो,’ उनले भने ।


क्लिकमान्डु