डेपुटी गभर्नरले भूकम्प पीडितको कर्जाको समय थप्ने प्रस्ताब गरेपछि झोक्किए अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत साता आफू मातहतका नियामक निकायका अधिकारीहरुलाई प्रगति ब्रिफिङ गर्न लगाए ।

मन्त्रीलाई ब्रिफिङ गर्न राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ, अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा र रेगुलेसन विभागका कार्यकारी निर्देशक नारायण पौडेल अर्थ मन्त्रालय गएका थिए ।

त्यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाई, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायत उपस्थित थिए । तीनवटै निकायका अधिकारीहरुले मन्त्रीलाई कामको ब्रिफिङ गरे ।

यो समाचारमा राष्ट्र बैंकको ब्रिफिङ सुनेर अर्थमन्त्रीले के भने भन्ने विषयमा बढी केन्द्रित गरिएको छ ।

डेपुटी गभर्नर शिबराज श्रेष्ठले डलरको हेजिङका विषयमा प्रस्तुति दिएका थिए ।

अनुसन्धान विभावका नरबहादुर थापाले डलरको मूल्य उत्तारचढाब र त्यसले नेपाली अर्थतन्त्रलाई पार्ने असरका विषयमा प्रस्तुति दिए ।
गभर्नर खासै बोलेनन् ।

अर्थमन्त्रीले सरकारको स्पिरिट अनुसार सरकारका निकायहरुले काम गर्नुपर्ने धारणा राखे ।

यसैबीच राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भूकम्प पीडितलाई घर बनाउनका लागि २ प्रतिशत ब्याजदरमै उपत्यका बाहिर १५ लाख र उपत्यकामा २५ लाख रुपैयाँ ऋण दिने समय समाप्त भएको जानकारी गराए ।

शिवाकोटीले अझै पनि धेरै भूकम्प पीडितले घर बनाइनसकेको र ऋण लिन इच्छा व्यक्त गरिरहेकाले असोज मसान्तसम्म समय बढाउनुपर्ने आयश्यकता देखिएको भन्दै मन्त्रीलाई ब्रिफिङ गरे ।

डेपुटी गभर्नरको यस्तो कुरा सुन्ने बित्तिकै अर्थमन्त्री झ्वाँकिए ।

‘भूकम्प पीडितका नाममा कति डुब्लिकेशन भइरहेको छ भन्ने कहिल्यै हेर्नु भएको छ ? भूकम्पी पीडितलाई दिने भनिएको यस्तो कर्जा वास्तविक भूकम्प पीडिले मात्रै लगेका छन् अरुले पनि लगेका छन् ?’ आक्रमक रुपमा प्रस्तुत हुँदै मन्त्री खतिवडाले डेपुटी गभर्नर शिवाकोटीतिर हेर्दै भने, ‘म दिन सक्दिन । तपाईंलाई आँट छ भने समय थपिदिनुहोस् ।’

मन्त्री झोक्किएपछि शिवाकोटीले आफ्नो विषयमा कन्भिन्स गर्न केही बोल्ने प्रयास गरे । तर, मन्त्रीले उनको कुरा सुन्नै मानेनन् ।

‘यो हुनै सक्दैन,’ मन्त्री खतिवडाले भने, ‘मैले भनिहालेँ नि, अर्थ मन्त्रालयले सक्दैन, तपाईं सक्नुहुन्छ भने गर्नुहोस् ।’

मन्त्री खतिवडाले सरकारका निकायहरुले सरकारको स्प्रिट अनुसार काम नगरेको भन्दै गुनासो पनि गरे ।

‘तपाईंहामी सबै काम गर्न बसेका हौं, सरकारले नीति बनाएपछि सरकारी नियकाहरुले त्यो अनुसारको काम गर्नुपर्छ,’ उनले भने, ‘बजेटमा भएका कुराहरु जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउनुहोस् ।’

छलफलमा सहभागी भएका एक अधिकारीका अनुसार डेपुटी गभर्नरको भूकम्प पीडितलाई ऋणको समयावधि थप्ने कुरा सुनेपछि एकाएक मन्त्री झोक्किएका हुन् ।

‘भूकम्प पीडितको कर्जाको समय थप्ने कुरा सुनेपछि मन्त्रीज्यू एक्कासी झ्वाँक्किनुभयो,’ ती अधिकारीले भने, ‘मन्त्रीज्यूको कहिलेकाहीँ झ्वाँक्किने बानी छ ।’

स्रोतका अनुसार खतिवडा अर्थमन्त्री भएपछि राष्ट्र बैंकका गभर्नर, बीमा समितिका अध्यक्ष, धितोपत्र बोर्डका अध्यक्ष सबैलाई हटाउन चाहन्थे ।

सरकारले अन्य केही निकायमा भएको राजनीतिक नियुक्तलाई बदर गर्ने निर्णय पनि नगरेको होइन । तर, सरकारको त्यस्तो निर्णयका विरुद्ध सर्बोच्च अदालतले फैसला गरेपछि नियामक निकायका अधिकारीहरुलाई बोलाएर झ्वाँक्किने, थर्काउने र डोमिनेशन गर्न थालेको भेटमा सहभागी एक अधिकारीले बताए ।

‘राष्ट्र बैंकको गभर्नर स्वायत्त हुँदाहुँदै पनि केही दिनअघि गभर्नर डा. चिरञ्जीबी नेपालको रसिया भ्रमणलाई अर्थमन्त्रीले रोकिदिए,’ ती अधिकारीले भने, ‘आफू गभर्नर भएर आइसकेको मान्छेले यस्तो ब्यवहार गर्दा पटक्कै सुहाएको भने छैन ।’


पुष्प दुलाल