एभरेष्टसँग मर्ज नहुँदै लक्ष्मी बैंकबाट बाहिरिए सीइओ खालिङ, के होला मर्जर ?



काठमाडौं । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ बैंकबाट बाहिरिएका छन् । सञ्चालक समितले सीइओ खालिङको कार्यकाल नविकरण नगरेपछि उनी बाहिरिएका हुन् ।

‘कार्यकाल सकिएपछि सीइओ खालिङ ३ हप्तादेखि बैंक आउनु भएको छैन,’ बैंकको मानव संसाधन विभागका कर्मचारीले क्लिकमाण्डूसँग भने ।

कार्यकाल नविकरण नभएपछि खालिङ  अमेरिका घुम्न गएका छन् ।

बैंक सञ्चालक समितिले खालिङलाई २०७० चैत १५ गते ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो । जसअनुसार उनको कार्यकाल २०७४ फागुन १४ गते नै सकिएको थियो ।

लक्ष्मी बैंक एभरेष्ट बैंकसँग मर्जरको प्रक्रियामा छ । त्यसैले सञ्चालक समितिले ३/४ महिनामा मर्ज टुंगिने भन्दै सीइओ खालिङको कार्यकाल ६ महिना थपेको थियो । भदौ १५ गते उनको कार्यकाल सकिएको छ ।

एकातिर सीइओको थपिएको कार्यकालमा पनि मर्जर प्रक्रिया पूरा भएन भने अर्कातिर सीइओको कार्यकाल पनि थपिएन ।

सञ्चालक समितिले कार्यकाल नथपेपछि खालिङ ३ हप्तादेखि बैंक जान छाडेको बैंकका एक सञ्चालकले पुष्टि गरे ।

‘कार्यकाल सकिएका कारण उहाँ बैंकमा आउनुभएको छैन, फेरि पनि सञ्चालक समितिले कार्यकाल थप्यो भने उहाँ आउन सक्ने संभावना भने छ,’ ती सञ्चालकले भने, ‘नयाँ सीइओ ल्याउने, डेपुटी सीइओलाई निमित्त सीइओका वा फुल सीइओको जिम्मेवारी दिएर अघि बढ्ने वा खालिङलाई नै फेरि ल्याउने भन्ने कुरा सञ्चालक समितिले निर्णय गर्ने विषय हो ।’

ती सञ्चालकका अनुसार लामो समयदेखि लक्ष्मी बैंकको सञ्चालक समितिको बैठक बसेको छैन ।

‘विगत लामो समयदेखि बैंक सञ्चालक समितिको बैठक बसेको छैन,’ उनले भने, ‘आगामी २/४ दिनभित्रै बस्ने अनौपचारिक संकेत पाएको छु ।’

ती सञ्चालकका अनुसार खालिङको कार्यकाल नविकरण हुने संभावना एकदमै न्यून छ । सञ्चालक समितिको बैठक बसेर डेपुटी सीइओलाई निमित्त सीइओको जिम्मेवारी दिने तयारी भइरहरहेको उनले जानकारी दिए ।

‘सीइओ खालिङको कार्यकाल नविकरण हुन्थ्यो भने एक महिनाअघि नै भइसक्थ्यो,’ उनले सुनाए ।

साउन पहिलो सातासम्ममा एभरेष्टसँगको मर्जरको प्रक्रिया टुंगो लगाउने लक्ष्मी बैंकको तयारी थियो । तर, एभरेष्ट बैंकले शर्तमाथि शर्थ थपेपछि असोज पहिलो साता वितिसक्दा पनि मर्जरको टुंगो लागेको छैन ।

लक्ष्मी बैंकका ठूला लगानीकर्ता राजेन्द्र खेतान र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा कुरा मिलिसकेको छैन ।

दुबैले बार्गेनिङ गरिरहेका छन् । स्वतन्त्र भ्यालुएटर इएनवाइले लक्ष्मीको भन्दा एभरेष्ट बैंकको सेयर मूल्य ६० रुपैयाँ बढी भएको प्रतिवेदन बुझाएको थियो । भ्यालुएटरको उक्त प्रतिवेदनमा दुबै बैंकले राय सहितको प्रतिवेदन तयार भएपनि बुझाउन भने बाँकी नै रहेको स्रोतको दाबी छ ।

इएनवाइले रायसहितको अन्तिम प्रतिवेदन तयार पारे पनि दुबै बैंकका सञ्चालकहरुको राय नमिलेपछि अहिले बार्गेनिङ भइरहेको छ ।

बार्गनिङ मिल्यो भने चाँडै नै मर्जरको घोषणा हुने र मिलेन भने चाँडै नै मर्जर पक्रिया भंग भएको सार्वजानिक गर्ने तयारी भइरहेको छ ।
एभरेष्ट बैंकले निकै कम मूल्यमा मात्रै किन्ने प्रस्ताब गरेपछि मर्जर प्रक्रिया तार्किक निष्कर्शमा पुग्न नसकिरुहेको लक्ष्मी बैंकका ती सञ्चालकले जानकारी दिए ।


पुष्प दुलाल