कुनै बेला ब्लु-चिप बनेका यी ३ बैंकको सेयर मूल्य किन घट्दैछ अहिले ?




काठमाडौं । नेपाली सेयर बजारको बैंकिङ क्षेत्रमा सबैभन्दा बढी सेयर मूल्य बनाएको रेकर्ड स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नाममा छ । एक समय सो बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँको हाराहारीमा समेत पुगेको थियो ।

त्यो बेला बाणिज्य बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्डपछि नविल बैंकको सेयर महंगो थियो । र, पछिल्लो सिजनमा एभरेष्ट बैंकको सेयर मूल्यले पनि बजारमा निकै तहल्का मच्चाएको थियो ।

अहिले फेरि वाणिज्य बैंकहरुमा सेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको छ । तर, एभरेष्ट, नबिल र स्टयाण्डर्ड चार्टर्ड बैंकमा भने आकर्षण घट्दो क्रममा देखिएको छ ।

१ महिना अवधिको तुलना गर्दा ती बैंकमा लगानीकर्ताको आकर्षण देखिदैन । अझ गत बर्षकै आँकडा केलाउने हो भने त सेयर मूल्यमा धेरै नै अन्तर पाउन सकिन्छ ।

यसको मतलब यी ३ बैंकको सेयर मूल्य घटिरहेको छ । केही समय अघि सेयर मूल्य राम्रो भएको सूचिमा पर्ने यी बैंकहरुको अवस्था अहिले भने त्यस्तो देखिदैन ।

अहिले एभरेष्ट बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ६ सय ५० रुपैयाँ छ । एक महिना अघि सोही सेयरको मूल्य दोस्रो बजारमा प्रतिकित्ता ६ सय ५५ रुपैयाँ थियो ।

२०७५ साल बैशाख १० गते सोमबार सो बैंकको सेयर मूल्य ८ सय ६० रुपैयाँ थियो । साथै, गत बर्ष असोज १७ गते मंगलबार सोही बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १२ सय ४० रुपैयाँ कायम थियो ।

यस्तै, नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता दोस्रो बजारमा ९ सय ६६ रुपैयाँ कायम रहेको छ । एक महिना अघि भदौ १० गते नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ९ सय ४५ रुपैयाँ कायम थियो । यस्तै, बैशाख ९ गते आईतबार सो बैंकको सेयर मूल्य प्रतिकित्ता १ हजार ६५ रुपैयाँ कायम थियो ।

गत बर्ष असोज १७ गते नबिलको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १ हजार ६५ रुपैयाँ कायम थियो ।

स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य हाल दोस्रो बजारमा ७ सय ८ रुपैयाँ कायम रहेको छ । भदौ ५ गते मंगलबार उसको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ७ सय २१ रुपैयाँ कायम थियो ।

यसरी नै गत बर्ष पुस १७ गते सोमबार चार्टर्डको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १ हजार ८१ रुपैयाँ रहेको थियो । यसरी सो बैंकको सेयर मूल्यपनि घट्दो क्रममा रहेको छ ।

के भन्छन् जानकार ?
यी बैंकको मूल्यलाई लगानीकर्ताहरुले बढी आंकलन गरेको वा बजार निकै तल जान्छ भन्ने जुन हौवा वा मनोवैज्ञानिक आंतक फैलाइएको थियो, त्यसले त्रसित भएर बजार पूँजीकरणका नेतृत्वदायी कम्पनीमा लगानी गर्न पर्ख र हेरको रणनीतिमा लगानीकर्ता रहेको हुनसक्ने सेयर बजारका जानकार दिलिप मुनकर्मी बताउँछन् ।

‘बजार साँच्चै तल वा माथि हुन उच्च बजार पूँजीकरण भएका १० कम्पनीहरु मध्येका नबिल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र चार्टरको मूल्यमा नै तलमाथि हुनै पर्छ, आजको अवस्थामा लगानीकर्ता ढुक्क नभएको, बजारमा नयाँ कम्पनीले नेतृत्व लिन खोजेको वा आधारभूत सूचक भन्दा मूल्य हावी भएको हुनसक्छ,’ मुनकर्मीले भने ।

अझ सबै बैंकको चुक्ता पूँजी करिव समान तहमा पुगेको अवस्थामा पहिले जस्तो निकै बलियो वा कमजोर भन्ने नरहने मानसिकता, लगानीकर्ताहरुले ठूला बैंकले बोनसभन्दा नगद लाभांसमा जोड दिने आशंका, एकैपटक पूँजी बढाउँदा उनीहरुको वित्तीय सूचकमा परेको प्रभाव जस्ता कारणहरुले गर्दा पनि कहलिएका बैंक भन्दा सस्ता र मध्यम वर्गका बैंकप्रति लगानीकर्ताहरु बढी आकर्षित भएको हुनसक्ने उनले बताए ।

इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालका अनुसार अहिले महङ्गो मनिएका तथा चर्चा समेत बटुल्न सफल भएका बैंकको सेयर मूल्य नबढ्नुमा केही कारण पक्कै रहेका छन् । अहिले सबै वाणिज्य बैंकको सेयर मूल्य बढिरहेको छ । यस्तो अवस्थामा एभरेष्ट, नबिल तथा स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य बढ्न सकेको छैन । ती बैंकको सेयर मूल्य बढ्न नसक्नुमा कम्पनीले दिने लाभांशले ठूलो भुमिका निभाउँछ ।

‘अधिकांश लगानीकर्ता लाभांशको विषयमा सचेत हुन्छन् तर, अहिलेसम्म लाभांश घोषणा हुन नसक्नु जस्ता कारणले पक्कैपनि सेयर भाउमा असर पारेको हुन सक्छ, के कति लाभांश दिने भन्ने जस्ता विषयमा लगानीकर्ताले निश्चितता नपाउँदा सेयर किन्ने कुरै पनि भएन, आगामी दिनमा कम्पनीले दिने लाभांशको अवस्था हेरेपछि सेयरको मूल्यमा हेरफेर हुन सक्छ,’ महासचिब लम्सालले भने ।

अहिले लगानीकर्ता सानो लगानीमा धेरै सेयर किन्ने चाहनामा छन् । सेयरको भोलुममा लगानीकर्ताको ध्यान गएकाले त्यसको असरपनि मुल्यमा पर्नु स्वभाविक नै हो । महङ्गोमा कम्पनीको सेयर किन्दा कित्ता कम हुन जान्छ । तत्काल लगानीकर्ता सेयरको कित्ता घटाउने पक्षमा समेत नरहेको कुरा यहाँबाट पनि बुझ्न सकिने उनको धारणा छ ।

यता, पुतलीसडक नजिकै रहेको एशियन सेक्यूरिटिजमा भेटिएका सेयर लगानीकर्ता राजकुमार खड्काले बैंकले दिने प्रतिफलमा नै लगानीकर्ताको विशेष आकर्षण हुने भएकाले अहिले यी कम्पनीमा लगानीकर्ताको चाख नरहेको बताए ।

‘अहिले भनेको लगानीकर्ताले आशा गर्ने बेला हो, आशा अहिले पूरा हुने जस्तो लागेन भने लगानीकर्ताले कम्पनी फेर्ने गर्छन्,’ उनले भने ।

दीर्घकालीन लगानी गर्ने लगानीकर्ताले तात्कालिक फाइदा नहेरे पनि अल्पकालिन लगानीकर्ताले भने यसमा बढी ध्यान दिने उनको भनाइ छ ।

अन्य बैंकको सेयर मूल्य सस्तोमा पाएकोले तुलनात्मक रुपमा महंगो रहेका यी बैंकको सेयरप्रति कम आकर्षण कम भएको पनि हुन सक्ने खड्काको भनाइ छ ।

 


क्लिकमान्डु