रोजाईको पेशा बन्दै ईन्टेरियर डिजाइन र डेकोरेसन, युवामाझ लोकप्रिय




काठमाण्डौ । काभ्रे बनेपाका टंकप्रसाद दुलाल आफुले दुःख गरेर बनाएको घर तयारी हुनुभन्दा पहिले नै उक्त घरको फोटो देखेर दंग परे, अझ केहि दिनमा उक्त फोटो जस्तै र कल्पना गरे जस्तै सजिसजाउ घर देख्दा उनलाई गज्जव लाग्यो ।

बागबजारमा कन्सल्टेन्सी सञ्चालन गरिरहेका प्रमोद ढुंगानाले पनि ईन्टेरियर डिजाईन मार्फत अफिस डिजाईन र डेकोरेसन गराउँदा एकदमै सहज महसुुस गरे । सहरिकरण र औद्योगिकीकरण बढ्दो छ ।

जमाना पहिलो जस्तो छैन, घर बनायो अनि दशतिर पुगेर दशथरिका फर्निचर, बिजुली, रंग र आन्तरिक सजावटका सामाग्री किन्न थाल्यो । यसो गर्न सबैसंग पर्याप्त समय नहुन सक्छ । अनि भने जस्तो सामाग्री नपाईने समस्या त छदैछ ।
एकातिर घरको सबै क्षेत्रफल राम्ररी सदुपयोग नहुने समस्या अनि घरमा के नमिले के नमिले जस्तो हुने अवस्था । यस्तो समस्या धेरैले व्यहोर्दै आईरहेका छन् ।

आजभोलि यसको समाधानका रुपमा ईन्टेरियर डिजाईन तथा डेकोरेसनलाई लिन सकिन्छ भने ईन्टेरियर डिजाईनर र डेकोरेटर मार्फत घर, अफिस तथा व्यवसायिक प्रयोजनका विल्डिङहरु निर्माण तथा सजावट गराउने प्रचलनपनि बढ्दो छ र यस पेशाप्रतिको मोहपनि बढिरहेको छ ।

विगत दश बर्षदेखि आन्तरिक सजावट अर्थात ईन्टेरियर डिजाईन डेकोरेसनका क्षेत्रमा कार्य गर्दै आईरहेको ईन्टेरियर प्वाईन्टसका सञ्चालक चन्द्र हुमागार्इँ आजभोलि ईन्टेरियर डिजाईन डेकोरेसन होटल, अस्पताल र व्यवसायिक प्रयोजनका विल्डिङका लागि मात्र नभएर व्यक्तिगत प्रयोजनका घरहरु साना पसल, रेष्टुरेन्टहरु सबै क्षेत्रमा यसको माग भैरहेको बताउँछन ।

त्यसो त राजधानीमा मात्र १०० भन्दा बढी सानाठूला ईन्टेरियर डिजाईन तथा डेकोरेसनका क्षेत्रमा कार्य गर्ने कम्पनीहरु छन् छनौट भने भरपर्दो हुनु जरुरी छ । वास्तु अनुसारका स्थलको छनौट, स्थानको सही र अर्थपूर्ण प्रयोग, सुहाउँदो र सुरक्षित हुनु आन्तरिक सजावटको सुत्र नै हो ।

सही र सुहाउँदो भित्ता, फ्लोरिङ, सिलिङ अनि यसको फर्निचर तथा पर्दासंगको मेल बनाउनुमात्र हैन छोटो समयमा सम्पूर्ण आवश्यक सामाग्री सेवाग्राहीको घर या कार्यस्थलमा सही तवरले प्रतिस्थापन गराउनु ईन्टेरियर डेकोरेटरको मुख्य काम हो ।

कसरी गरिन्छ ईन्टेरियर डिजाईन र डेकोरेसन ?


वास्तवमा यो विल्डिङ कन्स्ट्रक्सन पश्चात आन्तरिक रुपमा कोठा वा उपलव्ध स्थलमा कुन क्षेत्र कसरी प्रयोग गर्ने त्यसको ले–आउट योजना बनाउने र त्यसको वास्तविक तश्विर निकालेर उक्त योजना मुताविक सजावट गर्ने कार्य नै यसको मुख्य प्रकृया हो ।

फरक–फरक उद्देश्यले निर्माण गरिएका विल्डिङहरुको मात्र हैन हरेक व्यक्ति पिच्छे उसका योजना र अपेक्षालाई बुझेर ईन्टेरियर डिजाईनरले कार्य गर्नु पर्छ भन्छन् वानेश्वरका ईन्टेरियर डिजाईनर सुरज श्रेष्ठ । यस क्षेत्रमा कार्य गर्ने या सेवा लिनेमात्र हैन युवाहरुमाझपनि यो पेशा लोकप्रिय बन्दै गैरहेको छ ।

बढ्दो सहरिकरण, आधुनिक र संभ्रान्त वर्गबीच मात्र हैन अहिले ईन्टेरियर डिजाईन, डेकोरेसन आम समुदायकाबीचमा लोकप्रिय र परिचित बन्दै गइरहेको छ ।


क्लिकमान्डु