पैसा नतिर्नेलाई काठमाडौं महानगरले फोहोर फाल्न नदिने



काठमाडौं । काठमाडौ महानगरपालिकाले सिसडोलमा फोहोर फाल्न आंशिक रुपमा प्रतिबन्ध लगाउने भएको छ । सिसडोलमा काठमाडौं उपत्यकाभरीको फोहार व्यवस्थापन गरिने भएपनि व्यवस्थापन खर्च काठमाडौं महानगरले मात्रै व्योहोर्ने गरेको थियो ।

उपत्यकाका अन्य नगरपालिका तथा महानगरले व्यवस्थापन खर्च नदिएमा काठमाडौं महानगरले आफ्नै खर्चमा सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने बताएको छ ।

काठमाडौं उपत्यकाको फोहोरको दिर्घकालीन व्यवस्थापन तथा सिसडोलकोको व्यवस्थापनका लागि भन्दै महानगरले आज उपत्यकाका नगरपालिका प्रमुख कार्यकारी अधिकृतसंग छलफल गरेको थियो ।

२ वर्षका लागि भनेर तयार पारिएको सिसडोलमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको १३ वर्ष भईसकेको छ । सिसडोलमो फोहोर व्यवस्थापन गर्ने समयमा काठमाडौं उपत्यकाबाट दैनिक ३ सय ७५ टन फोहोर संकलन हुन्थ्यो भने अहिले दैनिक ८ सय टनसम्म फोहोर संकलन हुने गर्छ ।

सिसडोल ल्याण्डफिल साईटको क्षमताभन्दा धेरै फोहोर भएकाले अबको ३ महिनापछि त्यहाँ फोहोर व्यवस्सथापन गर्न नसकिने महानगरले जानकारी दिएको छ । जापान सरकारको सहयोगमा तयार पारिएको सिसडोल साईटको क्षमताले धान्ने भन्दा धेरै फोहोर त्यहाँ राखिएकाले पहिरो जानसक्ने खतरा पनि बढेको छ ।

साथै फोहोरबाट निस्कीएको पानी (लिचेड) को समेत खोलो बग्न थालेको छ । फोहोरमाथि बनाईएको बाटोमा फोहोर बोकेको गाडी फस्दा मुल सडकसम्मै सवारी जाम हुन थालेको छ । मुल सडकमै सवारी जाम हुँदा सिसडोल वररपरका स्थानीयवासी पनि आक्रोशित बनेका छन् ।

वञ्चरे डाडाँको ल्याण्डफिल साईट तयार नहुँदासम्म वैकल्पीक ल्याण्डफिल साईट खोज्नुपर्ने प्रस्ताव महानगरले गरेको छ । छलफलमा काठमाडौं महानगरका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद कोइरालाले वैकल्पीक ल्याडफिल साईट खोज्नुपर्ने प्रस्ताव गरे ।

सिसडोलमा उपत्यकाका सबै नगरपालिकाले फोहोर व्यवस्थापन गर्ने गरेपनि काठमाडौं महानगरले मात्रै आर्थिक भार व्योहोरिरहेको उनले बताए ।

महानगरले हिँउदका ९ महिनामा सिसडोल साईट व्यवस्थापनका लागि दैनिक ८५ हजार ४ सय ६० रुपैयाँ खर्च गर्ने गर्छ । त्यस्तै वर्षाका ३ महिनामा साईट व्यवस्थापनका लागि दैनिक १ लाख १९ हजार रुपैयाँ खर्च गर्ने गर्छ ।

सिसडोल साईट व्यस्थापनका लागि महानगरले वार्षिक ७ करोड भन्दा धेरै रकम खर्च गर्दै आएको छ । अहिले ललिलतपुर महानगरले मात्रै काठमाडौं महानगरलाई सिसडोल साईट व्यवस्थापनका लागि रकम दिँदै आएको छ ।

यता सूर्यविनायक नगरपालिकाले आफ्नो क्षेत्रमा उत्पादीत फोहोरबाट उर्जा निकाल्ने तयारी गरेको छ । नगरपालिकाले फोहोरबाट विद्युत उत्पादन गर्नका लागि ३५ रोपनी जग्गा समेत खोजिसकेको छ ।

त्यसैगरि गोकर्णेश्वर नगरपालिकाले पनि जापान सरकारको सहयोगमा फोहोर जलाउने मेसीन ल्याउने भएको छ । नगरापालिकाले जापानबाट तीन वटा मेसीन ल्याउने बताएको छ ।

केही समय अगाडी झरीले सिसडोलको बाटो बिग्रदा उपत्यकाको फोहोर संकलन र व्यवस्थापन प्रभावित भएको थियो । अबको तीन महिनामा सिसडोलमा फोहार राख्ने ठाउँ हुने छैन ।

सिसडोलमा फोहोर राख्ने ठाउँ नहुनु अगावै अर्को विकल्प खोज्नुपर्ने हुन्छ । काठमाडौं महानगरले सिसडोल नजिकै चनेटार वा स्यामेगल्छीमा तीन वर्षका लागि फोहोर व्यवस्थापन गर्न सकिने बताएको छ ।

महानगरले वैकल्पीक फोहोर व्यवास्थापन क्षेत्र निमार्णका लागि ५ करोड रकम लाग्ने बताएको छ । वैकल्पीक फोहोर व्यवस्थापन क्षेत्र निर्माणका लागि लाग्ने रकम काठमाडौं उपत्यककाका सबै स्थानीय तहले सहयोग गर्नुपर्ने महानगरको धारणा रहेको छ ।


पुष्प दुलाल