शाही परिवार र नागरिक छुटाउन कतारले तिर्यो एक खर्ब फिरौती



काठमाडौं । कतारले अपरहणमा परेका आफ्ना नागरिक एवम् सरकारी उच्च अधिकारीका आफन्त छुटाउन एक अर्ब डलर रकम तिरेको खुलासा भएको छ ।

बिबिसिलगायत पश्चिमा सञ्चारमाध्यमहरुले हालै गरेको एक खुलासामा अपहरणमा परेका नागरिक छुटाउन १६ महिना लागेको थियो ।

कतारले नेपाली रुपैयाँ एक खर्ब बराबरको रकम उपलब्ध गराएको हो ।

बिबिसि लेख्छ –सन् २०१५ को डिसेम्बर १६ को बिहानीपख कतारको शाही परिवारले एउटा नराम्रो समाचार पायोः इराकमा शिकार खेल्न गएको शाही परिवारको २८ सदस्यीय टोली अपहरणमा प‍र्यो ।

अपहरितहरूको सूची शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीलाई थमाइयो, जो कतारका विदेशमन्त्री बन्न लागेका थिए । त्यो सूचीमा आफ्ना दुईजना आफन्त पनि परेको उनले थाहा पाए ।

उनले इराकका लागि कतारी राजदूतलाई सन्देश पठाए, ‘जस्सीम मेरा काकाका छोरा हुन् र खालिद मेरा फुपाजु हुन् । ईश्वरले उनीहरूको रक्षा गरून्। तपाईँले कुनै जानकारी पाउनासाथ मलाई खबर गर्नु ।’

त्यो रकम त्यस्ता समूहका मानिसहरूसम्म पुग्यो, जसलाई अमेरिकाले आतंकवादी भन्दै आएको छ ।

फिरौती रकम इरानको रिभोल्युशनरी गार्डको कुर्दस फोर्सका कमाण्डर जनरल कासिम सुलेमानीलाई पनि गयो, जसमाथि अमेरिका र युरोपेली संघको प्रतिबन्ध रहेको छ ।

फिरौतीको एउटा हिस्सा हयात तहरीर अल शामलाई पनि पठाइयो, जुन कुनैबेला सिरियामा अल कायदासँग सम्बन्ध भएको संगठन थियो र अल नुस्रा फ्रन्ट नामले परिचि थियो ।

अपहरण प्रकरणको एउटा अर्को विवरण पनि छ, जसमा कतारले अमेरिकले भनेको आतंकवादीलाई नभई इराक सरकारलाई रकम दिएको दावी गरेको छ।

कतार सरकारको आधिकारिक विवरणका अनुसार त्यो रकम बग्दादस्थित इराकको केन्द्रीय बैंकमा सुरक्षित छ र अपहरित मानिसहरू सुरक्षित रुपमा घर फर्किसकेका छन्।

सो कुराको खुलासा कतारको विरोध गर्ने विदेशी सरकारबाट बीबीसीलाई प्राप्त भएको उसका विवरणहरुमा उल्लेख छ ।

शेख मोहम्मद बिन अब्दुल रहमान अल थानी पूर्वअर्थशास्त्री हुन् र कतारका अमीरका टाढाका नातेदार हुन् ।

विदेशमन्त्री बन्नुअघि उनी खासै चर्चित थिएनन् । ३५ वर्षको उमेरमा उनी कतारका विदेशमन्त्री बनेका हुन् ।

राजदूत जाएल अल करीम अपहरणका बेला ५० वर्षका थिए र राजदूत हुनुअघि उनी कतारको गुप्तचर विभागमा कर्णेल पदमा रहेको बताइन्छ ।

कतारको शाही परिवारका सदस्यहरू सुरक्षासम्बन्धी केही गम्भीर चुनौतीहरूलाई बेवास्ता गर्दै शिकार खेल्न इराक पुगेका थिए।

खाडी मुलुकहरूमा बाजको शिकार गर्नुलाई एउटा शाही शौखको रुपमा लिइन्छ । हुबारा बस्टर्ड भनिने एक प्रकारको चराको शिकार गर्न शाही परिवारका सदस्यहरू आफ्ना बाजसहित दक्षिण इराकको मरुभूमि क्षेत्रमा पुगे ।

तर बिहानको समयमा पिक अप ट्रकमा आएका हतियारधारी समूहले उनीहरूमाथि धावा बोल्यो ।

अपहरणमा परेकामध्ये एकजनाले न्यूयोर्क टाइम्सलाई बताए अनुसार शुरूमा उनीहरूलाई तथाकथित इस्लामिक स्टेटको हमलामा परेजस्तो लाग्यो ।

एकजना अपहरणकारीले उनीहरूलाई गाली गरे, जुन गाली शियाहरूले सुन्नीलाई गर्छन् । कैयौँ हप्तासम्म कतार सरकारले अपहरितहरूबारे कुनै भेउ पाउन सकेन । सन् २०१६ को मार्चमा कुरा अगाडि बढ्यो। अपहरणकारीहरू कताइब हिज्बुल्लाह समूहका लडाकु भएको अधिकारीहरूले जानकारी पाए ।

उक्त इराकी लडाकु समूहलाई इरानको समर्थन प्राप्त छ । सो समूहलाई रकम चाहिएको थियो ।

अपहरणकारीहरू आए तर उनीहरूसँग बन्धकहरू थिएनन् । उनीहरूसँग एउटा युएसबी स्टिक थियो, जसमा अपहरितहरूको भिडिओ थियो।

अपहरणकारीले अपहरितहरूलाई अलग गरिदिएका थिए। शाही परिवारका सदस्यहरूलाई झ्याल विनाको ’बेसमेन्ट’ मा राखिएको थियो।

गैरशाहीदेखि अरू मानिसहरूलाई छुट्टै राखिएको थियो र उनीहरूसँग राम्रो व्यवहार गरिएको थियो । कतारका एक अधिकारीका अनुसार शाही बन्धकहरूलाई प्रत्येक दुई तीन दिनमा अर्को ठाउँमा सार्ने गरिएको थियो।

उनीहरू सबैलाई पढ्नका निम्ति एउटा मात्रै कुरान दिइएको थियो।

उनीहरू १६ महिना बन्धक रहे। त्यसबीचमा उनीहरू संसारमा के भइरहेको छ भन्ने कुराको भेउ पाउन सकेनन् । यदि त्यो संकटको समाधान पैसा नै थियो भने कतारसँग थुप्रै पैसा थियो।

वार्ताको एउटा चरण पूरा भएपछि कताइब हिज्बुल्लाहका एक वार्ताकार अबु मोहम्मदले राजदूतलाई छुट्टै लगेर एक करोड डलर माग गरे।

उनीहरू कतारको विदेश मन्त्रालय गए र अग्रीम उपहार मागे। उनीहरूले डेढ लाख डलर नगद र पाँचवटा रोलेक्स घडी मागे, जसमध्ये दुईवटा निकै महँगा खालका थिए ।

फोनमार्फत कुराकानी गरेका ती व्यक्ति इरानी रिभोल्युशनरी गार्डको अन्तर्राष्ट्रिय अभियान शाखा प्रमुख जनरल कासिम सुलेमानी थिए। उनी सिरियाली सेनाका सल्लाहकार पनि थिए । त्यतिबेलासम्म एक अर्ब डलर जति फिरौती दिइसकिएको थियो। अपहरणकारीहरूले थप रकम माग गरिरहेका थिए ।

केही महिना बित्यो । सन् २०१६ को नोभेम्बरमा वार्ताका क्रममा नयाँ कुरा आयो। जनरल सुलेमानीले सिरियामा ’चार शहरसम्बन्धी सम्झौता’मा सघाउन माग गरे।

अन्तिम पटक जनवरी २०१७ मा एक अर्ब डलर फिरौतीबारे चर्चा भयो ।

त्यसबाहेक १५ करोड डलर पनि दिइएको थियो ।

ती विवरण गत अप्रिलमा वाशिङटन पोस्टले प्राप्त गरेको थियो। हाम्रा स्रोतले यसबारे दोहाको प्रतिक्रिया माग्दा उनीहरूले त्यसको खण्डन गरे। कतारले आफ्ना छिमेकी मुलुकहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स बहराइन र इजिप्टको नाकाबन्दी झेलिरहेको छ।

सन् २०१७ को अप्रिलमा अपहरण संकटको अन्त्य भयो । कतार एयरवेजको एउटा विमान पैसा लिएर बग्दाद पुग्यो र अपहरितहरूलाई लिएर स्वदेश फर्कियो ।

कतारी अधिकारीहरूले त्यसको पुष्टि गरे पनि कतार एयरवेजले त्यसको खण्डन गर्यो । स्रोतहरूका अनुसार कतारविरोधी एक सरकारले एक अर्बभन्दा बढी डलर रकम पठाएको थियो र त्यसबाहेक १५ करोड डलर पनि पठाएको थियो ।

त्यसको ठूलो हिस्सा कताइब हिज्बुल्लाहलाई गएको थियो। कतारी अधिकारीहरूका अनुसार फिरौतीको अधिकांश हिस्सा नगदमै पठाइएको थियो । तर त्यो रकम उग्रवादीहरूलाई नभइ बन्धक बनाइएकाहरूको सुरक्षा गर्नका लागि इराकी सरकारलाई पठाइएको कतारको दावी छ ।

बन्धक बनाइएको १६ महिनापछि दोहा विमानस्थलमा उनीहरू मुस्कुराउँदै गरेको तस्वीर टेलिभिजनमा देखाइयो ।

कतारी अधिकारीहरूले बग्दादलाई पठाइएको रकम इराकको केन्द्रीय बैंकमा रहेको बताउने गरेका छन्।

अहिलेका लागि कतारले इतिहासकै सबैभन्दा धेरै फिरौती रकम तिरेको हो वा होइन भन्ने कुरा रहस्यकै रुपमा छ । बिबिसी


क्लिकमान्डु