बनिसकेपछि यस्तो हुन्छ पोखरा विमानस्थल, यसरी बन्दैछ अहिले (फोटोफिचर)
काठमाडौं । सरकारले सन् २०२१ को जुलाईदेखि हवाई सेवा सञ्चालन गर्ने तयारीका साथ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीब्रता दिएको छ ।
चिनियाँ ठेकेदार सीएएमसीई इन्जिनियरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थल निर्माणमा चिनियाँ ठेकेदारले अहिले १५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । यसैगरी सन् २०२० सम्म ८५ प्रतिशत काम सम्पन्न गर्ने सरकारी तयारी छ ।
सोही अनुरुप सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य काम सम्पन्न गर्दै २०२१ को जुलाई देखि हवाई सेवा सञ्चालन गर्ने तयारी भएको छ । जसमा सरकारले सन् २०१९ भित्रै विमानस्थल निर्माणको ५५ प्रतिशत काम सकिने बताएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार विमानस्थल निर्माणमा २०२० सम्म ८५ प्रतिशत काम हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य काम सम्पन्न हुनेछ ।
सोही अनुरुप २०२१ को जुलाई देखि हवाई सेवा सञ्चालन हुने अधिकारीले बताए ।
चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले विमानस्थल निर्माण गरिरहेको छ । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्नेछ ।
प्रधानमन्त्री केपी ओलीले ०७३ साल वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए । त्यसअघि ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला चीन भ्रमणका क्रममा विमानस्थल निर्माण गर्न दुई देशीय ऋण सम्झौता भएको थियो ।
झन्डै २२ अर्ब रुपैयाँ ऋण चिनियाँ एक्जिम बैंकले नेपाल सरकारलाई विमानस्थल निर्माणका लागि दिएपछि काम सुरु भएको हो ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) को मादण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान गर्न सक्नेछन् । २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउने–जाने ती विमानको यात्रु क्षमता २ सय सम्मको हुनेछ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि २०३२ साल देखी अधिग्रहण गर्ने कार्य शुरु भएको र जम्मा ३१०६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । ०७१/०७२ देखि थप जग्गा अधिग्रहण ५२१ मध्ये ५१० रोपनी तथा ३५ घर टहरा अधिग्रहण कार्य सम्पन्न भएको थियो ।
योसँगै आउटर पेरिफेरी रोड निर्माणको लागि आवश्यक थप ५९.४८ रोपनी जग्गा तथा ३४ घर टहरा को अधिग्रहणको लागि मुआब्जा रकम बुझ्न आउने सूचना समेत प्रकाशित भएको छ । जसमा अहिले मुआब्जा वितरण गर्ने कार्य दु्रत गतिमा भैरहेको ।
यसैगरी ह्याङगर, इन्धन भन्डार, हेलिप्याड र लोकलाइजर लगायतका अन्य आवश्यक पूर्वाधारको लागि थप जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको हुँदा सर्भे गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।
तस्बिर सौजन्य : प्रदीप अधिकारी