नेपालको विकासः १५० किलोमिटर जमिनमा पूर्वपश्चिम जोड्ने ६ वटा सुपर हाइवे




काठमाडौं । डोल्पा, मुस्ताङ, मनाङ र जुम्ला जोड्ने हिमाली राजमार्ग निर्माणको काम सडक विभागले गरिरहेको छ । यो राजमार्गले नेपालको हिमाली क्षेत्रलाई पूर्व पश्चिम जोड्नेछ ।

पाँचथरको चियाझन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म मध्यपहाडी राजमार्ग बनिरहेको छ । यो राजमार्गले नेपालको मध्यपहाडी क्षेत्रलाई पूर्व पश्चिम जोड्नेछ । यसको लम्बाइ १७६५ किलोमिटर छ ।

महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग) पहिला नै बनेको छ । यो राजमार्ग संचालनमा छ । पहाड र तराई मधेशको बीचबाट चल्ने यो राजमार्गले पूर्व पश्चिम जोडेको छ । यसको लम्बाइ १०२४ किलोमिटर छ ।

पूर्वको मेची नदी किनार काकडभित्ताबाट सुरु हुने पूर्वपश्चिम रेलमार्ग पश्चिम महाकाली नदी किनार गड्डाचौकीसम्म पुग्छ । यसले पनि पूर्वपश्चिम नै जोड्नेछ । यसको लम्बाइ ९४५ किलोमिटर छ ।

झापाको भद्रपूरबाट सुरु हुने हुलाकी राजमार्ग मध्य तराई हुदै कन्चनपूरको चादनी दोधारासम्म पुग्छ । यसको लम्बाइ १७०० किलोमटिर छ । यो राजमार्गले पनि पूर्व पश्चिम नै जोड्ने हो ।

झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग बन्ने भएको छ । चुरे क्षेत्रमा बन्न लागेको यो राजमार्गले पनि पूर्व पश्चिम जोड्नेछ ।

नेपालको उत्तर दक्षिण क्षेत्रफल करिब १५० किलोमिटर हो । यही जमिनमा पूर्व पश्चिम जोड्ने ६ वटा राजमार्ग बनिसकेका र बन्ने क्रममा छन् । १५० किलोमिटरमा ६ वटा ठूला राजमार्ग बन्नु भनेको औषतमा २५ किलोमिटरमा अर्काे हाइवे बन्नु हो ।

रणनीतिक रुपमा १÷२ वटा यस्ता हाइवे बनाए पनि यति धेरै संख्यामा बनाउनुको कुनै अर्थ नभएको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा विकासबिज्ञ डा. जगदीशचन्द्र पोखरेल बताउँछन् ।

‘नेपालको भौगोलिक अबस्था हेर्दा पूर्व पश्चिम राजमार्गभन्दा उत्तर दक्षिण जोड्ने सडकले विकास र आर्थिक समृद्धिको आधार तयार पार्ने देखिन्छ, रणनीतिक हिसाबले एउटादेखि दुईवटासम्म पूर्वपश्चिम हाइवे बनाए पनि यति धेरै संख्यामा बनाउँदा त्यसले नकारात्मक असर पर्ने देखिन्छ,’ डा. पोखरेलले क्लिकमाण्डूसँग भने ।

पूर्व पहाडसँग पश्चिम पहाड, पूर्व हिमालसँग पश्चिमी हिमाल वा पूर्वी तराईसँग पश्चिम तराई जोड्दा त्यसले विकासमा सहयोग नपुर्याउने उनको तर्क छ ।

‘काठमाडौंबाट लामोसाघु हुदै जिरीसम्म जोड्ने सडक बनेको लामो समयसम्म त्यसले त्यो क्षेत्रको आर्थिक विकासमा सहयोग पुर्याएन, जब लामोसाघुदेखि जनकपूरसम्म त्यो सडकलाई जोडियो, त्यसपछि त्यो क्षेत्रको आर्थिक विकास भएको देखिन्छ, त्यसैले हाम्रो आवश्यकता भनेको पूर्वको उस्तै भौगोलिक क्षेत्रसँग पश्चिमको उस्तै भौगोलिक क्षेत्र जोड्नेभन्दा पनि हिमाल, पहाड र तराई जोड्दा आर्थिक गतिविधिमा सहयोग पुग्ने पुष्टी भएको छ,’ उनले भने ।

उनले पूर्वी नेपालको इलामा र झापा जोड्दा प्राप्त हुने आर्थिक गतिविधिमा सहयोग पूर्वी नेपालको पाँचथरलाई पश्चिम नेपालको बैतडीसँग जोड्दा नहुने पनि बताए ।

‘पाँचथरमा पनि खसी बोका पाइन्छ, ढुंगा पाइएला, बैतडीमा पनि त्यही पाइएला, यसरी हेर्दा पाँचथरको खसी बोका वा ढुंगा र बैतडीको खसी बोका वा ढुंगासँग साटासाट (बाटर) मात्रै हुने भयो, क्रय विक्रय भएर मूल्य अभिबृद्धि हुन त सकेन, यसकारण आर्थिक विकासको पूर्वाधार र आर्थिक गतिविधिलाई सहयोग गर्ने हो भने सडक संजालले त्यस्तो क्षेत्रसँग जोड्नु पर्यो, जसले एकले अर्काेलाई सहयोग गर्न सकोस्, पूर्व पश्चिमको उस्तै भौगोलिक क्षेत्र जोड्दा यो सम्भावना देखिदैन,’ उनले थपे ।

विकास विज्ञ सूर्यराज आचार्य कुनै अध्ययन विना राजनीतिक उद्देश्यका लागि बनाइले यस्ता सडक पूर्वाधारले आर्थिक विकास र आर्थिक गतिविधिमा सहयोग नपुग्ने बताउँछन् ।

‘मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग वा मदन भण्डारी राजमार्ग किन बनाइदै छ, यसले के कस्तो योगदान र भूमिका निर्वाह गर्छ भनेर कसैले अध्ययन गरेको छैन, विना अध्ययन र तयारी हचुवाका भरमा गरिने यस्ता कार्यले विकासको साटो विनास र उपलब्धीको साटो समस्या मात्रै थोपरिदिन सक्छ,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

उनले राष्ट्रिय यातायात प्रणालीको विकास र समन्वय गर्नको लागि राष्ट्रिय नीति हुनुपर्ने र त्यसमा हवाई तथा स्थल र रेलमार्गको समन्वय हुने गरी विकास गर्नुपर्नेमा अहिले तयारी विनै काम गरिएको बताए ।


क्लिकमान्डु