के पढ्छन् नियामक निकाय, सुचिकृत कम्पनीका कर्मचारी र सेयर ब्रोकरले ?
दुई सय बर्षभन्दा पुरानो बैकमा वित्तीय सल्लाहकारसँग काम गर्ने अवसर मिल्यो । काम सुरु गरेको केही दिन मात्र भएको थियो । मेरो इनबक्समा एउटा इमेल आयो । सात दिनभित्र यो परीक्षा दिनु भन्ने सन्देश इमेलमा थियो ।
उक्त अनलाइन परीक्षा हरेक कर्मचारीले प्रत्येक बर्ष दिनै पर्ने बैंकको आन्तरिक परीक्षा थियो । परीक्षा पास गर्न ८० प्रतिशत प्रश्नको उत्तर मिलाउनुु पथ्र्यो । जसका लागि पुरै विषयबस्तु नपढी सम्भवै थिएन ।
ज्यालादारी, आँशिक, करार वा स्थायी कुनै पनि कर्मचारीले त्यो तालिम लिन र परीक्षा दिन अनिवार्य थियो । परीक्षा कम्पनीको आन्तरिक इथिक्स, कानुन, गोपनियता, सुरक्षा, ग्राहकसँग गर्ने व्यवहार जस्ता विषयसँग सम्बन्धित थियो, जसमा नियामक निकायका नियम पनि समेटिएका थिए ।
यसका अलावा लगानीसँग सम्बन्धित काम गर्ने हरेक व्यक्तिले विभिन्न प्रकारका कोर्ष गर्नै पर्ने हुन्छ । र, आफ्नो पेशासँग सम्बन्धित नियमित शिक्षा हरेक बर्ष लिनै पर्ने वाध्याता क्यानडामा देखिन्छ । अन्यथा पेशा धरापमा पर्छ ।
यसो नगरे नियामकले लाइसेन्स खारेज गरिदिन्छ वा उसले गरिरहेको काम गर्न सक्दैन । जस्तो कि सेयर किनबेचका लागि ग्राहकको आदेश लिएर कम्प्युटरमा राख्नका लागि तोकिएको शिक्षा लिनै पर्ने र नियामक निकायमा दर्ता हुनुपर्ने वाध्यता छ । कार्यलयमा जोकोहिले ग्राहकको खरिद विक्री आदेश लिन सक्दैन ।
इमेल, म्यासेज, भ्वाइस म्यासेजबाट खरिद विक्री आदेश लिइदैन । फोन गरेर परिचय स्पष्ट पारेपछिमात्र आदेश लिइन्छ । यसप्रकारका अनिवार्य शिक्षा र तालिमले सेयर बजारमा संलग्न व्यक्तिको ज्ञानलाई अध्यावधिक गर्दै लान्छ भने सेयर बजारलाई थप विश्वासनीय, विकशित, व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउदै लान्छ ।
तर हाम्रा नियामकहरुले यस बारेमा सोचेको देखिदैन । अर्थमन्त्रीले श्वेतपत्रमा सेयर बजारको दायरा साँघुरो भएको कुरा गरे । त्यो दायरा बढाउने कुरा संख्यात्मक मात्र नभइ गुणात्मक पनि हुन आवश्यक छ । गुणात्मकको अर्थ यो पेसामा लागेका व्यक्तिको बौद्धिक विकास र समय सापेक्ष अध्यावधिक हुनु पनि हो । धितोपत्र बोर्ड समय समयमा लगानीकर्तालाई सचेत भएर लगानी गर्न विज्ञप्ति जारी गर्छ, जसको अर्थ अध्ययन, विश्लेषण र सुचनामा अध्यावधिक हुनु भनेको हुन सक्छ । तर उसले ती लगानीकर्तासँग हरेक दिन सम्पर्कमा रहने ब्रोकर कार्यालयका कर्मचारी, लगानी व्यवस्थापक, मर्चेन्ट बैंकका कर्मचारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारीले समय सामपेक्ष अध्यावधिक हुने कुरा कहिल्यै पनि गरेन ।
यी व्यक्तिले लिनु पर्ने न्युनतम तालिम र परीक्षा तोकिनु पर्छ । र, हरेक कर्मचारीले प्रत्येक बर्ष बजार तथा कानुनी परिवर्तनका बारेमा अध्यावधिक हुनै पर्ने प्रणालीको विकास गर्नुपर्छ । जसका लागि बोर्डले अनलाइन परीक्षाको व्यवस्था गर्न सक्छ । जसमा वजारमा पछिल्लो समय भएका विकास, कानुनी परिवर्तनलाई समावेश गरेर पठ्यक्रम तयार गर्नुपर्छ ।
निरन्तर शिक्षाको बाध्यात्मक व्यवस्थाको कुरा कहिल्यै गरेन । त्यति मात्र नभइ यस प्रकारको व्यवस्था स्वयं धितोपत्र बोर्डका कर्मचारीमा पनि आवश्यक छ । धितोपत्र बोर्डले आफ्ना कर्मचारीलाई कानुनी, नैतिक, सुशासन, गोपनियता तथा बजारका पछिल्ला परिवर्तनका बारेमा कसरी अध्यावधिक गराउँछ ? तिम्रा कर्मचारीको दक्षताका बारेमा सर्वसाधारण कसरी विश्वस्त हुने ? यसको जानकारी दिन आवश्यक छ ।
धितोपत्र बोर्ड यस विषयमा अघि सर्न आवश्यक छ । जसका लागि बोर्डले आफ्ना केही उपलिब्धिबिहन विदेश भ्रमण घटाएर बचेको पैसाले केही प्राविधिक काम गर्न पर्ने देखिन्छ । सर्वप्रथम ब्रोकर, मर्चेन्ट बैंक, लगानी व्यवस्थापन कम्पनीका कर्मचारी धितोपत्र बोर्डमा दर्ता हुन आवश्यक कानुन बनाइनु पर्छ । र, हरेक कर्मचारीलाई कानुनी दायरामा ल्याइ जवाफदेही बनाइनुपर्छ ।
यस्तै यी व्यक्तिले लिनु पर्ने न्युनतम तालिम र परीक्षा तोकिनु पर्छ । र, हरेक कर्मचारीले प्रत्येक बर्ष बजार तथा कानुनी परिवर्तनका बारेमा अध्यावधिक हुनै पर्ने प्रणालीको विकास गर्नुपर्छ । जसका लागि बोर्डले अनलाइन परीक्षाको व्यवस्था गर्न सक्छ । जसमा वजारमा पछिल्लो समय भएका विकास, कानुनी परिवर्तनलाई समावेश गरेर पठ्यक्रम तयार गर्नुपर्छ । र, सोही अनुसारका बस्तुगत पश्नको सुची बनाइ अनलाइन परीक्षा दिने अनिवार्य व्यवस्था गरिनु पर्छ ।
यो परीक्षा नदिने, आफुलाई अध्यावधिक नगर्ने र पास नहुनेलाई अयोग्य ठहर्याइनु पर्छ । यो व्यवस्था सेयर बजारमा मात्र नभइ बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा पनि लागू गरिनु पर्छ । भट्टराई सेयर बजार विश्लेषक हुन् ।