भुटानी शरणार्थी नेता रिजालले लेखे नेपाल आउन लागेका मोदीलाई यस्तो मर्मस्पर्शी पत्र



काठमाडौं । भुटानी निर्वासित नेता टेकनाथ रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेखेका छन् ।

यही वैशाख २८ र २९ गते नेपाल भ्रमणमा आउन लागेका मोदीलाई नेता रिजालले नेपाली भाषी भएकै कारण आफूहरुलाई भुटान सरकारले लखेटेको र त्यसमा भारतीयको समेत साथ रहेको उल्लेख गरेका छन् ।

उनले भुटानी शरणार्थीलाई स्वदेश फर्कने वातावरण बनाइदिन समेत पत्रमा आग्रह गरेका छन् ।

उनले लेखेको पत्र जस्ताको तस्तै
उपयुक्त सम्बन्धमा हामीलाई आतिथ्यता दिने मुलुक नेपालको भ्रमणमा आउन लाग्नु भएकोमा यहाँहरुको छिमेकी मुलुक भुटानबाट जातीय र धार्मिक कारणले लखेटिन बाध्य भएका हामी भुटानी शरणार्थीहरुले समेत स्वागत गर्न चाहन्छौं ।

विश्वको सबै भन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतका प्रधानमन्त्रीको हैसियतले क्षेत्रीय तथा विश्वमामिलामा यहाँले खेल्नु भएको भूमिकाबारे हामी लामो समयदेखि परिचित रहेका छौं । यहाँले विगतमा गुजरात राज्यको मुख्यमन्त्रीको हिसाबले र सन् २०१४मा प्रधानमन्त्रीको पद सम्हालेपछि अन्तर्राष्टिय मामिलामा खेल्नु भएको भूमिकाबारेमा पनि हामी अवगत नै रहेका छौं ।

यहाँलाई जानकारी नै हुनुपर्दछ दक्षिणी भुटानमा भारतको सीमा रक्षकको रुपमा सयौं वर्षदेखि बस्दै आएका हामी भुटानीलाई हिन्दू धर्मावलम्बी भएको र नेपाली भाषी भएको आधारमा नै सन् १९८८ मा भारतको बाटो हुँदै नेपाल तर्फ लखेटिएको थियो । हामीले त्यहाँ रहेर भुटानका तर्फबाट भारतलाई कुनै पनि अहित नहोस् भन्ने हिसाबले सीमा रक्षकको काम गर्दै आएका थियौं । अहिले भुटानमा प्रजातन्त्र छ भनिन्छ तर जातीय वा धार्मिक रुपमा उत्तिकै उत्पीडन रहेको छ । त्यहाँ रहेका जनता निरंकुशतामा बाँच्न विवश रहेका छन् ।

छिमेकी भारतले ऊ स्वतन्त्र भएसँगै भुटानको विकासमा पनि महत्वपूर्ण योगदान गर्दै आएको छ । भुटानमा जेजति विकास भएको छ त्यसको प्रमुख हिस्सेदार भारत नै भएकोमा हामी अत्यन्त खुसी रहेका छौं । विश्वकै लोकतान्त्रिक मुलुकको सीमामा रहेको अर्को मुलुक भुटानमा भने जातीय र धार्मिक हिसाबले उत्पीडन हुँदा हामी पीडित बन्नु परेको छ । त्यसैले हाम्रो मामिलालाई समेत मानवीय हिसाबले हेरेर यहाँले भुटान सरकारसँग कुरा राखिदिनुभएको अवस्थामा निमेषभरीमै समस्या समाधान हुने अवस्था रहेको छ । यसको जस यहाँलाई समग्र विश्वले दिनेछ ।

किनकि भारतको प्रधानमन्त्रीको हैसियतमा यहाँले एक पटक बोलिदिएकै अवस्थामा विगत ३ दशकदेखि अल्झीरहेका यो मानवीय समस्या समाधान हुनेछ । यसबाहेक यहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) भित्रैपनि उपक्षेत्रीय समूह प्रस्ताव गर्नु भएको कुरामा पनि हामी अवगत रहेका छौं । त्यो उपक्षेत्रको समग्र विकासको लागि नै यहाँले सो प्रस्ताव राख्नु भएको हो । त्यसैले सो उपक्षेत्रभित्र कुनै पनि अमानवीय काम नहुन् भनेर यहाँले नेतृत्व लिनका लागि समेत भुटानी शरणार्थी समस्याको समाधान जरुरी रहेको कुरा यहाँलाई बताइरहनु नै पर्दैन ।

सम्मानीय प्रधानमन्त्रीज्यू,
छिमेकी भारतले पछिल्लो दिनमा गर्दै आएको प्रगतिबाट हामी भुटानी शरणार्थी अत्यन्तै गौरवान्वित रहेका छौं । अझ यहाँको नेतृत्वमा भारतले विश्व रंगमञ्चमा खेलेको भूमिकाको पनि हामी सह्राहना गर्दछौं । भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य पदमा गरिरहेको दाबी यो क्षेत्रको प्रभावशाली मुलुक भएको नाताले जायज रहेको छ । त्यसमा उसलाई सफलता मिलोस् भन्ने कामना समेत गर्दछौं । यहाँले हालै गर्नुभएको चीन भ्रमणका क्रममा भारत र चीनको जनसंख्या विश्वकै कूल जनसंख्याको ४० प्रतिशत रहेको र दुई मुलुक मिलेर विश्वका नीति निर्माणमा नै नेतृत्वदायी भूमिका खेल्न सक्ने बताउनुभएको थियो । निश्चयपनि यहाँको भनाई जायज हो । हरेक हिसाबले भारतले अहिले गरेको प्रगति प्रशंसायोग्य रहेको छ ।

यो अवस्थामा यति प्रभावशाली मुलुक भारतको छेऊछाऊमा भुटानी शरणार्थी समस्या जस्तो मानवीय समस्या लामो समयदेखि अल्झदा त्यसैका कारण विश्व समुदायले भारतको प्रभावलाई कम आँक्ने अवस्था नआओस् भन्ने कुराले हामी चिन्तित रहेका छौं ।

अन्तर्राष्ट्रिय समुदायको पहलमा सन् २००७ देखि भुटानी शरणार्थीलाई तेस्रो देशमा लग्ने कार्य सुरु भएकोमा सन् २०१७ को डिसेम्बर महिना सम्ममा १ लाख १२ हजार भन्दा बढी भुटानी शरणार्थी त्यसतर्फ गइसकेका छन् । अहिले ९ हजार भन्दा बढी भुटानी शरणार्थी नेपालका शरणार्थी शिविरमा बस्दै आएको यहाँलाई अवगत गराउन चाहन्छौं । यहाँले भारतमा प्रधानमन्त्री पद सम्हालेको समयमा तेस्रो देशमा लग्ने प्रक्रिया चलिरहेकोले हामीले यो मामिलाबारेमा यहाँलाई निवेदन गर्न पाएनौं । तर, गएको डिसेम्बर महिनाबाट यो प्रक्रिया रोकिएको र अझै ९ हजार भन्दा बढी शरणार्थी बाँकी रहेकोले हामी आफ्नो पुरानै थातथलोमा फर्किन चाहन्छौं । यसका लागि यहाँले भुटान सरकारसँग मध्यस्थता गरिदिएको अवस्थामा विगत तीन दशकदेखि अल्झिरहेको यो समस्या समाधान हुने थियो । त्यसैले यहाँले यस विषयलाई गंभीरतापूर्वक लिएर यहाँको कार्यकालमा नै यो समस्या समाधान हुने अपेक्षा गरेका छौं । यहाँको नेपाल भ्रमण सफल होस् हार्दिक शुभकामना ।


क्लिकमान्डु