पौने ३ अर्ब लगानीमा विराटनगरमा १५ हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने
काठमाडौं । विराटनगरमा सुविधासम्पन्न तथा अत्याधुनिक क्रिकेट रंगशाला बन्ने भएको छ । कोशी प्रदेश तथा पूर्वकै ठूलो नगरीमा १० हजार सिट क्षमताको गिरिजाप्रसाद क्रिकेट रंगशाला बन्ने भएको हो ।
पौने ३ अर्ब रुपैयाँ लागतमा बन्ने रंगशालामा क्रिकेट मैदानसँगै ५ हजार सिट क्षमताको एथ्लेटिक्स ट्र्याक, फुटबल कम रग्बी रंगशाला पनि रहनेछ । यसबाहेक प्याभेलियन, बहुउपयोगी कभर्ड हल, गार्ड हाउस, टिकट काउन्टर, अभ्यास नेट, होस्टल ब्लक, रेस्टुरेन्ट, स्विमिङ पुल, जिम हल, खेलाडी ब्लक, पार्किङ क्षेत्र, बाटो र हरियाली क्षेत्रजस्ता संरचना बन्नेछन् ।
विराटनगर वडा नं. १९ वैजनाथपुरमा बन्ने अन्तर्राष्ट्रियस्तरको रंगशाला र व्यवस्थित खेलाडी प्रशिक्षणस्थल रहनेछ । यो रंगशाला निर्माणले क्रिकेटसँगै फुटबल तथा अन्य खेल र खेलाडीको विकासमा सहयोग हुने अपेक्षा गरिएको छ । वैजनाथपुरको १०.३२ हेक्टर खाली जग्गामा राष्ट्रिय खेलकुद परिषदले रंगशाला बनाउन लागेको हो ।
१४८ मिटर लम्बाइ र १४८ मिटर चौडाइ ठाउँमा १३८ मिटरको मैदानमा बन्नेछ । जसअनुसार सबैभन्दा बाउन्ड्रीको दुरी ६९ मिटर हुनेछ । मैदानमा कुल ५ वटा पिच बन्नेछन् ।
यसैगरी १०५ मिटल लम्बाइ र ६८ मिटर चौडाइको फुटबल तथा रग्बी मैदान पनि तयार हुनेछ भने ४०० मिटरको ८ लेन एथलेटिक ट्र्याक निर्माण हुनेछ ।
क्रिकेट रंगशालामा ९ हजार ४९० वटा साधारण सिट, ३५० भीआईपी र ६० भीभीआईपी सिट हुनेछन् ।
यसैगरी २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको स्विमिङ पुल र २८५० वर्गमिटरमा १५०० सिट क्षमताको कभर्ड हल पनि निर्माण हुनेछ ।
कुल २ अर्ब ७९ करोड ७४ लाख ११ हजार ३ सय ७४ रुपैयाँमा बन्ने रंगशाला ३ वर्षको अवधिमा बनिसक्नेछ । रंगशालाले ८ देखि १० वर्षमा लगानीको प्रतिफल दिइसक्ने बताइएको छ ।
रंगशाला समुन्द्री सतहबाट ९२ मिटर उचाइमा बन्नेछ । आयोजनाले १.५ किलोमिटर पहुँच बाटो पनि स्तरोन्नती गर्नेछ ।
आयोजनाको प्रमुख संरचनामा रंगशाला, बहुउद्देश्यिय कभर्ड हल, स्विमिङ पुल र चेन्जिङ ब्लक, पेभिलियन भवन र पारिफिट रहेका छन् ।
यो मैदानमा हाल पनि क्रिकेट र फुटबलजस्ता खेल सञ्चालन भइरहेका छन् ।
रंगशाला निर्माण गर्न २२ लाख ३० हजार मानव दिन अदक्ष कामदार, १४ लाख ७८ लाख मानव दिन अर्धदक्ष र १४ लाख ६६ हजार मानव दिन दक्ष कामदार आवश्यक पर्ने अनुमान गरिएको छ ।
गिरिजा प्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले नेपालमा क्रिकेट खेलकुदको विकास तथा प्रवर्धन गरी अन्तराष्ट्रिय स्तरको खेल सञ्चालन गर्नका लागि संरचना निर्माण हुनेछ । खेलकुद प्रति रुची हुनेहरूलाई क्षमता विकास गर्ने अवसर मिल्ने तथा खेलकुद गतिविधिहरू राष्ट्रियस्तरमा बढ्दै जानेछ ।
क्रिकेटको विकास र प्रतियोगिताले सामाजिक सदभाव तथा राष्ट्रिय एकता अभिवृद्धिमा समेत अहम भूमिका खेल्दछ भने स्थानीय स्तरमा रोजगारी पनि सिर्जना गर्दछ । व्यक्तिको शारीरिक तन्दुरुस्ती, सामाजिक र मानसिक विकासमा समेत टेवा पुर्याउने देखिन्छ ।
नेपालमा हालसम्म पनि सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला नरहेको र नेपालले एक दिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको आवश्यकता जताततै महसुस भएको अवस्थामा प्रस्तावित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई बहुउपयोगी सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम र एस्थेटिक ट्र्याक, फुटबल कम रग्बी रंगशाला निर्माण गरी क्षेत्रिय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तर खेलकुद, सभा समारोहका कार्यक्रम आयोजना गर्न सकिने गरि बहुउपयोगी रङ्गशालाको रूपमा विकास र विस्तार गर्न डिजाइन गरिएको आयोजना हो ।
साथै, यस आयोजनाको निर्माण तथा संचालन गरी क्षेत्रिय, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका क्रिकेट लगायत अन्य खेलकुद प्रतियोगिता र कार्यक्रमहरू आयोजना गरी खेल पर्यटनको माध्यमबाट क्षेत्रिय स्तरको विकास गरी आयआर्जन गर्नुका साथै राष्ट्रिय खेलकुद पूर्वाधार क्षमता सुदृढ गर्नु पनि यस आयोजनाको मुख्य उद्देश्य रहेको छ ।
यसैगरी स्थानीय तह सञ्चालन ऐन, २०७४ ले महानगरपालिका भित्र अन्तर्राष्ट्रियस्तरको खेलकुद सञ्चालन गर्न उपयुक्त रगंशाला भएको हुनुपर्ने लगायताका पूर्व शर्तहरु निर्धारण गरेको छ तथापि विराटनगर महानगरपालिका क्षेत्र भित्र कुनै पनि अन्तर्राष्ट्रियस्तरको रगंशाला नरहेको विद्यमान अवस्थामा सो को अभाव पनि यस आयोजनाले पुरा गर्नेछ । यस आयोजनाको कार्यान्वनले राष्ट्रिय एंव क्षेत्रिय खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ ।