धनतेरसमा विराटनगरका उद्योगपतिले के किने ?
विराटनगर । दिपावलीको सुरुवाती दिन धनतेरसलाई विराटनगरका उद्योगी व्यवसायी र मारवाडी समुदायले महत्वका साथ मनाउने गरेका छन् । आजको दिनमा यहाँका उद्योगी व्यवसायी र मारवाडी समुदायले घरको टोकनका रुपमा सुन, चाँदीका सिक्कादेखि भाँडा वर्तन खरिद गर्ने परम्परा छ । त्यसका लागि उनीहरुले घरका महिला सदस्यलाई जिम्मेवारी दिने गरेको पाइएको छ ।
विषेशगरि धनतेरसमा चाँदीका गहना तथा भाँडाहरु किन्ने गरिएको छ । यो दिन सबैले आ– आफ्नो हैसियत अनुसारले सुन र चाँदी किन्ने गरेका छन् । यसदिन खरिद गरिएको सुनचाँदीले घरमा सुख, समृद्धी भित्रिएर धनको कहिले अभाव हुँदैन भन्ने मान्यताले गर्दा पनि धनतेरसको महत्व समाजमा बढ्दो छ । त्यसैले हुनेखानेहरुले सुन, चाँदी, हिरालगायतका महंगा धातुहरु किन्ने चलन छ ।
यहाँका गोल्छा, दुगड, राठी, रिजाल, सारडा, जाजु, राउत, प्याकुरेल, लुनिया, कावरा लगायतका औद्योगिक र व्यापारिक घरानाले धनतेरसका दिन सगुनका रुपमा सुन र चाँदीका सिक्का, चाँदीका लोटा र दियो अनि पित्तलका भाँडा वर्तन खरिद गर्ने परम्परा छ र यसपटक पनि त्यसैलाई निरन्तरता दिने सम्बद्ध परिवारका सदस्यको प्रतिक्रिया छ ।
विगतका वर्ष यहाँका केही ठूला औद्योगिक घरनाले सुन तोलामा र चाँदी किलोमा किन्न परम्परा थियो । यसपाली मूल्य बढेका कारण चाँदी तोलामा र सुन ग्राममा किन्ने स्थिती रहेको एक उद्योगीले क्लिकमान्डुलाई बताए ।
पुरानो औद्योगिक घराना गोल्छा परिवारले हरेक वर्ष धनतेसरको दिन सुन र चाँदीका सिक्का र दिया किन्ने परम्परा छ । परिवारका सदस्य राजकुमार गोल्छाले भने,’धनतेरसमा किन्ने जिम्मा परिवारका महिला सदस्यलाई छ । उनीहरुले नै धनतेरसका लागि सामान किन्ने र परम्परालाई निरन्तरता दिँदै आएका छन् ।’
‘सुन र चाँदीको मूल्य कम हुँदा विगतमा घरका महिलाले आजको दिन दिल खोलेर सुन र चाँदी किन्थे,’ उद्योगी महेश जाजुले भने, ‘यसपटक मूल्य बढी भएका कारण सगुनका रुपमा केही सुन र चाँदी किन्ने तयारी छ । मूल्य बढी भए पनि सुन त किन्नै परो।’
धनतेसरका दिन घरको टोकनका रुपमा सुन चाँदीका सिक्का किन्दै आएको भन्दै उद्योगी एवं उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘यसपालीको धनतेसरमा बढीमा ११ तोला चाँदी र १० ग्रामसम्म सुन किन्ने पारिवारिक सल्लाह छ । विगतमा सुन चाँदी बढी किनिन्थो । यसपाली मूल्य अधिक भएकाले केही कम किन्ने तयारी छ ।’
किनमेल र आवश्यक बजेटको तयारी गर्न पत्नी रचनालाई जिम्मेवारी दिएको राठीले बताए । ‘रचनाको बजेटले नभ्याए मैले बजेट थपिदिने गरेको छु ।’
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं रिजालको औद्योगिक समूहका अध्यक्ष नविन रिजालले पनि धनतेरस खदिका लागि पत्नी नम्रतालाई जिम्मेवारी दिएका छन् । १०–२० तोला चाँदी र एकआध तोला सुन किन्ने पारिवारिक गफ भएको उनले सुनाए । ‘धनतेरसका लागि सामान किन्न श्रीमतीले बजेट बनाउने गरेकी छन्, सामान पनि उनको रोजाइको किन्छिन् ।’
राठी ग्रुपका अध्यक्ष अरुण राठीको परिवारमा धनतेरसका दिन हरेक वर्ष चाँदीका लोटा, दिया र सिक्का किन्ने परम्परा छ । यसपाली पनि त्यही परम्परालाई निरन्तरता दिने तयारी छ । राठीले भने, ‘घरमै मन्दिर छ । त्यही मन्दिरका लागि चाँदीको लोटा र दियो किन्ने पारिवारिक तयारी छ ।’
आषकरण राठी औद्योगिक समूहले हरेक वर्ष १०–१२ तोला चाँदी र एक दुई तोला सुन धनतेरसका नाममा आफ्नै सुनचाँदी पसलबाट घरका लागि छुट्याउँदै आएको छ । यसपाली पनि त्यही परम्परालाई निरन्तरता दिने तयारी रहेको समूहका अध्यक्ष नन्दकिशोर राठीले जानकार दिए । ‘आफ्नै सुनचाँदी पसल (राठी सिलभर गोल्ड) छ । त्यही पसलबाट हरेक वर्ष पत्नी शान्तीदेवीले धनतेरसका दिन घरका लागि केही तोला चाँदी र सुन छ्ट्याउने गरेकी छन्,’ उनले भने ।
उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष एवं उद्योगी सुयस प्याकुरेलको परिवारमा पनि यसपालीको धनतेरसमा टोकनका रुपमा सुन र चाँदीका सिक्का किन्ने तयारी छ । ‘हामी हरेक वर्ष धनतेरसमा सुन र चाँदीका केही सिक्का किन्ने गर्छौं,’ प्याकुरेलले भने । प्याकुरेल परिवारले हरेक वर्ष धनतेरसका दिन खासै भौतिक तामझाम गर्ने परम्परा नभएको र यसको जिम्मा घरका महिला सदस्यलाई दिइएको उनले बताए । ‘उनीहरुले घरको परम्परा र आवश्यकता अनुसार सुन र चाँदीका सिक्का किन्छन्,’ प्याकुरेलले भने ।
विराटनगरमा सुन र चाँदीका सय भन्दावढी पसल छन् । ति पसलमा मंगलवार ग्राहकको भीड छ । सुन चाँदीका पुराना कारोबारी विजय हाउसका विजय राठीले भने, ‘धनतेरसमा हरेक वर्ष सुन र चाँदीका सिक्का नै किन्ने प्रचलन छ । यसपाली पनि त्यही प्रचलन देखिएको छ । तर सुन र चाँदीको मूल्य वृद्धिका कारण यसपाली टोकनका रुपमा मात्र सुन र चाँदीका सिक्का किन्ने ग्राहाकको भीड पसलमा लागेको छ ।’
विगतमा आजको दिन चाँदी किलोसम्म र सुन तोलामा किन्ने ग्राहाक धेरै आउने गरेको भए पनि यसपाली चाँदी तोलामा र सुन ग्राममा किन्ने ग्राहक बढी भएको उनको भनाइ छ ।