सिमलताल बस दुर्घटना प्रतिवेदन: यी हुन् अध्ययन कार्यदलले भेटेका प्रमुख ४ कमजोरी



काठमाडौं । सिमलताल क्षेत्रको कमजोर भूगोल र अत्यधिक क्रस स्लोपका कारण सिमलताल बस दुर्घटना प्रतिवेदनमा उल्लेख गरिएको छ ।

काठमाडौं आउँदै र जाँदै गरेका दुई बस सिमलताबाट त्रिशुलीमा खसेर बेपत्ता भएका थिए जसमा ६२ यात्रु सवार रहेका थिए । जसमध्ये ३ जना पौडेर बाँच्न सफल भएका थिए ।

उक्त बस दुर्घटनामा परेका मध्ये चौबिस जनाका शव फेला परेको छ जसमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको छ ।

अझै ३५ जना हराइरहेका छन् भने दुई वटै बससमेत फेला परेका छैनन् । बसको खोजीका लागि नेपाल र भारतका सुरक्षाकर्मीले खोजे पनि फेला पर्न सकेको छैन ।

बस दुर्घटनापछि सरकारले अध्ययन गर्न गत असार ३१ गते गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा ६ सदस्यीय सिमलताल दुर्घटना अध्ययन कार्यदल गठन गरेको थियो । यो कार्यदललाई अध्ययन गरी प्रतिवेदन बुझाउन १० दिनको अवधि दिइएको थियो । उक्त समयमा अध्ययन सम्पन्न नभएपछि पुन ७ दिनको समय थपिएको थियो ।

समितिलाई घटना के, कसरी र कसको लापरवाही वा कमजोरीले भएको थियो, घटनामा वेपत्ता भएका तथा ज्यान गुमाएका यात्रुका परिबारलाई के कस्तो राहत उपलब्ध गराउन सकिन्छ र आगामी दिनमा यस्ता घटना हुन नदिन विभिन्न निकायले चाल्नुपर्ने कदमहरु के के हुन सक्छ भन्ने बिषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन उक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो।

उक्त अध्ययन कार्यदलले सोमबार प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ ।

नारायणगढ –मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान करिब अढाई बजे काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र सोही समयमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००६ ख १५१६ नम्बर को एञ्जल डिलक्स यात्रुवाहक बस सिमलताल डेब्रिज बहावमा परेर एकै साथ त्रिशुली नदीमा खसेको थियो । ३ जना यात्रु नदीमा पौडीएर बाँच्न सफल भएका थिए ।

यि हुन् दुर्घटनाका प्रमुख कारण :

प्रतिवेदनमा आफूखुशी सडक निर्माण गर्ने परीपाटी र सडक विभागले समेत गम्भीर बिषयमा ध्यान पुर्याउन नसक्दा सिमलताल दुर्घटना निम्तिएको उल्लेख गरिएको छ ।

उक्त स्थानमा उचित इन्जिनियरिङ्ग डिजाइन बिना नै सडक खनिएको र सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोच बिना कटिङ्गबाट मात्रै सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो र बर्षासँगै आएको ठूलो परिमाणको डेब्रिजका कारणले धकेलिएर त्रिशुली नदीमा खसेर दुईवटा बस दुर्घटनामा परेको सिमलताल दुर्घटना अध्ययन कार्यदलले निश्कर्ष निकालेको छ ।

प्रतिवेदनअनुसार सडक छेउको पाखामा थुप्रिएको र सडकमासमेत टेवा पर्खाल निर्माण नहुँदा बर्षाको समयमा उक्त स्थानमा पहिरो गएर ति दुवै बसलाई माथिबाट आकस्मिक रुपमा आइपुगेको डेब्रिजले धकेलेर त्रिशुली नदीमा खसालेको अध्ययन कार्यदलले निश्कर्ष निकालेको छ ।

कार्यदलले सडक फराकिलो बनाउने क्रममा पहाडको भित्ता काट्दा वातावरणीय पक्षका सवालमा गम्भिरताका साथ ध्यान पुर्याउन नसक्दा पहिरोको उच्च जोखिम निम्तिएको औल्याएको छ । सिमलतालमाथिको पहाडी क्षेत्रमा हालै ग्रामिण सडक(सिमलताल–बाङ्गेसाल–डुम्रेगाउ) खनिएको थियो । त्यो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र उक्त स्थानमा उचित इन्जिनियरिङ्ग डिजाइन बिना सडक खनिएको पाइएको छ ।

सडक निर्माण गर्दा कट एण्ड फिल एप्रोटमा कार्य नगरी कटिङ्गबाट मात्रै सडक बनाउदा अत्यधिक मात्रामा निस्केको माटो सडक छेउको पाखामा त्यतिकै फ्याकिएको अवस्थामा पाइएको थियो । साथै सडकमा टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक बर्षाको समयमा उक्त स्थानमा पहिरो जाने र उक्त पहिरो नै डेब्रिज बहावको श्रोत बनेर डेब्रिज बग्दै सिन्दुरे खोल्सा हुँदै तलतर्फ झर्दा खोल्साको तल्लो भागमा पहिरो जाने क्रम सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।

खोल्सामा केही बर्ष पहिले बनेको चेक ड्याम तथा ग्याविन वालले पहिरोको चाप थेग्न नसकेर बाढीसँगै आएको ठूलो परिमाणको लेदो, गेग्रान र डेब्रिजले सडक क्रस गर्दै गरेको दुईवटा सवारी साधनलाई धकेलेर त्रिशुली नदीमा खसालेको प्रतिवेदनमा उल्लेख छ ।

भरतपुर महानगरपालिकाले बडा नं.२९ अन्तर्गत सिमलताल–बाङ्गेसाल–डुम्रेगाँउ सडक खण्ड निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान दिएको नपाइएको कार्यदलले ठहर गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरले डेब्रिज सफा गर्दा सडकको माथिल्लोतर्फको थुप्रिएको डेब्रिज बगेर सडकतिरै आउन सक्छ भन्ने बिषयमा गम्भिर रुपमा ध्यान नदिएको पाइएको छ ।

सडक सुरक्षा सम्बन्धी एकीकृत सूचना प्रणालीको विकास नभएको कारण सडकको अवस्थाबारे सबारी चालकले पूर्वानुमान गर्न नसकेको र सुरक्षाकर्मीले सवारी रोक्न आवश्यक नठानेका कारण पनि उक्त दुर्घटना भएको कार्यदलले ठहर गरेको छ ।

सडक दुर्घटनाका दृष्टिले निक्कै जोखिमपूर्ण मानिएको उक्त सडक खण्डमा ठूलो बर्षा भइरहेको र रातिको समयमा सबारी साधन चलाउँदा सेफ्टी फस्र्ट भन्ने मूल बिषयमा ध्यान दिएर अत्यन्त सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्नु पर्नेमा गम्भीर त्रुटी गरिएको पाइएको प्रतिवेदनले औंल्याएको छ ।

बेपत्ता र ज्यान गुमाएका परिबारलाई कस्तो राहत ?

कार्यदलले सिमलताल सवारी दुर्घटनालाई प्राकृतिक प्रकोपको कारण भएको भन्दै उक्त दुर्घटनामा मृत्यु भएका मृतकको परिबारलाई प्रति मृतक दुई लाख रुपैयाँ र एकै परिबारमा एकभन्दा बढी सदस्यको मृत्यु भएको अवस्थामासमेत प्रति मृतक दुई लाख रुपैयाँका दरले निजको परिबारलाई राहत उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएको छ ।

वेपत्ता भएका यात्रुको हकमा समेत मृतक सरह क्षतिपूर्ति निजको परिबारलाई उपलब्ध गराउन सुझाव कार्यदलले दिएको छ । यस्तै बस दुर्घटनामा मृत्यु भएर शब समेत फेला परी सनाखत भएका १९ जना र सोही दुर्घटनामा वेपक्ता भएका ४० जना यात्रुको हकमा सरकारले पछिल्लो समयमा गरेको निर्णयको आधारमा वेपत्ता भएका व्यक्तिका परिबारलाई समेत दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउनुपर्ने कार्यदलले सिफारिश गरेको छ ।

असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाढी पहिरोजस्तो विपद्जन्य घटनाका कारण वेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसकेको यकिन भएमा त्यस्तो प्राकृतिक विपद्बाट पीडित व्यक्तिका परिबारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

सिमलताल बस दुर्घटनामा परी वेपत्ता भएका व्यक्तिको शब परीक्षण प्रतिवेदन नहुने भएकाले त्यस्ता व्यक्तिको परिबारले पाउने यात्रु बिमा वापतको क्षतिपूर्ति रकम स्थानीय प्रशासनको प्रतिवेदनको आधारमा बीमा कम्पनीले उपलब्ध गराउने गरी सम्बन्धित निकायमा पत्राचार गरी सहजीकरण गर्न कार्यदले सुझाव दिएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरुको उपचार निःशुल्क रुपमा सरकारले गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

३० यात्रु जोगाउने बिकलाई सम्मान गर्न सिफारिश

असार २८ गते राति नै नारायणगढ–मुग्लिन सडक खण्डको सत्रकिलो भन्ने स्थानमा सडकको माथिबाट लेदोसहित पहिरो जाँदा पहिरोसँगै तल झरेको ढुङ्गा बुटबलबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमा ठोक्किएको थियो । बसमा ढुङ्गा ठोक्किदा उक्त बसका चालक नवलपरासी सुनवल ४ का ३६ बर्षीय मेगनाथ विक गम्भिर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

बस चालक विकले कुशलतापूर्वक उक्त बस नदीमा खस्नबाट रोकेर ३० जना यात्रुको जीवन जोगाउन सफल भएको हुँदा उनलाई राज्इको तर्फबाट मरणोपरान्त सम्मान प्रदान गर्न कार्यदलले प्रतिवेदनमार्फत सरकारलाई सिफारिश गरेको छ ।


क्लिकमान्डु