संसद्‍ भवन निर्माणबारे सभामुख: लेटेस्ट टेक्नोलोजीमा कम्प्रोमाइज नगर्नू, तर ढिलो भइसक्यो



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित अधिकारीहरुसँगको छलफलमा उनले असन्तुष्टि व्यक्त गरेका हुन् । निर्धारित समयमा निर्माण सम्पन्न नहुने सम्भावना बढिरहँदा सभामुखले यसबारे चासो देखाएका हुन् ।

सभामुख घिमिरेले उक्त भवनको निर्माणका कार्य आगामी मंसीरभित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाएका थिए । उनले भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराएका थिए ।

भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाइ थियो ।

सभामुख घिमिरेले भनेका छन्, ‘लेटेस्ट टेक्नोलोजी जे हो, त्यो कुरालाई प्रयोग गर्ने कुरामा हामीले कन्जुस्याइँ गर्नु हुँदैन । किनभने भवन बारम्बार बनाइरहने कुरा होइन । नयाँ भवन बनाइँदैछ । र खासगरी यो टेक्निकल कुराहरुमा साउण्ड सिस्टमदेखि लिएर सबैमा लेटेस्ट टेक्नोलोजी प्रयोग गर्नुपर्छ । त्यो गर्दा हामीले हिजो ठेक्का गर्दा पुरानो टेक्नोलोजी के थियो, अब यो ५/७ वर्षको बीचमा धेरै प्रगति भएर आएको छ । त्यो प्रगतिलाई यसमा मिसाएर, त्यसलाई एडप्ट गर्नेगरी जाने हो ।’

यसका लागि केही अफ्ठेराहरु भए त्यसलाई फुकाएर भए पनि अहिले आएको नयाँ प्रविधि प्रयोग गर्नुपर्ने सभामुख घिमिरेको भनाइ थियो । यस्तै नयाँ प्रविधि जडान गर्न कुनै कम्प्रमाइज नगर्ने पनि उनले सुझाव दिएका थिए । तर निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

‘यस्ता कुरामा कम्प्रोमाइज नगरी जाँदा के अप्ठयारो छ, नीतिगत अप्ठयारो के छ, आर्थिक अप्ठेरो के छ ? यी कुराहरु गर्न जरुरी छ । तर मुख्य कुरा चाहिँ कामको प्रगति सन्तोषजनक छैन । र यसलाई टाइमभित्रै सक्ने कुरामा चाहिँ मंसिरभित्र सक्ने गरी कागज गरेको भन्नुभयो । आज साउन ४ हो । मंसिरसम्म त्यो सम्भव नै छैन नि । यही स्पिडले त सम्भव नै छैन । २ सिफ्टमा काम गर्ने भन्ने पनि गफमा नै सीमित भयो । म नै यहाँ आएको झण्डै २ वर्ष भयो । एक सिफ्टका लागि पनि चाहिने म्यानपावरहरु प्रयोग भएको देखिँदैन,’ सभामुख घिमिरेले भने ।


क्लिकमान्डु