बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा राखेर मुद्दा पुर्पक्ष गराउन पाउने आदेश दिएको हो । भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीक थापालाई प्रहरीले आइतबार साँझ बौद्धबाट पक्राउ गरेको थियो । उनीसँग बेचन झालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार अदालतबाट थापाविरुद्ध आदेश आएलगत्तै उनलाई केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ । नेपाली नागरिकहरुबाट करोडौं रकम संकलन गर्दै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि तत्कालीन गृहमन्त्री वालकृष्ण खाँण, पूर्वमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी लगायतका उच्चपदस्थ व्यक्तिहरु पक्राउ परेका थिए ।

तीमध्ये रायमाझी र उनका छोरा सन्दीपसहित ७ जना थुनामै छन् भने खाँणसहित आङटावा शेर्पा धरौटीमा रिहा भएका छन् ।


क्लिकमान्डु