गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौं: निधि



मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

उनले भने, “राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बृहत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ ।”


क्लिकमान्डु