आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिन्छः अर्थसचिव मरासिनी



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि पुग्ने दाबी गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्ति व्यवस्थापनसम्बन्धी छलफलमा बोल्दै अर्थसचिव मरासिनीले यस्तो दाबी गरेका हुन् ।

उनले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएकाले आगामी आर्थिक वर्ष २०८१/०८२मा आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुर्‍याउन सकिने अवस्था रहेको बताए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ६ प्रतिशत मात्रै आर्थिक वृद्धिको लक्ष्य राखे पनि ७ प्रतिशतसम्म पुर्‍याउन सक्ने सम्भावना रहेको बताए ।

सचिव मरासिनीले अर्थतन्त्र सही बाटोमा अघि बढेको र आर्थिक गतिविधि पनि चलायमान हुँदै गएको बताए । उनले अर्थतन्त्रमा वाह्य क्षेत्र सुधार हुँदै गएको र निर्यात पनि बढेको अवस्था रहेको बताए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केही लचकताको पछिल्लो समय परिणाम पनि देखिँदै आएको पनि दाबी गरे ।

उनले मौद्रिक नीतिको समिक्षा पछि घरजग्गाको कारोबार,राजश्व र पुँजीबजारमा पनि केही सुधारहरु भइरहेको बताए । उनले अब बैंकिङ कर्जामा पनि सुधार हुँदै जाने उल्लेख गरे ।

उनले वाणिज्य बैंकहरुसँग भएको लगानी योग्य रकम लगानी गर्न सक्नुपर्ने बताए । उनले सरकारले अर्थतन्त्रको अवस्थालाई हेरेर बजेटको साइज र राजश्वको लक्ष्य निर्धारण गरेको बताए । उनले पुँजीगत खर्चको लागि विगतका वर्षहरुको भन्दा आगामी वर्षको लागि केही बजेट वृद्धि गरेर ३५२ अर्ब पुर्‍याएको बताए ।

मरासिनीले यसो भने

अर्थतन्त्रमा वाह्य क्षेत्र सुधार हुँदै गएको र निर्यात पनि बढिरहेको अवस्था छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा केही लचकताको पछिल्लो समय परिणाम पनि देखिँदै आएको छ । घरजग्गाको कारोबार पनि केही बढेको र राजश्व जेठ महिनामा बढेको छ । पुँजीबजारमा पनि केही सुधारहरु भइरहेको छ ।

बैंक कर्जामा पनि सुधार हुँदै जान्छ । वाणिज्य बैंकहरुसँग भएको लगानी योग्य रकम लगानी गर्न सकुन् भन्ने अर्थमन्त्रालयको धारणा हुन्छ । ६ सय अर्ब रुपैयाँ बजारमा लगानी गर्नु पर्ने भयो । अर्थतन्त्रको अवस्थालाई हेर्दा अर्थमन्त्रालयले बजेटको साइज र राजश्वको लक्ष्य राखेका छौं । त्यहाँ भन्दा बढी सरकारसँग गर्न सक्ने ठाउँ थिएन । पुँजीगत खर्चको लागि पनि विगतका वर्षहरुको भन्दा केही बजेट वृद्धि गरेर ३५२ अर्ब राखेका छौँ । चालु वर्षमा ३०२ अर्ब मात्रै थियो ।

खर्चको तुलनामा ६३ प्रतिशत बजेट बढाएका छौं । सरकारले बजेट मार्फत आगामी आर्थिक वर्षको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेका छौं । पहिला वास्तविकता भन्दा पनि अनुमानको आधारमामा ७ देखि ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राख्ने तर लक्ष्य भन्दा तल खुम्चने हुन्थ्यो । तर यो वर्ष वास्तविकतामा आधारित भएर लक्ष्य राखेकाले ६ प्रतिशत भन्दा पनि ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ ।

सबैले आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सहयोग होस् । बैंकहरुमा भएको लगानी योग्य ६ सय अर्ब रुपैयाँ बजारमा लगानी होस् । बजेटले आइटी र पर्यटन लगायत धेरै विषयहरु खोलेको छ । सम्भावनाका क्षेत्रहरुमा बैंकहरुले लगानी बढाउन आवश्यक छ।


क्लिकमान्डु