प्रधानमन्त्रीलाई गगनको सुझाव: नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहहरूलाई दिइने समानीकरण अनुदान कटौती गर्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यो उनीहरुको अधिकार भएकाले संघीय सरकारले बकस दिएको जस्तो गर्न नहुने बताए ।

‘संघीय सरकारले बकस दिएको जस्तो गरेको छ, यसपालि पनि त्यस्तै भयो । स्रोत छैन भनेर सात प्रतिशत समानीकरण अनुदान कम गरेर दिने भन्ने कुरा आएको छ,’ थापाले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने ? यो अस्वीकार्य छ।’

प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय सरकार प्रमुखहरूले समानीकरण अनुदान १०० प्रतिशत नै चाहिने भनेर भनेको भन्दै थापाले त्यसलाई टार्न नमिल्ने बताए ।

प्रधानमन्त्रीले आफ्नो मन भएको भए पनि मन्त्रीहरुले नमानेको बताए । ‘तर प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै थापाले भने, ‘यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।’


क्लिकमान्डु