विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भन्दै लगानी बोर्ड खारेज गर्न सांसद सुवालको माग



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले यस्तो बताएका हुन् ।

विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको सो बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क छ ।

सांसद सुवालले काठमाडौं उपत्यका भित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि माग गरे । काठमाडौं उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरु यहाँबाट हटाउनुपर्ने उनको भनाइ थियो ।

सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाईमारी बाघ पोस्ने खालको नीति भएकाले त्यो ठिक नभएको उनको भनाइ छ ।

हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पूँजीको रजाई गर्ने खालको सरकारको नीति रहेकाले त्यसमा सहमत हुन नसकिने पनि सांसद सुवालले बताए ।


क्लिकमान्डु