अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितता दिएर आर्थिक अनुशासनहिनता देखाउनुभयोः सांसद पन्त



काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक वर्षको बजेटमा ५ खर्ब भन्दा बढीको स्रोत सुनिश्चितता दिइएको भन्दै आपत्ति जनाएका छन् ।

उनले अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीसँग मिलेर ५ खर्बभन्दा बढीको स्रोत सुनिश्चितता गरेर आर्थिक अराजकता र अनुशासनहिनता देखाएको आरोप लगाए ।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पन्तले कुन–कुन अर्थमन्त्रीको पालामा यसरी बजेटमा स्रोत सुनिश्चितता गर्ने काम गर्‍यो ? भनेर स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।

विकास आयोजनामा बजेट नभएको बेलामा सरकारले त्यसरी स्रोत सुनिश्चितताको पत्र केही मन्त्रालयलाई दिने काम गर्नु आर्थिक अनुशासनको उल्लंघन भएको उनको जिकिर छ ।

सांसद पन्तले केही मन्त्रालयलाई सरकारले स्रोत सुनिश्चतताको पत्र दिएपछि विकास आयोजनाको काम अघि बढन नसकेको अवस्था आउने भएकाले त्यस्ता कुरालाई सरकारले नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए ।

सांसद पन्तले यसो भने

एउटा विश्वसनीय स्रोतले नै मलाई भनेको के छ भने यो त सबै अहिलेको अर्थमन्त्रीले गर्नु भएको होइन होला । ५ खर्ब ८५ अर्ब अर्थात छ खर्व रुपैयाँभन्दा बढी रकमको बजेट सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ । ५ खर्ब भन्दा बढिको स्रोत सुनिश्चितताको पत्र अर्थ मन्त्रालयले दिइसकेको छ विभिन्न मन्त्रालयहरुलाई ।

अब त्यो ५ खर्वको स्रोत सुनिश्चितता कसरी गर्ने ? अनि यो पालि बजेटमा छुट्टयाइएको विकास योजनाहरुलाई बजेट कहाँबाट जुटाउने ? यो त उहाँको मात्र होइन, ५÷५ खर्बको स्रोत सुनिश्चितता त्यतिकै दिएको होइन होला । खोज्नु परेन । यसले हाम्रो अर्थ मन्त्रालयमा देखिएको आर्थिक अराजकता र अनुशासनहिनतालाई देखाउँछ ।

कुन, कुन अर्थमन्त्रीको पालामा गयो त्यसरी ? बजेट छैन, रकम छैन, तर पनि स्रोत सुनिश्चितता दिनुभयो । त्यो स्रोत सुनिश्चितता हुनासाथ के गर्छ ? टेण्डर गर्न पाउँछ । अनि ठेकदारले पैसा पाउँदैन । अनि काम हुन्छ ? त्यसैले मैले भनेको यो छ खर्वमा त धेरै त यो भन्दा अगाडिको अर्थ मन्त्रीज्युहरुको होला । यसले के देखाउँछ ? यसले के देखाउँछ भने आर्थिक अनुशासनहीनता रह्यो है भन्ने देखाउँछ । त्यसैले यो आर्थिक अनुशासनहिनतालाई यस पल्ट कन्ट्रोल गर्नुपर्छ ।


क्लिकमान्डु