एलन मस्कले भने- ‘एआईले हामी सबैको काम खोसिदिनेछ’



“एउटा प्रश्नले अवश्य पनि अर्थ राख्छ- यदि कम्प्युटर र रोबोटले हरेक काम तपाइँले भन्दा राम्रोसँग गर्न थाल्यो भने तपाइँको जीवनको के अर्थ ?”

एजेन्सी । स्पेस एक्सका संस्थापक एवं प्रसिद्ध उद्यमी एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वका सबै मानिसको काम खोस्‍ने बताएका छन् । तर यसबाट नआत्तिनु नपर्ने उनको सुझाव छ । मस्कले बिहीबार टेक कन्फ्रेन्समा एआईबारे बोल्ने क्रममा भने, ‘सम्भवत हामी कसैसँग पनि काम हुने छैन ।’

पेरिसमा आयोजित भिभाटेक २०२४ लाई वेबक्याम मार्फत् सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस क्रममा मस्कले भविष्यको अवस्थाबारे चर्चा गर्दै रोजगारीहरु अब वैकल्पिक हुने दाबी गरेका छन् ।

“यदि तपाइँलाई जागिर खान मन लाग्यो भने त्यसलाई हबी वा सोखको रुपमा खान सक्नुहुन्छ,” मस्कले भने “तर तपाइँलाई चाहिने सबै सामान र सेवाहरु एआई र रोबोट्सले नै उपलब्ध गराइदिनेछ ।” तर यस्तो अवस्थामा पुग्नका लागि विश्वव्यापी रुपमा उच्च आयको आवस्यकता पर्ने उनको भनाइ छ । साथै भविष्यमा सामान र सेवाको अभाव नहुने पनि उनले बताएका छन् ।

पछिल्लो केही वर्षयता एआईको क्षमता यति तीब्र रुपमा बढिरहेको छ कि कम्पनी र उपभोक्ताहरुले यसको जिम्मेवारीपूर्ण तरिकाले कसरी उपयोग गर्ने भनेर बहस हुन थालेको छ । साथै एआई विस्तारको क्रममा उद्योग र र जागिरहरु कसरी परिवर्तन वा रुपान्तरण हुनेछन् भनेर विज्ञहरुले चासो देखाइरहेका छन् ।

गत जनवरीमा एमआईटीका कम्प्युटर साइन्स र एआई ल्याबमा अनुसन्धानकर्मीहरुले के पत्ता लगाए भने एआईको उपयोग अपेक्षा गरेभन्दा ज्यादै सुस्त गतिमा भइरहेको छ । साथै पहिले एआईलाई जोखिममा पारेका अधिकांश कामहरु त्यस समयमा रोजगारदाताहरुका लागि आर्थिक रुपमा फाइदाजनक नभएको पनि रिपोर्टले उल्ले गरेको छ ।

यद्यपि उच्च भावनात्मक बुद्धि, सिर्जनात्मक र मानव अन्तरक्रिया आवश्यक पर्ने धेरै कामहरुलाई एआईले भविष्यमा प्रतिस्थापन नगर्ने विज्ञहरुले भन्दै आएका छन् । जस्तै मानसिक स्वास्थ्य, साहित्य सर्जक र शिक्षकहरुलाई यसले प्रतिस्थापन नगर्ने विज्ञहरुको भनाइ छ ।

बिहीबार मस्कले एआईबारे उठेका चासो र चिन्ताबारे बोलेका थिए । र प्रविधि आफ्नो ठूलो चिन्ताको विषय रहेको पनि उनको भनाइ थियो । ‘कल्चर बुक सिरिज’को उदाहरण दिँदै उनले भविष्यको एक उत्कृष्ट एआई सिर्जना यस्तो हुने बताएका थिए । यसैबीच एआईले भविष्यमा रोजगारीमुक्त समाज निर्माण गरे पनि मानिसहरु भावनात्मक रुपमा पूर्ण महसुस गर्लान् कि नगर्लान् भनेर मस्कले आशंका व्यक्त गरे ।

“एउटा प्रश्नले अवश्य पनि अर्थ राख्छ कि यदि कम्प्युटर र रोबोटले हरेक काम तपाइँले भन्दा राम्रोसँग गर्न थाल्यो भने तपाइँको जीवनको के अर्थ हुन्छ ?” मस्कले तर्क गरेका छन्, “मलाई लाग्छ कि यसमा मानिसका लागि पनि कुनै भूमिका हुन्छ । हामी एआईलाई पनि हामी अर्थ दिन सक्छौं ।”


क्लिकमान्डु