विश्वका अतिधनाढ्यको सम्पत्तिमा २% कर लगाएर गरिबलाई बाँड्ने बहस, वर्षमा ३३३ खर्ब उठ्ने



एजेन्सी । विश्वका अति धनाढ्यहरुको आम्दानीमा कर लगाएर गरिबहरुमा वितरण गर्ने बहस सुरु भएको छ । गरिबी, असमानता तथा जलवायु संकटको सामना गरिरहेका संसारभरका मानिसहरुका लागि उक्त रकम खर्च गर्नुपर्ने विज्ञहरुले तर्क गरिरहेका छन् ।

विकसित देशहरुको संगठन जी २० को बैठकमा पनि यो मुद्दा जोडदार रुपमा उठेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ब्राजिल, जर्मनी, स्पेन र दक्षिण अफ्रिकाले यस्तो एजेन्डा उठाउँदै हस्ताक्षर गरेका थिए ।

संसारका धनीहरुको सूची प्रकाशन गर्ने फोर्ब्स अर्बपतिहरुको पछिल्लो सूचीमा करिब ३ हजार जना समावेश छन् । ति अर्बपतिहरुबाट कम्तीमा २ प्रतिशत ‘वेल्थ ट्याक्स’ उठाएर उक्त रकम विपन्न समुदायमा खर्च गर्न प्रस्ताव गरिएको छ । यसरी २ प्रतिशत मात्रै कर उठाउँदा वार्षिक २५० बिलियन अमेरिकी डलर ( करिब ३ सय ३३ खर्ब नेपाली रुपैयाँ) उठ्ने छ ।

यसरी संकलन हुने रकमले असमानता घटाउनुका साथै जलवायु संकट, महामारी र सैन्य संघर्षका कारण उत्पन्न हुने आर्थिक झट्कापछि सार्वजनिक कोषको रुपमा काम गर्ने उनीहरुको धारणा छ । यस्तै यो अभियानमा जोडिन उनीहरुले अन्य देशहरुलाई पनि आग्रह गरेका छन् ।

असमानता र सार्वजनिक वस्तुको वित्तपोषणविरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने समय भएको भन्दै उनीहरुले यस्तो एजेन्डा उठाएको बताएका छन् ।

फ्रेन्च अर्थशास्त्री गाब्रियल जुकम्यानका अनुसार यो योजनाका लागि अब प्राविधिक व्यवस्थापनबारे विस्तृत रुपमा सार्वजनिक गरिने र जुन महिनामा हुने जी २० बैठकमा फेरि यसमाथि छलफल हुनेछ । अतिधनाढ्यहरुको सम्पत्तिको करको विषयमा फ्रान्सले समर्थन दिने संकेत गरेको, ब्राजिलले यसका लागि प्रोत्साहन गरिरहेको र अमेरिकाले समर्थन नगरे पनि बिरोध नजनाउने द गार्डियनको समाचारमा उल्लेख छ ।

अर्बपतिहरुले हाल तिर्दैआएको करको दर वैज्ञानिक र व्यवहारिक नभएको तर यसरी सबैभन्दा धेरै कर तिर्ने क्षमता भएकाहरुले सबैभन्दा कम कर तिर्ने कुराको कसैले पनि समर्थन नगर्ने अर्थशास्त्रीहरुको भनाइ छ ।

यसै वर्ष प्रकाशित अक्सफामको रिपोर्ट अनुसन्धान अनुसार कोरोना महामारीको समयमा र पछि अर्बपतिहरु २०२० माभन्दा ३४ प्रतिशतले धनी भए । अर्थात् २०२३ को अन्त्यसम्ममा उनीहरुले ३ दशमलब ३ ट्रिलियन कमाए ।

यस्तै विश्व बैंकको एक अध्ययनले पनि महामारीको बेला गरिबी न्यूनीकरण रोकिएको जनाएको छ ।

यद्यपि प्रणालीगत कमजोरीका कारण अर्बपतिहरुले आयकरलाई कम गर्नसक्ने अर्थशास्त्रीहरु बताउँछन् । जवकि अर्बपतिहरु आफ्नो आयकरको ०.५ प्रतिशतसम्म कर तिर्ने गर्छन् । यसैले पनि करप्रणालीले निश्चितता, पर्याप्त राजस्व र सबै नागरिकलाई समान व्यवहार गर्ने कुरामा विश्वास गर्न कठिन हुने उनीहरुको भनाइ छ ।

यस्तै ट्याक्स हेभनको प्रयोगलाई रोक्न कदम चाल्नु आवश्यक रहेको यो एजेण्डा उठाउने देशका नेताहरुले भन्दै आएका छन् ।
मोनाको वा जर्सीमा बस्ने तर बेलायत, फ्रान्स लगायतका देशबाट कमाउनेहरुले आफ्नो कर घटाउने गरेकाले त्यस्ता धनाढ्यहरुलाई नियन्त्रण गर्न यस्तो योजना अगाडि सारिएको पनि बताइन्छ ।

अर्बपतिहरुबाट कर उठाउने यो प्रस्तावप्रति आम मानिसहरुको व्यापक समर्थन रहेको पनि अर्थशास्त्री जुकम्यान बताउँछन् । जुकम्यानका अनुसार एउटा सर्वेक्षणमा यस एजेन्डाका लागि ८० प्रतिशत सहभागीहरुले समर्थन जनाएका थिए ।
त्यसो त, सुपर रिचहरुले यो योजना स्वीकार गर्नेमा अर्थशास्त्रीहरुको आशंका छ । साथै उनीहरुले मिडिया प्रयोग गर्नेदेखि सरकारहरुसँग लबिङ गरेर योजना विफल पार्न खोज्नेमा अर्थशास्त्रीहरु चिन्तित छन् ।

यी हुन् विश्वका सबैभन्दा १० धनी

विश्वका धनीहरुको सूची प्रकाशन गर्ने विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार हाल विश्वमा २,७८१ डलर अर्बपतिहरू रहेका छन् । जुन गत वर्षको तुलनामा १४१ बढी हो ।

फोर्ब्सका अनुसार विश्वका अर्बपतिहरु पहिलेभन्दा झन् धेरै धनी भएका छन् । कुल मूल्यमा १४२ खर्ब अमेरिकन डलर अर्थात् सन् २०२३ भन्दा २० खर्ब अमेरिकी डलर बढी कमाएर उनीहरुले कीर्तिमान कायम गरेका छन् ।

डलर अर्बपतिहरुको कुल संख्यामध्ये ८१३ जना अमेरिकी छन् । चीनका ४७३ र भारतका २ सय जना छन् ।

अर्बपतिको सूचीमा रहेका दुई तिहाइ सदस्यहरू एक वर्ष अघिभन्दा बढी धनी भएका छन् भने एक चौथाइको मात्र धन घटेको छ ।

फ्रेन्च अर्बपति बर्नार्डको सम्पत्ति २३३ बिलियन अमेरिकी डलर रहेको फोर्ब्समा उल्लेख छ।

यस्तै, टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्क सूचीको दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति १९५ बिलियन अमेरिकी डलर रहेको छ । फोर्ब्सका अनुसार तेस्रोमा जेफ बेजोस र चौथोमा मार्क जुकरबर्ग छन् । उनीहरुको सम्पत्ति क्रमश: १९४ बिलियन र १७७ बिलिन अमेरिकी डलर रहेको छ ।

यस्तै पाँचौमा ओरेकलका संस्थापक ल्यारी इलिसन छन् । उनको कूल सम्पत्ति १४१ बिलियन अमेरिकी डलर छ ।

वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेट आफ्नो १३३ बिलियन डलर सम्पत्तिका साथ छैठौं स्थानमा छन् भने माइक्रोसफ्टका संस्थापक बिल गेट्स १२८ बिलियन अमेरिकी डलर सम्पत्तिका साथ सातौं स्थानमा छन् ।

माइक्रोसफ्टका पूर्व सीईओ स्टिभ बाल्मर कूल सम्पत्ति १२१ बिलियन डलरका साथ आठौं तथा भारतका रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी ११६ बिलियन डलरका साथ नवौं स्थानमा छन् । अम्बानी एकमात्र टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी हुन् । उनी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् ।

गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति ११४ बिलियन अमेरिकी डलरसहित विश्वका दसौं अर्बपति हुन् ।

नेपालको एकमात्रै डलर अर्बपति विनोद चौधरी सूचीको १ हजार ७६४ औं नम्बरमा छन् । उनको सम्पत्ति १.८ बिलियन डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ ।


क्लिकमान्डु