तारे होटेल अनुगमनमा सरकारलाई कारण देखाउ आदेश



काठमाडौं । उच्च अदालत पाटनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

विभागले केही समयअघि उपत्यकाको तारे होटेलमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद नाघेको कच्चा पदार्थबाट खाद्यान्न तयार पारिएको भन्दै विभागले १६ वटा तारे होटेललाई कारवाही गरेको थियो ।

कारवाहीको दायरामा परेका होटेलमध्ये प्यागोडा होटलले विभागले आफ्नो दायराभन्दा बाहिर गएर कारवाही गरेको भन्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेको थियो ।

होटेल व्यवसायीले आफुहरु होटेल ऐनअनुसार सञ्चालनमा रहेकाले उपभोक्ता संरक्षण ऐनअनुसार भएको कारवाही मान्य नहुने भन्दै रिट दर्ता गरेका थिए ।

रिट सुनुवाई गर्दै उच्च अदालत पाटनले आइतबार विभागको नाममा कारण देखाउ आदेश जारी गरेको हो । विभागका प्रवक्ता आनन्दराज पोखरेलले अदालतबाट आदेशको प्रतिलिपी प्राप्त नभएकाले तत्कालै केही भन्न नमिल्ने जानकारी दिए ।

विभागले फागुन १३ गतेदेखि २८ गतेसम्म तारे होटेल केन्द्रित विशेष अनुगमन गरेको थियो । अनुगमनको क्रममा १६ वटा होटेलले म्याद नाघेको मरमसला, खानेतेलसहित विभिन्न कच्चा पदार्थ होटेलमा फेला पारेको थियो ।

मानव स्वास्थ्यलाई हानि गर्ने गरी गुणस्तरहिन सामग्रीबाट खाद्यान्न तयार पारी उपभोक्तालाई उपभोग गर्न दिएको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन अन्तर्गत १६ वटै तारे होटेलबाट जनही ३–३ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

यो बाहेक ठूलो परिमाणमा म्याद नाघेको अवस्थामा पाइएको खाद्यजन्य कच्चा पदार्थ समेत बरामद गरी नष्ट गरिएको थियो ।


क्लिकमान्डु