रुपन्देहीका यी युवा किसान, जो फूलखेतीबाटै लाखौं कमाउँछन्



रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका ११ स्थित बरौलीकी शुशीला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएकी छन् । यस वर्ष चार कट्ठामा उनले फूल खेती गरेकी छन् ।

यस वर्ष तिहार केही ढिलो पर्दा उनको फूलबारीमा दसैँअघि नै फूल फुल्न सुरु गरेको थियो । ‘यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो,’ उनले भनिन्, ‘तिहारमा पनि फूलको माग पनि बढेको छ, यस वर्ष दसैँ र तिहारमै फूलको राम्रो व्यापार भएको छ ।’

एउटा मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताइन् ।

यो वर्ष पाँच लाखजति आम्दानी हुने उनको अनुमान छ । भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न भने गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ ।

चाडपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । फूल खेतीप्रति युवा आकर्षित छन् । फूलको आयात रोक्न युवा लागेका छन् । भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्सर्न एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन् । सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएका समेत फूल टिप्न र माला बनाउन व्यस्त छन् ।

फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पनि पाँच जना युवा मिलेर चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएका छन् । कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक छन् । सुरुमा दुई लाख लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब ३० लाख बढी लगानी पुगेको उनीहरुको भनाइ छ ।

गत वर्ष आठ कट्ठामा फूल खेती गरिएकोमा अहिले १५ कट्ठामा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताए । उनीहरुले दाङ र अर्घाखाँचीमा पनि जग्गा भाडामा लिएर फूल खेती गरेका छन् ।

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा २० र फूलको प्रतिकिलो ५० रुपैयाँ सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला सय र सयपत्री फूल प्रतिकिलो ५५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन् । कृषि पढ्दै गरेका १७/१८ जना विद्यार्थी ओजेटिको लागि आएको उनले बताए ।

माला भण्डारण गरी राख्न ‘कोल्ड स्टोर’को अभावमा पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको उनको गुनासो छ । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा भाडा तिरेर स्टोर गर्ने गरेका छन् ।

बुटवलमा पहिलो पटक व्यावसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लामा पुगेर फूल खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । अहिले वार्षिक २०–२५ कृषक समूह र विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणका लागि आउने गरेको कुँवरले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँ मिलमा फूलखेती गर्दै आएका युवा व्यवसायी सुरज गुप्ताको परिवारका ६ जना दाजुभाइ यसैमा सक्रिय छन् । करिब ६ दशकदेखि नर्सरी व्यवसायमा जमेका गुप्ता परिवार तीन पुस्ता यसै व्यवसायमा रहेको गुप्ता बताउँछन् ।

जिल्लाका विभिन्न ६ स्थानमा करिब आठ बिघा क्षेत्रफलमा नर्सरीको प्लान्ट सञ्चालन गर्दै आएको र त्यसैबाट पूरै परिवारनै चलेको उनले बताए ।

यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका ६ भगलापुरका झविन्द्र पौडेलले यस वर्ष करिब एक बिघा जग्गामा सयपत्री फूल खेती गरेका छन् । सात वर्षदेखि पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका पौडेलले गाईपालन र फूलखेती गर्दै आएको हुन् ।

तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने फूल व्यवसायी बताउँछन् । नेपालमा करिब ६ सय किसिमका फूल पाइने भए पनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ ।

लुम्बिनी प्रदेश फूलखेतीका लागि अनुकूल र सुहाउँदो हावापानी छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती हुने गरेको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बरालीले लुम्बिनी प्रदेशका सबै जिल्लामा फूल खेती राम्रो हुने बताइन् ।

निर्देशनालयको तथ्यांकअनुसार प्रदेशका १२ जिल्लाको २८ हेक्टर क्षेत्रफलमा यस वर्ष फूलखेती भएको छ । लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको र लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको बागवानी विकास अधिकृत बरालीले जानकारी गराइन् ।

बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ । प्रदेशका बाह्रवटै जिल्लामा फूल व्यवसाय प्रवर्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवालाई फूलखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम भएको उनले बताइन् ।


क्लिकमान्डु