विकास बैंकमा पोखरेलीको एकाधिकार, कहाँ चुक्यो काठमाडौं ?



काठमाडौं । बैंकिङ क्षेत्र पनि एउटा व्यवसाय हो । व्यवसायको मुख्य उद्देश्यमा पर्छ- नाफा । त्यसैले त जहिल्यै पनि लगानीकर्ताको मुख्य चासो बैंकको नाफासँगै जोडिएको हुन्छ ।

बैंकले जतिधेरै नाफा कमायो, त्यसका लगानीकर्ताहरुले त्यतिधेरै लाभांस पाउँछन् । त्यसैले कुनैपनि सूचिकृत कम्पनीहरुले आफ्नो वित्तीय प्रतिवेदन सार्वजानिक गर्दा सबैको ध्यान नाफा कति कमाएछ भन्नेतिरै जान्छ ।

बैंकको अवस्था कस्तो छ भनेर विश्लेषण गर्नका लागि धेरै सूचकहरु छन् । जस्तैः चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिसेयर आम्दानी, सेयर मूल्य, सम्पत्तिमाथिको प्रतिफललगायत ।

काठमाडौंको तुलनामा पोखराको संस्कार नै राम्रो भएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे, जसकारण पोखरामा खुलेका बैंकहरु ठूलो हुँदै गए भने काठमाडौंम खुलेकाहरु टिक्न सकेनन् ।

त्यसोभए अहिले नेपालमा सञ्चालनमा रहेका विकास बैंकहरुको अवस्था कस्तो छ त ? कुन विकास बैंक मजबुत छ त ? भनेर यी नै सूचकका आधारमा विश्लेषण गरिएको छ ।

विकास बैंकको व्यवसायमा पोखराले एकाधिकार कायम गरेको छ । काठमाडौंमा च्याउसरी खुलेका विकास बैंकहरु मर्ज र एक्वायर भएर बिलिन भइसकेका छन् भने पोखरामा खुलेकाहरु भने स्तरोन्नति भई काठमाडौं आएर आफ्नो एकाधिकार जमाएका छन् ।

हाल सञलनमा रहेका ११ वटा राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये ७ वटा पोखराबाट कारोबार सुरु गरेका बैंक छन् । मुक्तिनाथ, कैलाश, ओम, गरिमा, सांग्रिला, कामना र गण्डकी विकास बैंक पोखराबाट क्षेत्रीय स्तरमा कारोबार सुरु गरेर अहिले राष्ट्रियस्तरमा स्तरोन्नित भएका छन् । सञ्चालमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुमा महालक्ष्मी, ज्योति, देवः, लुम्बीनी काठमाडौंबाटै कारोबार सुरु गरेका हुन् । उनीहरु मर्ज हुँदै ठूलो संस्था बनेका हुन् ।

‘पोखराको आम्दानीको क्षेत्रले पोखरा नेपालको कर्पोरेट क्षेत्र भएको पुष्टि गर्छ, त्यसैले यहाँ खुलेका बैंकहरु झाँगिदै गए,’ सांग्रिला डेभलपमेन्ट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली भन्छन् ।

राजधानीमा केन्द्रीय कार्यालय राखेर १४ वटा विकास बैंक खुलेका राष्ट्रिय स्तरमा खुलेका थिए । अहिले उनीहरुको अस्तित्व समाप्त भइसकेको छ । नेपाल विकास बैंक, गोर्खा विकास बैंक, मनकामना विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, सोसियल डेभलमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, यति डेभलपमेन्ट बैंक, एस डेभलपमेन्ट बैंक, एक्सिस डेभपलमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक, काष्ठमाडप डेभलपमेन्ट बैंकको नामनिशाना नै छैन ।

 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने नीति लिनूअघि विकास बैंकहरुको संख्या ८६ वटासम्म पुगेको थियो । च्याउसरी बैक तथा वित्तीय संस्थाहरु भएपछि राष्ट्र बैंकलाई अनुगमन तथा निरिक्षण गर्नसमेत हम्मेहम्मे पर्यो ।

बैंकिङ राम्रोसँग नबुझेकाहरु सञ्चालक, व्यवस्थापक भए । जसले बैंकको संस्थागत सुशासन तथा वित्तीय स्वास्थ्य कमजोर बनाउँदै लग्यो । र, यही कुराको महशुस गर्दै राष्ट्र बैंकले संख्या घटाउने उद्देश्यले मर्जर तथा एक्वायरसम्बन्धी नीति ल्यायो ।

२०७२ साउन ७ गते मौद्रिक नीति सार्वजानिक गर्दै राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा राष्ट्रियस्तरका विकास बैंकहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब २० करोड, १ देखि ३ जिल्ले विकास बैंकको ५० करोड हुनुपर्ने व्यवस्था गरेको थियो ।

‘काठमाडौंको तुलनामा पोखरा कर्पोरेट छ, त्यहाँ ऋण खाएपछि तिनुपर्छ भन्ने भावना पनि अलि बढी छ,’ डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्षसमेत रहेका मुक्तिनाथ विकास बैंकका सीइओ भरतराज ढकाल भन्छन्, ‘जसकारण त्यहाँका बैंकले प्रवाह गरेको धेरै कर्जा असल भइदियो । तर, काठमाडौंमा तीब्र प्रतिस्पर्धाले जथाभावी लगानी गर्नुपर्ने अवस्था थियो ।’

राष्ट्र बैंकको यस्तो नीति आउनुअघि नै विकास बैंकहरु मर्जरमा जान थालिसकेका थिए । यो नीतिसँगै मर्जरमा जाने संस्थाहरुको संख्या ह्वात्तै बढ्यो । पछिल्लो चार वर्षको अवधिमै विकास बैंकहरुको संख्या आधाभन्दा बढीले घटेको छ ।

अहिले देशभर ४० वटा विकास बैंक सञ्चालनमा छन् । जसमध्ये राष्ट्रियस्तरका ११ वटा छन् । अझै पनि केही विकास बैंकहरु मर्जर र एक्वायरको पाइपलाइनमा छन् ।

 

महालक्ष्मी पहिलो

महालक्ष्मी विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा ७० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको ५५ करोड रुपैयाँ फिर्ता (राइटव्याक) गरेपछि बैंकको नाफा बढेको हो । यो बैंक विभिन्न संस्थासँग मर्ज हुँदै ठूलो भएको हो ।

बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ भने सञ्चित कोष १ अर्ब ७ करोड रुपैयाँ छ । बैंकले गत २५ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन र कर्जा प्रवाहबाट बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कूल कर्जामा बैंकको खराब कर्जा ३.६३ प्रतिशत छ ।

गण्डकी दोस्रो

नाफाका आधारमा गण्डकी विकास बैंक दोस्रो स्थानमा छ । बैंकले गत आर्थिक वर्ष ५४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले व्याज आम्दानीबाट नै यति धेरै नाफा कमाउन सफल भएको हो । बैंकले १ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । करिब ३ करोड रुपैयाँ राइटब्याक राइटब्याक गरेको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ८४ करोड रुपैयाँ छ भने ९३ करोड ४९ लाख रुपैयाँ रिजर्भ छ ।

आर्थिक वर्ष २०७३/०७४ मा बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंक पनि मर्जरमा गएर ठूलो बनेको हो । कूल कर्जामा खराब कर्जाको अनुपात ०.४० प्रतिशत मात्रै छ । यो बैंकपोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको बैंक हो ।

कैलाश तेस्रो

लगातार ३/४ वर्ष नाफा लगायत सबै हिसाबले पहिलो नम्बरमा रहेको कैलाश विकास बैंक गत आर्थिक वर्ष भने नाफाका आधारमा तेस्रो स्थानमा पुगेको छ । गत वर्ष बैंकले ५० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब २९ करोड रुपैयाँ छ भने रिजर्भ ९८ करोड ७३ लाख रुपैयाँ छ ।

बैंकले १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले व्याजबाट ८७ करोड ७६ लाख रुपैयाँ कमाएको छ । बैंकले २ करोड ८७ लाख रुपैयाँ राइटब्याक गरेको छ । बैंकले प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अनुपात ०.८८ प्रतिशत छ । यो बैंक पनि पोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको बैंक हो ।

मुक्तिनाथ चौथो

नाफाका हिसाबले गत आर्थिक वर्षमा मुक्तिनाथ विकास बैंक चौथो नम्बरमा परेको छ । यो बैंक स्थापना भएदेखि अहिलेसम्म एउटा पनि संस्थासँग मर्जर वा एक्वायरमा गएको छैन । यो बैंकले गत वर्ष ४९ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ छ भने रिजर्भमा ७७ करोड ६० लाख रुपैयाँ छ ।

बैंकले १६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकले पनि १ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको राइटब्याक ६० लाख रुपैयाँ मात्रै छ । बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको अनुपात पनि अत्यन्तै नगण्य अर्थात् ०.२ प्रतिशत मात्रै छ । यो बैंक पनि पोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको बैंक हो ।

ओम पाँचौं

नाफाका आधारमा धेरै कमाउने विकास बैंकहरुको सूचिमा ओम डेभलपमेन्ट बैंक पाँचौं स्थानमा छ । गत वर्ष बैंकले ४३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ भने रिजर्भ ७५ करोड रुपैयाँ छ । बैंकले १६ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने कूल कर्जामा खराब कर्जाको मात्रा ०.९० प्रतिशत छ ।

लुम्बीनी छैठौं

नाफाका आधारमा लुम्बीनी विकास बैंक पाँचौं स्थानमा परेको छ । विभिन्न संस्थाहरु सँग मर्ज भई बैंकले आफ्नो नाम परिवर्तन गरेको हो । लुम्बीनी हुनुअघि यो बैंकको नाम भिवोर विकास बैंक थियो । बैंकले गत वर्ष ३७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब छ भने रिजर्भ ९४ करोड ९२ लाख रुपैयाँ छ ।

बैंकले १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेकोमध्ये २.७३ प्रतिशत खराब कर्जा छ । एक वर्षको अवधिमा बैंकले ८० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कामना सातौं

नाफाका आधारमा कामना सेवा विकास बैंक छैंठौं नम्बरमा छ । यो बैंकले गत वर्ष ३४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ८२ करोड रुपैयाँ छ भने रिजर्भ ६१ करोड ३५ लाख रुपैयाँ छ । बैंकले १२ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ब्याज आम्दानीबाट ७५ करोड रुपैयाँ कमाएको छ । यो बैंक पनि पोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको बैंक हो ।

सांग्रिला आठौं

नाफाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक छैठौं नम्बरमा परेको छ । बैंकले गत वर्ष ३४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ छ भने ५७ करोड ५८ लाख रुपैयाँ रिजर्भ छ । गत वर्ष बैंकले १घ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ७१ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले प्रवाह गरेकोमध्ये ०.६० प्रतिशत खराब कर्जा छ । यो बैंक पनि पोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको हो ।

गरिमा नवौं

राष्ट्रियस्तरका विकास बैंकहरुको सूचिमा गरिमा विकास बैंक नाफाका आधारमा सातौं स्थानमा छ । बैंकले गत वर्ष ३४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ भने रिजर्भ ६२ करोड ५५ लाख रुपैयाँ छ । गत वर्ष बैंकले १४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंके एक वर्षको अवधिमा ७४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले प्रवाह गरेको कूल कर्जामा ०.२४ प्रतिशत खराब कर्जा छ । यो बैंक पनि पोखराबाट स्तरोन्नति भएर काठमाडौं आएको बैंक हो ।

देवः १०औं

नाफाका आधारमा देवः विकास बैंक १०औं स्थानमा छ । बैंकको चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ छ भने ४७ करोड ६४ लाख रुपैयाँ रिजर्भ छ । गत वर्ष बैंकले १० अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५५ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । बैंकले प्रवाह गरेको मध्ये १.२४ प्रतिशत रहेको छ ।

ज्योति एघारौं

राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये नाफाका आधारमा ज्योति विकास बैंक अन्तिम नम्बरमा छ । बैंकले गत वर्ष २६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब १२ करोड ९० लाख रुपैयाँ छ भने रिजर्भ ४६ करोड १४ लाख रुपैयाँ छ । बैंकले गत वर्ष १० अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले प्रवाह गरेको कर्जामध्ये ०.७४ प्रतिशत खराब कर्जा छ ।

कसरी चम्क्यो पोखरा ? किन चुक्यो काठमाडौं ?

काठमाडौंको तुलनामा पोखराको संस्कार नै राम्रो भएको बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे । जसकारण पोखरामा खुलेका बैंकहरु ठूलो हुँदै गए भने काठमाडौंम खुलेकाहरु टिक्न सकेनन् ।

‘खुल्ला लाइसेन्सिङ पोलिसिका कारण देशभर नै बैंक खोल्ने होडबाजी थियो एकताका तर जससँग काम गर्ने राम्रो संस्कार थिया, उनीहरु जमिरहेका छन्, लहडमा बैंक खोलेका र काम गर्न आवश्यक पर्ने कल्चरमा पनि केही कमीकमजोरी भएकाहरु टिक्नै सकेनन्,’ राष्ट्र बैंकको पोखरा कार्यालयको प्रमुखसमेत भएर काम गरिसकेका पाण्डेले सुनाए ।

यत्तिमात्रै होइन, पोखरामा कर्पोरेट कल्चरसमेत छ । क्वालीटी रेमिट्यान्स, पर्यटन व्यवसाय, कृषि र अन्य व्यवसाय पोखरा क्षेत्रको मूख्य आम्दानी हो ।

‘पोखराको आम्दानीको क्षेत्रले पोखरा नेपालको कर्पोरेट क्षेत्र भएको पुष्टि गर्छ, त्यसैले यहाँ खुलेका बैंकहरु झाँगिदै गए,’ सांग्रिला डेभलपमेन्ट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली भन्छन् ।

पारिवारिक स्वार्थलाई बैंकमा स्थान नदिई व्यवसायिक ढंगले बैंक चलाउनु पर्छ भन्ने प्रवद्र्धक तथा सञ्चालकले संस्कारले पोखराका बैंकहरु देशमै स्थापित हुन पगेको बताउँछन् कैलाश विकास बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पाण्डेका अनुसार पोखराको कल्चर काठमाडौंमा बसेर बैंक चलाउनेहरुसँग भएन । उनीहरुमा कसरी बैंकलाई ठूलो र व्यावसायिक बनाउनेतर्फ भन्दा पनि कसरी चाँडै नाफा कमाउने भन्नेमा केन्द्रित भयो ।

‘काठमाडौंमा कसरी धेरै कमाउने भन्नेमा तीब्र प्रतिस्पर्धा भयो, जसले बैंकहरुलाई झन कमजोर बनायो,’ पाण्डे भन्छन्, ‘मोफसलका बैंकहरु राजधानीमा सियो भएर छिरे अहिले फाली भएर निस्कन सफल भए ।’

पाण्डेको तर्कसँग डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्षसमेत रहेका मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल पनि सहमत छन् ।

‘काठमाडौंको तुलनामा पोखरा कर्पोरेट छ, त्यहाँ ऋण खाएपछि तिनुपर्छ भन्ने भावना पनि अलि बढी छ,’ ढकाल भन्छन्, ‘जसकारण त्यहाँका बैंकले प्रवाह गरेको धेरै कर्जा असल भइदियो । तर, काठमाडौंमा तीब्र प्रतिस्पर्धाले जथाभावी लगानी गर्नुपर्ने अवस्था थियो ।’


पुष्प दुलाल