दसैं बिदामा पनि इन्धन बिक्री हुने, चाडवाडले बढ्यो माग



काठमाडौं । नेपाल आयल निगमले दसैंको बिदामा पनि इन्धन बिक्री गर्ने भएको छ । दसैं बिदाको समयमा सवारी साधन र उपभोक्तालाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन निगमले प्रादेशिक कार्यालयहरुमार्फत पेट्रोल पम्पहरुलाई इन्धन बिक्री गर्ने कार्ययोजना सार्वजनिक गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार बागमती प्रादेशिक कार्यालय थानकोट, लुम्बिनी प्रादेशिक कार्यालय भलवारी, गण्डकी प्रादेशिक कार्यालय पोखरा, मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज, कर्णाली प्रादेशिक कार्यालय सुर्खेत, कोशी प्रादेशिक कार्यालय विराटनगरलगायतले दसैं बिदाको समयमा पनि डिपो खोलेर स्थानीय पेट्रोल पम्पहरुलाई इन्धन बिक्री गर्न व्यवस्था मिलाइएको छ ।

दसैं बिदाको समयमा पनि अमलेखगन्जस्थित पाइपलाइनको अपरेसनसम्बन्धी काम नियमित सञ्चालन हुने उनले जानकारी दिए । निगमले थानकोट र लुम्बिनी प्रादेशिक कार्यालय भलवारी डिपोबाट पनि आगामी शनिबार (सप्तमी), सोमबार (नवमी) र बिहीबार (द्वादशी) का दिन पनि इन्धन बिक्री गर्नेछ ।

गण्डकी प्रादेशिक कार्यालय पोखराले भने आइतबार र बिहीबार डिपो खोलेर इन्धन बिक्री गर्ने निगमले जनाएको छ । कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले शनिबार इन्धन बिक्री गर्नेछ भने कोशी प्रादेशिक कार्यालय विराटनगरले शनिबार र बिहीबार इन्धन बिक्री गर्नेछ ।

दसैंको समयमा नियमित इन्धन उपलब्ध गराउन निगमका सबै कार्यालयले कर्मचारीलाई तयारी अवस्थामा राखेको छ । निगमले प्रादेशिक कार्यालयहरुबाट आवश्यकताअनुसार इन्धन खरिद गरी पर्याप्त परिमाणमा स्टोरेज राख्न पनि पम्प सञ्चालकहरुलाई आग्रह गरेको छ ।

बिदाको दिन सबै पम्प खुलाः प्रधान

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले दसैं बिदाको समयमा उपत्यकाका पेट्रोल पम्प सञ्चालनमा रहने जानकारी दिए ।

‘बिदाको दिनमा उपभोक्ता र सवारी साधनलाई इन्धन अभाव हुन नदिन उपत्यकाभित्रका सेना, प्रहरी, सशस्त्र र साझाका पम्प नियमित रुपमै सञ्चालनमा रहनेछन्,’ उनले भने, ‘टीकाको दिन बिहान १२ बजेसम्म निजी क्षेत्रका कुनै-कुनै पम्प बन्द भए पनि १२ बजेपछि सबै पम्प पूर्ववत् रुपमा सञ्चालनमा ल्याउन हामीले आन्तरिक रुपमा परिपत्र गरेका छौं ।’

अत्यधिक परिमाणमा हवाई इन्धन बिक्री

दसैं लागेसँगै इन्धनको खपत बढेको छ । हवाई इन्धनको खपत भने अत्यधिक परिमाणमा बढेको हवाई इन्धन डिपो सिनामंगलले जनाएको छ ।

सिनामंगल डिपो प्रमुख प्रदिप यादवका अनुसार दसैं मनाउन घर जाने यात्रुका कारण आन्तरिक जहाजको उडान संख्या थपिएको र वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अत्यधिक बढेका कारण अन्तर्राष्ट्रिय जहाजको उडान पनि थपिँदा हवाई इन्धनको खपत अत्यधिक बढेको हो ।

उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सबैभन्दा बढी बुधबार आन्तरिक र अन्तर्राष्ट्रिय जहाजमा खपत हुने हवाई इन्धनको बिक्री भएको छ । बुधबारमात्रै आन्तरिक र अन्तर्राष्ट्रिय जहाजमा खपत हुने दुई थरी हवाई इन्धन गरी कुल ७५३ किलोलिटर (७ लाख ५३ हजार लिटर) बिक्री भएको छ ।

सामान्य समयमा आन्तरिकतर्फ ६० किलोलिटर (६० हजार लिटर) खपत भइरहेको हवाई इन्धनको बिक्री अहिले बढेर दैनिक ९० किलोलिटर (९० हजार लिटर) सम्म पुगेको छ ।  ‘जहाजको उडान संख्या थपिएका कारण हवाई इन्धनको खपत निक्कै बढेको हो,’ डिपो प्रमुख यादवले भने, ‘बिहीबारदेखि सोमबारसम्म आन्तरिकतर्फ १ सय किलोलिटरसम्म बिक्री पुग्ने अवस्था सिर्जना भएको छ ।’

यस्तै सामान्य दिनमा अन्तर्राष्ट्रियतर्फ दैनिक ३५० किलोलिटर (३ लाख ५० हजार लिटर) बिक्री हुँदै आएकोमा घटस्थापना सुरु भएको दिनदेखि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या अत्यधिक बढेकाले सोहीअनुसार अन्तर्राष्ट्रिय जहाजको उडान संख्या थपिँदा हवाई इन्धनको खपत बढेको हो । अहिले अन्तर्राष्ट्रिय जहाजतर्फको हवाई इन्धनको बिक्री बढेर दैनिक ६५० किलोलिटर (६ लाख ५० हजार लिटर) सम्म पुगेको छ ।

उपत्यकामा पेट्रोल खपत बढ्यो, बाहिर डिजेल

दसैं लागेपछि उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारी साधनको संख्या पनि अत्यधिक बढेको छ । ठूलो परिमाणमा सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दा इन्धनको खपत पनि बढेको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको खपत बढिरहँदा उपत्यकाबाट बाहिरिने सवारी साधनका कारण उपत्यकाबाहिर भने डिजेलको खपत बढेको छ । मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख विनितमणि उपाध्यायका अनुसार महेन्द्र राजमार्ग र बीपी राजमार्गबाट ओदोरदोहोर गर्ने सार्वजनिक यातायातको चाप बढेका कारण डिजेल खपत करिब २५ प्रतिशतले बढेको छ ।

मकवानपुर, चितवन, धादिङ, सिन्धुली, खुर्कोट, भिमान, बर्दिबासलगायत स्थानका पम्पमा डिजेल बिक्री अत्यधिक बढेको छ । उपाध्यायका अनुसार अमलेखगन्ज डिपोबाट सामान्य दिनमा दैनिक ३५० किलोलिटर पेट्रोल बिक्री भइरहेको थियो, अहिले खपत बढेर ५ सय किलोलिटरसम्म पुगेको छ ।

यस्तै दैनिक ७५० किलोलिटरसम्म बिक्री हुने डिजेलको खपत बढेर १ हजार किलोलिटरसम्म पुगेको छ । थानकोट डिपोबाट सामान्य दिनमा दैनिक डिजेल ८ सय किलोलिटरसम्म बिक्री भइरहेकोमा सोमबारदेखि खपत दर बढेको छ । सोमबारमात्रै यो डिपोबाट डिजेल ७ हजार किलोलिटर र मंगलबार २ हजार ६ सय किलोलिटर बिक्री भएको थियो ।

यस्तै यो डिपोबाट सामान्य दिनमा ६ सय किलोलिटर पेट्रोल बिक्री भइरहेकोमा सोमबार ४ हजार किलोलिटर र मंगलबार ३०७ सय किलोलिटर बिक्री भएको निगमले जनाएको छ ।

थानकोट डिपोबाट काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लामा इन्धन वितरण हुन्छ । ‘उपत्यकामा पेट्रोलबाट गुड्ने सवारी साधन बढी ओदोरदोहोर गर्ने भएकाले तुलनात्मक रुपमा डिजेलका खपत दर घटेको देखिन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘तर बाहिरिने सवारी साधनका कारण उपत्यकाबाहिरको जिल्लामा डिजेलको चाप बढेको छ ।’


क्लिकमान्डु