चलचित्र क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा जोड्न आनाकानी

पाँच वर्षमा एक पटक मात्रै बक्स अफिस रिपोर्ट सार्वजनिक



काठमाडौं । मनोरञ्जन उद्योगले विश्वका विभिन्न देशका अर्थतन्त्रमा राम्रो योगदान दिने गरेका छन् । अन्य उद्योग झैं मनोरञ्जन उद्योगले रोजगारी सिर्जना गर्ने, सरकारलाई राजस्व बुझाउने अनि विदेशी मुद्रा आर्जन गर्ने पनि गर्दछन् ।

तर, नेपालको मनोरञ्जन उद्योग विशेषतः चलचित्र क्षेत्र नत अझै उद्योग बन्न सकेको छ, न त चलचित्रको व्यापारको सामान्य तथ्यांक राख्न बक्स अफिस लागु भएको वर्षौं भईसक्दा पनि देशभरका हलहरु यो प्रणालीमा आवद्ध हुन सकेका छन् । जसका कारण समग्र मनोरञ्जन क्षेत्रले नेपालको अर्थतन्त्रमा दिने योगदानको कुरै छोडौं, चलचित्र क्षेत्रको व्यापारको सही अवस्था पत्ता लगाउन पनि मुश्किल छ ।

लामो समयको रस्साकस्सीपछि पाँच वर्षअघि २०७५ साउन १ गतेबाट नेपालको फिल्म क्षेत्रमा बक्स अफिस प्रणाली लागु भएको थियो । फिल्मको टिकट काट्नेदेखि कुनै पनि फिल्मले कति आम्दानी गरेका छन् भन्ने कुरा पारदर्शी रुपमा ल्याउनका लागि प्रणाली लागु गरिएको थियो । यसबाट धेरै हदसम्म चलचित्र क्षेत्र औपचारिक अर्थतन्त्र भित्र आउने आशा थियो ।

तर, अझैं पनि बक्स अफिस प्रणाली राम्रोसँग सञ्चालनमा आउनै सकेको छैन । बक्स अफिस प्रणालीको प्रमुख काम नै सिनेमाहरुले गर्ने आम्दानी कति हुन्छ त्यसलाई पारदर्शी बनाउने भनिए पनि त्यसमा समेत आशंका गर्ने अवस्था रहेको छ ।

चलचित्र विकास बोर्डकाअनुसार देशभरमा रहेका सिनेमा हलहरुमध्ये १८ प्रतिशत सिनेमा हलहरुबाट प्रदर्शन भएका फिल्महरुको जानकारी भने अझैं पनि आउने अवस्था बनेको छैन ।

हाल नेपालभर १७१ वटा सिनेमा हलहरु विकास बोर्डमा दर्ता रहेर सञ्चालनमा रहेका छन् । यीमध्ये १४१ वटा सिनेमा हलहरु बक्स अफिस प्रणालीमा आवद्ध रहेका छन् भने बाँकी ३० वटा हलहरुमध्ये कतिपय आवद्ध भएर पनि नियमितरुपमा बक्स अफिस प्रणालीमा प्रदर्शन भएका फिल्महरुको विवरण अद्यावधिक गर्दैनन् भने कति आवद्ध भएकै छैनन् । आवद्ध भएका २० देखि २५ वटा हलहरु नियमित रुपमा बक्स अफिस प्रणालीमा प्रदर्शन भएका फिल्महरुको विवरण पनि अद्यावधिक नगर्नेमा पर्दछन् ।

चलचित्र विकास बोर्डको बक्स अफिस शाखाका अधिकृत प्रविन पाण्डेकाअनुसार कतिपय हलमा सिस्टम जडान गरिएको भएतापनि त्यसलाई चलाइएको छैन । ‘कति हलहरु मौसमी रुपमा मात्रै खुल्ने छन् । त्यहाँ बक्स अफिसको लागि प्रणाली त छ । तर, चलाइदैंन । म्यानुअल्ली नै टिकट काटिन्छ’ उनी भन्छन् ।

बक्स अफिसको जानकारी भन्दै विकास बोर्डलाई प्राप्त हुने जानकारी पनि यर्थाथ नरहेको यसले देखाउँछ । देशैभरका हलहरुमा बक्स अफिस नहुनुले विकास बोर्डले सार्वजनिक गर्ने वा प्राप्त हुने जानकारी फिल्मले वास्तवमै गरेको आम्दानी होइन भन्ने देखाउँछ ।

पाण्डेकाअनुसार यस्ता मौसमी रुपमा खुल्ने हलहरुबाट जानकारी नै प्राप्त हुँदैन ।

जानकारी अद्यावधिक भएकै आधारमा मात्रै विकास बोर्डले बक्स अफिसको कलेक्सनको बारेमा थाहा पाउने गरेको छ । तर, पाँच वर्षको अवधिमा पनि सबै हलमा बक्स अफिस लागु नहुनुले बोर्डलाई नै पनि नोक्सानी भइरहेको छ ।

विदेशी फिल्म प्रदर्शन भएको हकमा विकास बोर्डलाई प्राप्त हुने कुल टिकट बिक्रीको रकमको १५ प्रतिशत रकम पनि गुमिरहेको छ । नेपाली फिल्मको पनि व्यापारको आयतन कत्रो हो भन्ने कुरा बोर्डले सार्वजनिक गरेकै तथ्यांक सत्य नरहेको आधार यसले देखाउँछ ।

पाँच वर्षमा एक पटक बक्स अफिस रिपोर्ट सार्वजनिक

वितेका पाँच वर्षमा गत आर्थिक वर्षमा एक पटक मात्रै फिल्मले कति कमाए भन्ने विवरण सार्वजनिक गरियो । विकास बोर्डले आर्थिक वर्ष २०७९/८० भित्र रिलिज भएका स्वदेशी तथा विदेशी फिल्महरुको संकलनको रकम र काटिएका टिकटको विवरण सार्वजनिक गरेको थियो। जसअनुसार गत आवमा नेपालमा ५७ वटा स्वदेशी फिल्महरु र ७८ वटा विदेशी फिल्महरु रिलिज भएको थियो । यी स्वदेशी फिल्महरुले वर्षभरमा गरेको व्यापार ७३ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ थियो भने विदेशी फिल्मको व्यापार ७९ करोड ४३ लाख ४ हजार ६४८ रुपैयाँ थियो ।

यसरी गत आवमा नेपालमा स्वदेशी तथा विदेशी फिल्महरुले गरेको कुल व्यापार १ अर्ब ५३ करोड १५ लाख ६१ हजार ७४९ रुपैयाँको थियो ।

बक्स अफिस प्रणाली लागु भएपश्चात पहिलो पटक सार्वजनिक गरिएको रिपोर्टले वास्तवमा फिल्महरुको कमाई कुन स्तरमा छ भन्ने देखाएको थियो । यसअघिका वर्षहरुमा भने निर्माता वा निर्देशकले गरेको दाबी नै फिल्मको व्यापार हुन्थ्यो, जसको सत्यतामाथि पर्याप्त आशंका गर्ने ठाउँहरु थिए ।

तर, बक्स अफिस प्रणालीको यो तथ्यांक सार्वजनिक गर्ने चलन एकाएक रोकिएको छ । चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष लागेपछि कुनै पनि फिल्मको कति कलेक्सन भएको छ भन्ने सार्वजनिक गरेको छैन ।

निर्माता वा निर्देशकले आफ्ना फिल्मले यति पैसा कमाए भनेर दाबी गरेकोमा शंका गरेजस्तै चलचित्र विकास बोर्डले बक्स अफिसको कलेक्सन भन्दै दिने रिपोर्टलाई पनि पूर्ण मान्न सकिने अवस्था नरहेको बेला झन् अलि अलि संस्थगत हुन थालेको बक्स अफिस पनि बन्द गर्दा नेपालमा फिल्मको व्यापार कति छ भन्ने कुराको यर्थाथ जानकारी पाइन्न ।

अनौपचारिक रुपमा रहेको चलचित्र क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा जोड्ने प्रयासमा आधा दशक बित्दासमेत कुनै प्रगती हुन नसक्नुमा विकास बोर्डको असफलता अनि चलचित्रकर्मीहरुको अनौपचारिक अर्थतन्त्रप्रतिको मोह देखिन्छ । अझ केहि त चलचित्र क्षेत्रलाई कालो धन सेतो बनाउन प्रयोग गर्ने साधनको रुपमा नै राख्ने दुश्प्रयास मान्दछन् ।

चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिएर औपचारिक अर्थतन्त्रमा जोड्दा यस क्षेत्रभित्रका विविध समस्या समाधान गर्न सरकार बाध्य हुन्छ। अन्यथा, चलचित्र क्षेत्रको संस्थागत अनि ब्यावसायिक विकास हुदैन । चलचित्र क्षेत्रलाई संस्थागत तथा ब्यावसायिक बनाउने पहिलो खुड्किलो बक्स अफिस हो ।

तर, गत वर्ष प्रदर्शन भएका फिल्महरुको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बोर्डले यस आर्थिक वर्ष लागेपछि भने रिपोर्ट सार्वजनिक गर्न सकेको छैन । कतिपय चलचित्रकर्मीहरुले आफ्नो फिल्मले गरेको आम्दानी र बोर्डले सार्वजनिक गरेको विवरण नमिलेको भन्दै विरोध गरेका थिए । तर, हाल रिपोर्ट सार्वजनिक नगरिनुको कारण भने त्यतिमात्र नरहेको पाण्डेले बताए ।

पाण्डेकाअनुसार बोर्डका पदाधिकारीहरुबाट नै रिपोर्ट सार्वजनिक नगर्नुपर्ने निर्देशन आएकाले रिपोर्ट सार्वजनिक नगरिएको हो। बोर्डका हालका अध्यक्ष भुवन केसीले गत वैशाखमा मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने घोषणा गरेका थिए । उनको घोषणा भने घोषणामा नै सिमित छ ।

पाण्डे भने पदाधिकारीहरुले सम्पूर्ण हलहरुमा बक्स अफिस जडान भएको र सञ्चालनमा आएको अवस्था सिर्जना गरेर रिपोर्ट सार्वजनिक गरिन सक्ने अवस्था रहेको बताउँछन् ।

उनी भन्छन्, ‘कतिपय हलहरुबाट नियमित रुपमा विवरण आउँदैन । ठूला फिल्महरु प्रदर्शनमा आउँदा मात्रै खुल्ने हलहरुले बक्स अफिसको सिस्टम नचलेको भन्दै म्यानुअल्ली पनि टिकट काट्ने गरेको पाइन्छ । त्यसले गर्दा पनि सबै हललाई आवद्ध गराएर र सम्पूर्ण रिपोर्ट आउने अवस्था सिर्जना गरेर रिपोर्ट सार्वजनिक गर्ने तयारी भएको हुन सक्छ ।’

चलचित्रकर्मीहरुको स्वघोषित विवरण र फिल्मले वास्तवमै कमाएको रकम फरक भएको भन्दै बोर्डले सार्वजनिक गरेको रिपोर्टको आलोचना गरेको विषयमा भने पाण्डे कुनै फिल्मको निर्माण पक्षले आफ्नो फिल्मले कमाएको विवरण लिएर आएमा आफूहरुले रिपोर्ट सुधार्न पनि तयार रहेको बताए ।

उनी भन्छन्, ‘उहाँहरु हामीले निकालेको रिपोर्टमा धेरै वा कम व्यापार भएको भनेर आफूसँग भएको प्रमाणित रिपोर्ट लिएर आउनुहुन्छ भने सुधार्छौ भनेका हौं । तर, कोही आउनु भएन ।’

विवरण नबुझाउने हललाई पनि छैन कारबाही

बोर्डको बक्स अफिस प्रणाली बारेका कार्यविधि ‘बक्स अफिस प्रणाली कार्यान्वयन तथा अनुगमन कार्यविधि, २०७६’को व्यवस्थाअनुसार चलचित्र घरहरुले गलत मनसाय राखी बकस अफिस प्रणालीबाट टिकट जारी नगरि अन्य कुनै माध्यमबाट टिकट काटेको पाइएमा कारबाही गर्ने भनिएको छ ।

अनुगमनका क्रममा यस्तो पाइएमा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने भनेर कार्यविधिमा उल्लेख गरिएको छ।

बोर्डले यस्ता हलहरुको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयलाई पत्र पनि पठाएको बताउँछन् पाण्डे । तर, हालसम्म कुनै हललाई कारबाही भयो वा भएको छैनन भन्ने बारे भने कुनै जानकारी छैन । बोर्ड आफैंले कारबाही गर्ने नभएर सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत कारबाही गर्ने भएकाले कारबाही भए नभएको जानकारी नै नभएको पाण्डे बताउँछन् । यसका साथै, हलहरुले विवरण नबुझाएको विषयमा बोर्डकै प्रणालीमा पनि समस्याहरु देखिन्छन् ।

पाण्डेकाअनुसार विकास बोर्डसँग रहेको सिस्टममा मुभि कोड जेनेरेट भएका फिल्महरुको विवरण अद्यावधिक हुन्छ । यसका लागि प्रदर्शन हुने फिल्मको सेन्सर पश्चात मुभि कोड जेनेरेट गरेर हलहरुलाई प्रदान गरिन्छ ।

तर, समस्या भने कुन फिल्म कति वटा हलमा प्रदर्शन भईरहेका छन् भन्ने स्पष्ट जानकारी प्राप्त भए नभएको विकास बोर्डले नै बताउन सक्ने अवस्था छैन । उपत्यकाभित्रका हलहरुमा अनुगमन गर्न सहज भएतापनि उपत्यका बाहिर रहेका हलहरुमा त्यो असहज छ । विकास बोर्डमा बक्स अफिसको व्यवस्थापनका लागि २ कर्मचारीले काम गरिरहेका छन् ।

‘केही समयअघि म आफैं अनुगमनमा गएर आएँ’, पाण्डे भन्छन्, ‘सबै ठाउँमा अनुगमन गर्ने अवस्था छैन । मान्छे पनि छैनौं । यस्तोमा कुनै फिल्म कुन कुन हलमा चलिरहेको छ भनेर हामीलाई जानकारी वितरकले दिएमा बक्स अफिसको सिस्टममा भएको डाटासँग तुलना गरेर हेर्न सकिन्छ ।’

नेपालमा भित्रिने विदेशी फिल्म वा स्वदेशी फिल्मकै हकमा पनि वितरकसँग कुन कुन हलमा आफ्ना फिल्म चलेका छन् भन्ने जानकारी हुन्छ। विकास बोर्डको बक्स अफिस प्रणालीमा प्रदर्शन हुनुअघि फिल्मका लागि जेनेरेट गरिएको मुभि कोड हुन्छ, जसको आधारमा तथ्यांक अद्यावधिक गरिन्छ ।

यस्तोमा वितरक र बोर्डले समन्वय गर्ने हो भने कुन कुन फिल्महरु कहाँ चलेका छन् र कुन कुन हलहरुले बक्स अफिस प्रणाली प्रयोग नै नगरि फिल्म चलाइरहेका छन् भन्ने पनि थाहा हुने पाण्डे बताउँछन् ।

बक्स अफिसको पूर्वाधारको पाटोदेखि जनशक्तिको अभावका बीच पनि पाण्डे आफूहरुले काम गरिरहेको बताउँछन् । बक्स अफिस सफल वा असफल भन्दा पनि प्रणालीमा राखिएमा आफूहरुले सम्पूर्ण जानकारी पाउने र पारदर्शीता हुने उनले बताए ।तर, कतिपय हलहरुले नै आवद्धता नलिने वा लिएको हकमा पनि म्यानुअल्ली नै टिकट बेच्दा पनि प्राप्त भएका जानकारीहरु पुरा हुन वा होइनन भनेर किटान गर्ने अवस्था नरहेको छ ।


युवराज भट्टराई