ब्याजदरमा बैंकर्स संघकै अध्यक्षको बदमासी, हिजो एउटा, आज अर्कै कसरी ?



काठमाडौं । ब्याजदर निर्धारणमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसी प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेको एनएमबि बैंकले नै बदमासी गरेको छ ।

बैंकिङ प्रणालीमा साढे ४ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता थुप्रिएपछि लामो समयदेखि संघले ब्याजदरमा गर्दै आएको ‘भद्र सहमति’ खारेजी गरेर सम्बन्धित बैंकले स्वतन्त्रतापूर्वक ब्याजदर निर्धारण गर्न सक्ने वातावरण बनेपछि संघकै अध्यक्ष सीइओ रहेको बैंकले बदमासी गरेको हो ।

एनएमबि बैंकले असार ३२ गते एक दैनकि पत्रिकामा साउन १ गतेदेखि लागू हुनेगरी १० वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपमा १०.९८ प्रतिशत ब्याजदर दिने भन्दै सूचना प्रकाशित गर्यो । यो बैंकहरुले प्रकाशित गरेको सबैभन्दा बढी ब्याजदर हो ।

बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशतमा, ६ देखि ९ महिनाकोमा ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दति निक्षेपमा ९.२५ प्रतिशत बनायो। त्यसैगरी १ देखि २ वर्षको ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दति निक्षेपमा ९.७५ प्रतिशत बनायो । बैंकले साधारण बचतका विभिन्न खातामा ५.९८ देखि ७.९८ प्रतिशत र रेमिट्यान्ससम्बन्धी एनएमबी जन्मभूमि बचत खातामा ८.९८ प्रतिशत बनायो । सबै प्रकारका बचत खातामा बैंकले ब्याजदर बढायो ।

राष्ट्र बैंकको नियमअनुसार अघिल्लो महिनाको ब्याजदरमा अधिकतम १० प्रतिशतले मात्रै घटाउन वा बढाउन पाइन्छ । तर, एनएमबिले असारको ब्याजभन्दा साउनमा दिने भनेको ब्याज औषतमा १० प्रतिशतभन्दा बढीले बढाएको पाइएपछि बैंकरहरुले ब्यापक विरोध गरेका थिए ।

नेपाल राष्ट्र बैंकले २०७८ कात्तिक २८ गते जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अघिल्लाो महिनाको आधारमा औषतमा १० प्रतिशत मात्रै ब्याजदर तलमाथि गर्न पाउने छन् ।

बैंकरहरुले विरोध गरेपछि राष्ट्र बैंकले साँझ काराबाही गर्ने चेतावनीसमेत दिनुपर्‍यो । बैंकरहरुको विरोध र राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएपछि एनएमबि बैंकका सीइओ केसीले भुलवस ब्याजदर बढी भएको भन्दै माफी मागे । सोमबार संशोधन गर्ने प्रतिवद्धता जनाए । सीइओ केसीको सोही प्रतिवद्धता अनुसार बैंकले सोमबार फेरि अर्को सूचना प्रकाशित गरेर १०.९८ प्रतिशतको ब्याजदरलाई घटाएर १०.९३ प्रतिशतमा झारेको छ ।

नियामक राष्ट्र बैंकको समेत इशारामा बैंकर्स संघले भद्र सहमति खारेज गरेको थियो । अधिक तरलता भएका कारण सबै बैंकहरुले ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक हुन्छ भन्ने अपेक्षासहित भद्र सहमति खारेज गरिएको बैंकरहरु बताउँछन् ।

‘हामीले ब्याजदर घटाउने उदेश्यले भद्र सहमति खारेज गरेका हौं,’ बैंकर्स संघका एक पदाधिकारीले भने, ‘तर, अध्यक्षकै बैंकले सबैभन्दा धेरै ब्याज दिने सूचना सार्वजनिक गरेर सबैलाई चकित मात्रै पार्नुभएन, एकप्रकारको बदमासी नै गर्नुभयो । राष्ट्र बैंकको नियमको उल्लंघन गर्नुभयो ।’

आइतबार दिउँसो बैंकरहरुबीच अध्यक्ष सीइओ रहेको एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने सूचना निकालेको भन्दै ब्यापक विरोध गरे । स्मरण रहोस्, एनएमबि बैंकका अध्यक्ष पवन गोल्यान पनि बैंक तथा वित्तक कम्पनीहरुका सञ्चालकहरुको संस्था (सिबिफिन)का अध्यक्ष हुन् ।

‘बैंकर्स संघ र सिबिफिनका अध्यक्ष नै सीइओ र अध्यक्ष भएको बैंकले ब्याजदरमा यो हदसम्मको अस्वस्थ प्रतिस्पर्धा गर्नु खेदजनक छ,’ एक बैंकरले भने, ‘उहाँहरुले हामी सबैलाई झुक्याउनु मात्रै भएन, राष्ट्र बैंकको नियम पनि तोड्नुभयो ।’

जब मुद्दति निक्षेप राख्न गएका ग्राहक रिसाए

आइतबार बैंकले प्रकाशित गरेको सूचनाका आधारमा सबै मिडियाहरुले एनएमबि बैंकले १० वर्षभन्दा बढीको व्यक्तिगत मुद्दति निक्षेपमा १०.९८ प्रतिशतभन्दा ब्याज दिने भन्ने समाचार प्रकाशन/प्रशारण गरे । मिडियामा समाचार बढेर सोमबार १० बजे नै बैंकमा निक्षेप राख्न पुगेका एक ग्राहकलाई बैंकले १०.९३ प्रतिशतभन्दा बढी दिन नमिल्ने बताए ।

ग्राहकले आइतबार बैंकले प्रकाशित गरेको सूचना र आमसञ्चारमाध्यममा आएका समाचारहरु देखाए । तर, बैंकका कर्मचारीले सोमबार फेरि संशोधन गरेको सूचना देखाउँदै १०.९३ प्रतिशतभन्दा बढी दिन नमिल्ने बताए ।

ती ग्राहकले एकछिन् बैंकका कर्मचारीसँग झगडा गरे । तर, बैंकका कर्मचारीले १०.९३ प्रतिशतकै रटान लगाइरहे ।

त्यसपछि ती ग्राहकले क्लिकमान्डुमा फोन गरेर एनएमबि बैंकले आफूलाई झुक्याएको भन्दै गुनासो गरे ।

हामीले पनि संशोधन गरेको रहेछ, अब तपाईंले पाउने ब्याजदर १०.९३ प्रतिशत नै हो भनेर भन्यौं ।

त्यसपछि उनी रिसाउँदै भने- हिजो एउटा र आज अर्कै ब्याजदर भनेर झुक्याउने बैंक र त्यसका सीइओलाई कारबाही कसले गर्ने ?

यसरी बैंकहरुले हचुवाका भरमा एकै रातमा ब्याजदर परिवर्तन गर्दा लाखौं निक्षेपकर्ताहरु झुक्किन पुगेका छन् । यसरी बैंकले झुक्याइरहँदा बैंकिङ क्षेत्रप्रतिको आम सर्वसाधारणको विश्वास थप गुम्ने देखिन्छ ।

बैंकरहरुको विरोध र राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी दिएपछि सोमबार बैंकले ब्याजदर घटाएको भन्दै निकालेको सूचना


क्लिकमान्डु