घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन, ९ जनाबाटै ९० लाख कित्ता फर्जी



काठमाडौं । प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको छ । कम्पनीले आईपीओमा आवेदन खुला गरेको चौथो दिनसम्ममा १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवेदन परेको हो ।

कम्पनीले ३२ जेठदेखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासन गरेको थियो । असार ४ गते दिउँसो साढे २ सम्ममा २ करोड ४० लाख ५० हजार कित्ता आवेदन परेकोमा ५० प्रतिशत फर्जी भेटिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

फर्जी परेकामध्ये १० लाख कित्ता दरका ९ जनाले आवेदन दिएको ९० लाख कित्ता छ । त्यस्तै करिब ६ लाख कित्ताका लागि ६६ हजारजति आवेदकले १० कित्ताका दरले आवेदन दिएका छन् । फर्जी संख्या अझै बढ्न सक्ने सीडीएससी स्रोतले बतायो ।

अहिलेसम्म सार्वजनिक निष्कासन गरेका कम्पनीमा यति ठूलो सेयर संख्यामा फर्जी आवेदन परेको थिएन । यसअघि नेपाल रिपब्लिक मिडियाको आईपीओमा करिब ६ लाख कित्ताका लागि फर्जी आवेदन परेको थियो ।

ठूलो संख्यामा फर्जी आवेदन परेपछि कम्पनीको सेयरमा उच्च आकर्षण देखाउन खोजिएको रुपमा बुझिएको छ । सीडीएससी स्रोतका अनुसार १० कित्तावाला रिजेक्ट हुनुले खासै ठूलो अर्थ राख्दैन किनभने अहिले १० कित्ताका लागि हजार रुपैयाँ खातामा छ भनेर पनि आवेदन दिनेहरु हुन सक्छन् । घोराही सिमेन्टको आईपीओका लागि खातामा ४ हजार ३५० रुपैयाँ चाहिन्छ ।

तर, ९ जना आवेदकले १० लाख कित्ताका दरमा आवेदन दिनुले संशय पैदा गरेको सीडीएससीले जनाएको छ । घोराहीको प्रिमियमसहितको आईपीओमा सोमबार दिउँसो साढे २ सम्ममा ५ लाख २८ हजार आवेदकले २ करोड ४० लाख कित्ताका लागि १० अर्ब ४६ करोड ४८ लाख रुपैयाँबराबरको आवेदन दिएका छन् ।

सामूहिक लगानी कोष, कर्मचारी, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको सेयर पुरै बिक्री नभएपछि त्योसमेत थप गरेर कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो । असार ४ सम्म आवेदन दिने म्याद रहेको कम्पनीको सेयरमा मागभन्दा २ गुणा बढी आवेदन परे पनि समय थप गरिएको छ । कम्पनीले सोमबार सूचना निकालेर आवेदन भेरिफाइ भइरहेकाले म्याद थप भएको जनाएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३ सय प्रिमियम थप गरी प्रतिकित्ता ४ सय रुपैयाँको सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ । सर्वसाधारणका लागि भने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ ।

झुटा आवेदन परेमा कस्तो कारबाही हुन्छ ?

धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन परेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार कारबाही हुनसक्छ । संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएमा झुटा आवेदन ठहर्नेछ ।

संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा त्यसलाई झुटा एवं जालसाजीयुक्त कारोबार मानिने सीडीएससीले जनाएको छ ।

ऐनको दफा १०१ (३) अनुसार जालसाजीयुक्त कारोबार गर्नेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनसक्नेछ । त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएमा क्षतिपूर्तिसमेत भराउने व्यवस्था ऐनमा छ ।


सोभित थपलिया