७० को दशकमा ११६ खर्बको वस्तु आयात, नाकाबन्दी र कोरोनाले वैदेशिक व्यापार कष्टकर



काठमाडौं । आजदेखि ७० को दशक अन्त्य भई ८० को दशक सुरु भएको छ । ७० को दशकमा देखिएका विभिन्न राजनीतिक परिवर्तनदेखि आर्थिक परिवर्तनका समस्या र असन्तुष्टि थाँती राख्दै देश ८० को दशकमा प्रवेश गरेको छ ।

अर्थतन्त्रका लागि ७० को दशक केही आशा र केही निराशाको वर्ष बनेको छ । यो दशकमा समग्र उत्पादन र उत्पादकत्व घट्यो भने देश आयातमा निर्भर बन्न पुग्यो ।

सरकारी तथ्यांकअनुसार नेपालले ७० को दशकमा विश्वका विभिन्न मुलुकबाट ११६ खर्बभन्दा बढीको वस्तु आयात गरेको छ । नेपालले आर्थिक वर्ष २०७०/७१ देखि चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ११६ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँको वस्तु आयात गरेको हो ।

दशकको आयात ग्राफ हेर्दा हरेक दिन नेपाल अन्य देशमा परनिर्भर बन्दै गएको छ । हरेक वर्ष आयात बढ्दो क्रममा रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकले देखाउँछ ।

७० को दशकसम्म नेपालले एक आर्थिक वर्षमा ६ खर्ब रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको थिएन । त्यसयता आयात निरन्तर बढेर ७ खर्बदेखि गत वर्षसम्म आइपुग्दा तेब्बरले बढेको छ । 

नेपालले आव २०६९/७० मा ६ खर्ब १ अर्ब २० करोड रुपैयाँको वस्तु आयात गरेको थियो । आव २०७०/७१ मा ७ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । आयातको हिस्सा निरन्तर बढेर आव २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड पुगेको थियो, जुन हालसम्मकै उच्च हो ।

निरन्तर बढ्दो आयातले आन्तरिक उत्पादन खस्किँदै गएको छ । देशका आधाभन्दा बढी हिस्सा जनसंख्या कृषिमा आबद्ध हुँदा पनि कृषिजन्य वस्तुका लागि पूर्णरुपमा अन्य मुलुकमा भर पर्नुपरेको अवस्था छ ।

सरकारले हरेक वर्ष आयात प्रतिस्थापन गर्ने भन्दै उत्पादनमा जोड दिँदै आएको छ । तर, उत्पादन बढाउन पर्याप्त स्रोत तथा साधनको व्यवस्था नहुँदा आयात रोकिएको छैन ।

७० कै दशकमा नेपालले नाकाबन्दीदेखि कोरोनासम्मको सामना गर्नुपर्‍यो । नेपालले २०७२ मा नयाँ संविधान जारी भएपछि ६ महिना लामो भारतीय नाकाबन्दी बेहोर्‍यो । नाकाबन्दीको वर्ष नेपालले ७ खर्ब ८१ अर्ब १४ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । जबकि नाकाबन्दीअघिको वर्षमा ७ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

२०७२ को सुरुमै आएको महाभूकम्पले वैदेशिक व्यापार प्रभावित भएको थियो । त्यसमाथि भारतले लगाएको नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बनेको थियो ।

नाकाबन्दीबाट थिलोथिलो भएर पार पाउँदा पनि उत्पादन बढाउनेतर्फ कुनै प्रयास भएन । ६ महिना लामो नाकाबन्दीपछि पनि उत्पादन बढाउने रणनीति तयार गर्ने चेत आएन ।

दशकको अन्त्यतिर विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीपछि आयात उच्च बढायो भने निर्यात झनै खस्किएको छ । नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनमा फैलिएको कोरोनाले नेपाल‑चीन जोड्ने नाका बन्द गरिँदा दुईबीचको व्यापार चौपट भयो । उत्तरी नाकामा व्यवसाय गरेर बसेका स्थानीय विस्थापित भए ।

कोरोना महामारीदेखि बन्द रहेका चीनतर्फका बल्ल खुल्दै छन् । २०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी नाका चैत १८ बाट दुईतर्फी खुला भएको हो ।

यसअघि २०७८ असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो । त्यसका लागि पनि नेपाल सरकारले ठुलै प्रयास गर्नुपरेको थियो । परराष्ट्र मन्त्रालयले निरन्तर व्यापार सहजीकरण गर्न आग्रह गरेपछि २०७८ असोजमा केरुङबाट ७ ट्रक र तातोपानी भन्सारबाट १० देखि १५ कन्टेनर सामान ल्याउन दिइएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि पुस १२ गते रुसुवा नाकाबाट करिब ५२ लाख रुपैयाँबराबरको ८ कन्टेनर सामान निर्यात भएको थियो । तर, २०७६ चैतयता यात्रुको आवतजावत पूर्णरूपमा ठप्प थियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा नेपालको तर्फबाट गएको वाणिज्य सचिव मधु मरासिनी नेतृत्वको प्रतिनिधि मण्डल र तिब्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष म्यान सिलाङ निमासहितको प्रतिनिधिबीच मार्च २९ मा भएको वार्ताले सीमा नाका खुला गर्ने सहमति गरेको हो ।

चीनसँग भएको सहमतिअनुसार अप्रिल १ देखि रसुवागढी नाका दुईतर्फी खुलेको हो । तीन वर्षदेखि स्थलमार्गबाट नेपालले निर्यात गर्न नपाउँदा चीनतर्फको निर्यात लगातार घटिरहेको थियो । आगामी मे १ बाट हुम्लाको यारी नाका पनि दोहोरो व्यापार र यात्रुका लागि खुला गर्न दुई देश सहमत भएका छन् ।

हुम्लाको नाका खुला भएपछि काठमाडौं, नेपालगन्ज हुँदै हुम्ला भएर चीनको कैलाश र मानसरोवर जाने भारतीय पर्यटकको संख्या बढ्ने देखिन्छ । कोरोना महामारीयता कैलाश यात्रा बन्द हुँदा कयौं पर्यटन व्यवसायी मर्कामा परेका छन् ।

मे १ बाटै सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दोहोरो व्यापार खुला हुने भए पनि यात्रुका लागि भने खुला हुने छैन ।

उच्च आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले आयातमा लगाएको प्रतिबन्धले व्यापार प्रभावित भयो । विलासी वस्तुको आयात प्रतिबन्धले विदेशी मुद्राको सञ्चिति त बढायो तर राजस्व असुलीमा प्रभाव पर्दा सरकारको चालू खाता घाटामा गयो । सरकारको चालू खाता अहिले करिब ८६ अर्ब रुपैयाँले घाटामा छ ।

नेपाल समुद्रपार निकासी पैठरी संघका अध्यक्ष विनोदकुमार सेठिया ७० को  दशक व्यापारी व्यवसायीका लागि कष्टकर भए पनि व्यापारले उत्साह दिएको बताउँछन् । उनका अनुसार ७० को दशकमा वैदेशिक व्यापार भूकम्प, नाकाबन्दी, कोरोना र आयात प्रतिबन्धले निकै प्रभावित भयो । तर, विभिन्न बाधा र अवरोधका बीच पनि व्यापार भने उच्च दरमा बढेको उनले बताए ।

यही दशकमा रुस‑युक्रेन युद्धले मूल्यवृद्धि चुलियो । खानेतेल, पेट्रोलियम पदार्थलगायतको अप्रत्यासित मूल्यवृद्धिले उपभोक्ता व्यापक प्रभावित भए ।

निर्यातमा छैन सुधार

यो दशकमा आयातमा उत्साह देखिए पनि निर्यातमा भने निकै निराशाजनक बित्यो । समग्रमा निर्यातको तथ्यांकमा कतै पनि आशा गर्ने ठाउँ छैन ।

नेपालले आव २०७०/७१ मा ९१ अर्ब ३६ करोड १० लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि आव २०७३/७४ सम्म निर्यात निरन्तर घटेको छ । त्यसलाई भूकम्प र नाकाबन्दीको असरका रुपमा हेरियो ।

आव २०७४/७५ देखि भने निर्यात केही बढेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार आव २०७८/७९ मा नेपालले २ खर्ब रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । तर, निर्यातमा ५० प्रतिशतभन्दा बढी हिस्सा आयातित तेलको रहेकाले चालू आवमा निर्यात घट्ने देखिन्छ ।


अरिष्मा मोक्तान