वरिष्ठ उपाध्यक्षका आकांक्षीलाई मिलाउन लागेको छु, संकटको घडीमा निजी क्षेत्र एक हुनुपर्छ



चन्द्रप्रसाद ढकाललाई वित्तीय क्षेत्रमा ‘बैंकिङ बादसाह’ भन्दा फरक पर्दैन । मध्यमार्गी स्वाभाव र सकारात्मक सोच राख्ने उनी व्यवसाय सुरु गरेको ३ दशकमै ठूलो सफलता हासिल गर्न सफल भएका छन् । यही सफलताले वरिष्ठ उपाध्यक्ष ढकाललाई निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वदायी भूमिकामा पुर्‍याउँदै छ । चैत अन्तिम साता हुने निर्वाचनबाट उनी स्वत: महासंघको अध्यक्ष बन्नेछन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका आकांक्षीबीचको त्रिपक्षीय भिडन्तमा भने उनी मौन छन् । अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला महासंघले खेल्ने भूमिका, उद्योग व्यवसायको प्रवर्धनमा महासंघको नीति, सरकारलाई खबरदारी गर्ने रणनीतिलगायत विषयमा केन्द्रित रही ढकालसँग क्लिकमान्डुले गरेको कुराकानी:

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका रुपमा एक कार्यकाल बिताउनुभएको छ । कोरोना महामारी र अर्थतन्त्रमा देखिएको संकुचनका कारण यो अवधि निकै सकसपूर्ण रह्यो । आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?

वरिष्ठ उपाध्यक्ष कार्यकारी पद नभएकाले वरिष्ठ उपाध्यक्ष वा अन्य पदाधिकारीले अध्यक्षले ल्याएका कार्यक्रममाथि नै छलफल गरी कार्यान्वयनमा सघाउने हो । हाम्रो कार्यकालमा जे-जति काम भए सबै कार्यसमितिबाट छलफल र निर्णय गरी गरिएको छ । कोरोना भाइरस महामारीबीच हाम्रो कार्यकाल सुरु भएको थियो, त्यो पनि निर्धारित समयभन्दा ८ महिनापछि । त्यसैले कार्यकालको धेरैजसो समय राहत, उद्धार र मानवीय सेवामै बित्यो भन्दा पनि फरक पर्दैन । त्यसपछि पनि अर्थतन्त्रमा विस्तारै समस्या देखिन सुरु भयो, जुन अहिलेसम्म पनि कायम छ ।

यसबीचमा पनि महासंघले सामाजिक उत्तरदायित्वअन्तर्गत हेलो डाक्टर सेवा, आइसोलेसन केन्द्र स्थापना, अस्पतालमा शय्या थप्ने र अक्सिजन उपलब्ध गराउने जस्ता सामाजिक र मानवीय सहयोगका कार्यक्रम गरेको थियो, जसको नेतृत्व महासंघबाट मैले गरेको थिएँ । हामीले सुरु गरेपछि धेरै स्थानमा मानवीय सेवाको विस्तार भएको थियो ।

यस अवधिमा न्यूनतम ज्याला निर्धारणका लागि रोजगारदाताको पोजिसन पेपर बनाउनेदेखि साना तथा मझौला उद्यम सञ्चालन सहयोगी पुस्तिकासम्म करिब १०-१२ वटा अध्ययन प्रतिवेदन सार्वजनिक भएका छन् । अध्ययन अनुसन्धानमा महासंघले जोड दिएको छ । महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र, विदेशी लगानी सहायता कक्ष स्थापना र मेलमिलाप केन्द्र स्थापना गर्न कार्यविधिको मस्यौदा तयार गर्ने जस्ता काम यस अवधिमा भएका छन् ।

निर्वाचनका बेलामा विभिन्न समूहबाट सहभागी भए पनि निर्वाचनपछिका निर्णय एवं काम-कारबाहीमा देखाएको सहकार्य उदाहरणीय छ । मैले सुरु गरेको यो परिपाटिलाई निरन्तरता दिन आग्रह गर्छु ।

चैत अन्तिम सातादेखि महासंघको अध्यक्ष बन्दै हुनुहुन्छ । कोरोना महामारीपछि अर्थतन्त्रमा देखिएको सुस्तताले देशको अर्थतन्त्र आक्रान्त छ । निजी क्षेत्र ठूलो समस्यामा भएको अवगतै छ । समस्याउन्मुख अर्थतन्त्र पुनरुत्थानका लागि महासंघको अध्यक्षका रुपमा कस्तो भूमिका निर्वाह गर्ने योजना बनाउनुभएको छ ?

अहिले नेपालको अर्थतन्त्र चुनौती र अवसरका बीचमा छ । लामो समयदेखि संक्रमणकाल कायम रहेकाले अर्थतन्त्रको जति विस्तार हुनुपर्ने थियो, आर्थिक गतिविधि जति विस्तार हुनुपर्ने थियो, त्यो हुन सकेन । निजी क्षेत्रले खासगरी व्यावसायिक गतिविधि विस्तारका लागि यही कारणले पनि समस्या झेलेका हुन् । अब देशको संक्रमणकाल विस्तारै समाप्त हुँदैछ । संघीयताको व्यवस्थापन लगभग टुंगिन थालेको छ । अब विस्तारै लगानीको वातावरण बन्दै जानेछ र अर्थतन्त्र सुदृढ हुँदै जानेछ भन्ने मेरो विश्वास छ ।

महासंघको नवनियुक्त अध्यक्षको हैसियतले समग्र आर्थिक विकासमा मेरो प्राथमिकता रहनेछ । आर्थिक वृद्धि र विकासले मात्र जीवनस्तर सुधार्न, रोजगारी सिर्जना गर्न र गरिबी घटाउन मद्दत गर्न सक्छ । महासंघको यसअघि विकसित रणनीतिलाई अगाडि बढाउन लगानी र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने अनुकूल व्यावसायिक वातावरण बनाउन ध्यान दिनेछु ।

संघीयतापछि महासंघलाई प्रादेशिक संरचनाअनुसार बलियो बनाउनुपर्नेछ । यसलाई निजी क्षेत्रको छाता संस्थासँगै निजी थिंक ट्यांकका रुपमा अगाडि बढाइनेछ । अर्को महत्वपूर्ण पक्ष व्यवसायहरू, विशेषगरी साना र मझौला उद्यमहरू (एसएमई) का लागि उद्यमशीलता, इन्नोभेसन र लगानी पहुँच सुधार गर्नमा ध्यान केन्द्रित गरिनेछ । साना तथा मझौला उद्योगलाई सहयोग गर्ने नीति बनाउनेछौँ ।

त्यस्तै, निजी क्षेत्रको सुदृढीकरणका लागि उद्यमशीलता, नवप्रवर्तन र व्यवसायबीचको सहकार्यलाई बढावा दिने पहलमार्फत निजी क्षेत्रलाई बलियो बनाउनतर्फ लागिपर्नेछु । अनुकूल व्यापार वातावरण सिर्जनामा पहल, सार्वजनिक-निजी साझेदारीको प्रवर्धन, साझेदारी विस्तार, इन्नोभेसन र प्रविधि अपनाउने, उद्यमशीलता प्रवर्धन, बजार पहुँच उपलब्ध गराउने, निर्यात प्रवर्धन गर्ने, प्रतिस्पर्धा प्रवर्धन र साना तथा मझौला उद्योग र ठूला व्यवसायबीचको सहकार्यलाई बढावा दिने मुख्य प्राथमिकता हुनेछन् ।

सन् २०२६ पछि नेपाल अल्पविकसित मुलुकबाट विकासशीलमा स्तरोन्नति हुँदा निजी क्षेत्रले विदेशी व्यवसायबाट बढ्दो प्रतिस्पर्धाको सामना गर्नुका साथै अन्तर्राष्ट्रिय मापदण्ड र नियमहरू पूरा गर्न थप दबाबको सामना गर्नुपर्ने हुन्छ । यद्यपि, यो परिवर्तनले नेपाली व्यवसायलाई आफ्नो पहुँच विस्तार गर्न तथा नयाँ बजार र अवसरको फाइदा उठाउने अवसर पनि प्रदान गर्छ।

नेपाल विकासशील राष्ट्रमा रुपान्तरण भएपछि अर्थतन्त्र बढ्दै जाँदा व्यवसायीले पनि विकाससँगै आउने परिवर्तनका लागि तयारी गर्नुपर्छ । सरकार र निजी क्षेत्रले लगानी र वृद्धिलाई प्रोत्साहन गर्ने अनुकूल व्यापारिक वातावरण सिर्जना गर्न मिलेर काम गर्न सकिन्छ । त्यस्तै उद्यमशीलता र इन्नोभेसनलाई समर्थन गर्ने नीति र नियमहरू लागू गर्ने, लगानी गर्न वातावरण प्रदान गर्ने र समग्र व्यापारको वातावरण ‘इज अफ डुडिङ बिजनेस’मा सुधार गर्नमा अब सहकार्य गर्नुपर्छ ।

नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गरी विश्वबजारमा प्रतिस्पर्धी बनाउन पर्यटन, कृषि, जलविद्युत र उत्पादन जस्ता प्रमुख क्षेत्रको विकासमा ध्यान दिन जरुरी छ । विकासशील राष्ट्रमा स्तरोन्नतिसँगै नेपाल र विदेशका अन्य व्यवसायसँग नयाँ साझेदारी र सहकार्य खोज्न सकिनेछ । वैदेशिक लगानी प्रवर्धनका लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवाला निकायबीच समन्वयात्मक प्रयास आवश्यक छ ।

अर्थतन्त्रमा देखिएको मन्दीका कारण सरकारले संकलन गर्ने राजस्व एकतिहाइले घटेको छ । चालू खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आइसकेको छ । निजी क्षेत्रलाई नाफा कमाउनु त पर जाओस्, आफ्नो लगानी कसरी जोगाउने भन्ने चिन्ता बढिरहेको छ । तत्कालै आर्थिक गतिविधि चलायमान बनाएर संकटको डिलमा पुगेको अर्थतन्त्रलाई बचाउँदै कसरी सामान्य अवस्थामा ल्याएर समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्न सकिन्छ ? त्यसका लागि सरोकारवाला कुन निकायले के-कस्ता काम गर्नुपर्ला ?

अर्थतन्त्र सुधारका लागि तत्काल नीतिगत सुधार जरुरी देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको ब्याज तथा लागत कम गर्न तदअनुरुपको नीतिगत व्यवस्था गर्न जरुरी हुन्छ भने सरकारले पुँजीगत खर्च बढाउने, आर्थिक गतिविधि बढाउने र व्यावसायिक वातावरण बनाउन सहजीकरण गर्ने काम गर्न जरुरी हुन्छ । त्यस्तै व्यवसायीले पनि जिम्मेवार भएर ऋणको व्यवस्थापन गर्दै अनुत्पादक क्षेत्रमा गरेको लगानी कम गर्दै जानुपर्छ भने बैंक तथा वित्तीय संस्थाहरुले बैंकको लागत कम गर्दै असल बैंकिङ अभ्यास गर्न जरुरी हुन्छ । अहिलेको असहज समयमा एकले अर्को पक्षलाई आरोप-प्रत्यारोप लगाउनुभन्दा एकले अर्कोको समस्या बुझेर समाधान निकाल्नुपर्छ ।

केही व्यवसायी ब्याजदरको विषयलाई लिएर सडक आन्दोलनमै उत्रिएका छन् । यसले वित्तीय क्षेत्रमा गम्भीर असर गर्ने देखिन्छ । वित्तीय क्षेत्र रह्यो भने मात्रै निजी क्षेत्र बलियो हन्छ । व्यवसायी र बैंकरबीचको टकराव यसरी बढ्दै गयो भने सबैलाई हुने घाटा नै हो । यो कुरा बुझाउँदै कसरी उक्त समस्याको समाधान गर्न सकिन्छ ?

अहिले नेपालमा मात्र होइन, विश्व अर्थतन्त्रमै समस्या आएको छ । नेपालमा पछिल्लो डेढ वर्षमा मुद्दतिको ब्याज ५० र बचतको ब्याज शतप्रतिशत बढ्यो । तर, निक्षेप भने करिब ८ प्रतिशतमात्रै बढेको छ ।

बचतको ब्याज बढ्दा बैंक तथा वित्तीय संस्थाको लागत बढ्यो । यसरी बढेको लागत ह्वात्तै तल झर्दैन । त्यसैले यो समस्या बैंकहरुले मात्र सिर्जना गरेको होइन ।

यो हामी सबै मिलेर सिर्जना गरेको समस्या हो । यसमा सरकार, केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था र उद्यमी व्यवसायीको सबैको हिस्सा छ । हामी व्यवसायीले पनि सस्तो ऋण पाउँदा विवेकपूर्ण लगानी नगरेको स्वीकार गर्नुपर्छ । त्यसैले जसरी यो सबै मिलेर सिर्जना गरेको समस्या हो, यसको समाधान पनि हामी सबै मिलेर नै गर्नुपर्छ । एकले अर्कालाई दोषारोपण गरेर हुँदैन ।

अहिलेसम्म तपाईंले खेलेको भूमिकाका आधारमा तपाईंको व्यक्तिगत स्वभाव मध्यमार्गी र सकारात्मक सोचको देखिन्छ । महासंघको अध्यक्ष भइसकेपछि कतिपय विषयमा सरकारसँग विवाद पनि हुनसक्छ । कतिपय नीतिहरुको चर्को विरोध गर्नुपर्ने अवस्था पनि आउनसक्छ । प्रतिस्पर्धी संगठनहरुसँगको सहकार्य र प्रतिस्पर्धा पनि उत्तिकै जरुरी छ । यी संवेदनशील विषयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

सबै समस्याको समाधान मध्यमार्गी बाटोबाटै हुने हो । भगवान बुद्धले पनि भन्नुभएको छ- मध्यमार्गी बाटोबाट हरेक समस्याको समाधान निस्कन सक्छ । हामी निजी क्षेत्रले पनि सरकार वा नियामक निकायसँग छलफल, संवाद र सहकार्यबाट नै हरेक समस्याको समाधान खोज्ने हो । हामीले दुवै अतिवादी विचारको विरोध गर्ने गरेका छौं । आफ्ना विषय स्पष्टसँग राख्ने, त्यसको समाधानसहितको बाटो देखाउने र त्यसअनुरुप सरकार वा नियामक निकायलाई बुझाउन सक्यो भने समाधान निस्कन सक्छ । हरेक विषय लिएर सडकमा जाने वा लम्पसार परेर समाधान खोज्ने होइन ।

तपाईं महासंघको स्वत: अध्यक्ष बने पनि वरिष्ठ उपाध्यक्षलगायतका अन्य पदमा चैत अन्तिममा निर्वाचन हुँदैछ । खासगरी ३ जना वरिष्ठ उपाध्यक्षका आकांक्षी भोट माग्दै देश दौडाहामा छन् । कतिले टिम पनि घोषणा गरिसके । सबैले चन्द्र ढकालको समर्थन मलाई छ भन्दै प्रचारबाजी गरिरहेका छन् । तर, अहिलेसम्म तपाईं खुल्नुभएको छैन । भावी दिनमा महासंघ हाँक्नका लागि मलाई यस्तो टिम चाहिन्छ भनेर अहिले नै तपाईंले भनिदिए सजिलो हुन्थ्यो भन्नेहरु पनि छन् नि ! यस अर्थमा तपाईंले आफ्नो टिम बनाउनुपर्ने होइन र ?

महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्ल्याटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो । त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु । यसै शिलशिलामा महासंघका ७ वटै प्रदेशको निर्वाचन सकिएको छ । सबै प्रदेशमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको विकास गरेको छ ।

मैले महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनिरहेको छु । महासंघका केन्द्रीय नेतृत्वका आकांक्षीलाई मैले मिलेर अगाडि बढ्न र सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गरिरहेको छु।

अर्को कुरा अहिले मुलुकको अर्थतन्त्र समस्यामा छ । व्यवसायी समस्यामा छन् । हाम्रा व्यवसाय संकटमा छन् । यस्तो अवस्थामा हामीबीच एकता र सहमतिको झनै ठूलो महत्व रहन्छ । हामी एक भयौँ भने मात्र बलियो हुन्छौँ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन ।

तपाईंको तटस्थता चुनावसम्म रहला कि नरहला ?

निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा हामी विभाजन नहौऔँ । एकता र सहकार्यबाट समाधान खोजौँ । मैले त अहिलेको विधानमा रहेको ३ वर्षे कार्यकालको व्यवस्थालाई २ वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनै जना आकांक्षीलाई मिलाउन सकिन्छ भनिरहेको छु । मेरो धारणा यही हो ।

तपाईं एउटा वास्तविक व्यवसायी हुनुहुन्छ । व्यवसाय सुरु गरेको ३ दशकमै ठूलो सफलता हासिल गर्नुभएको छ । नेपालमा व्यवसाय गर्दा के-कस्ता चुनौतीको सामना गर्नुपर्‍यो ? हाम्रो नीतिमै समस्या छ कि नीति कार्यान्वयनमा ?

हरेक व्यवसायका आफ्नै चुनौती छन् र हुन्छन् । असफलताका कथा सुनिँदैनन् । हामी सफलताका कथा मात्र सुन्छौं । हामीलाई व्यवसायीले गरेको संघर्षका कथा सामान्य लाग्छन् । तर, सफल हुन गरेको दुःख, पीडा, संघर्ष र असफलता त्यो सफलताको तुलनामा धेरै गुणा बढी हुन्छन् ।

हाम्रो मुलुक लामो समय अस्थिर राजनीतिको सिकार हुन पुग्यो । पटक-पटक सरकार परिवर्तन हुने र सरकारपिच्छे मन्त्री, सचिव, नीति र कानुन परिवर्तन स्वाभाविक घटना भए । यसले व्यवसाय र व्यवसायीलाई पार्ने असर ठूलो छ । हाम्रोमा नीति र कार्यान्वयन दुवैमा उत्तिकै समस्या छन् । नीति स्थिर छैनन्, भएका नीति पनि कार्यान्वयन हुँदैनन् ।


क्लिकमान्डु