चालू आर्थिक वर्षमा २३ प्रसारणलाइन निर्माणका लागि अनुमति, ३६९ किमी प्रसारणलाइन थपिँदै
काठमाडौं । चालू आर्थिक वर्षमा विभिन्न २३ कम्पनीले प्रसारणलाइन निर्माणका लागि अनुमति लिएका छन् । माघ २४ गतेसम्म देशकाविभिन्न स्थानमा २३ वटा प्रसारणलाइन निर्माणका लागि विद्युत विकास विभागले अनुमति दिएको हो ।
गत आर्थिक वर्षमा २८ वटा प्रसारणलाइन निर्माणका लागि विद्युत विकास विभागले अनुमति दिएको थियो । विभागको तथ्यांकअनुसार आव २०७८/७९ मा २८ वटाप्रसारणलाइन निर्माणको अनुमति दिइएको थियो ।
चालूआवमा भने विद्युत विकास विभागले फागुन १९ मा अद्यावधिक गरेको तथ्यांकअनुसार २३ वटा प्रसारणलाइन निर्माणका लागि अनुमति दिएको हो ।
निर्माणका लागि अनुमति लिएका २३ मध्ये १३ वटा प्रसारणलाइन १०० किलोभोल्टको क्षमताभन्दा बढीका छन् भने अन्य आयोजना १ सय किलोभोल्टभन्दा कम क्षमताका प्रसारणलाइन छन् ।
यसरी निर्माणका लागि अनुमति दिइएका सबै प्रसारणलाइनको कुल लम्बाई ३६९.४३ किमी छ । कुल २३ मध्ये ९ वटा प्रसारणलाइनको लम्बाई १० किलोमिटरभन्दा धेरै छ भने बाँकी १३ वटा प्रसारणलाइन १० किलोमिटरभन्दा छोटा छन् ।
त्यस्तै, ७ वटा प्रसारणलाइनबाट १ सय मेगावाटभन्दा धेरै क्षमताको विद्युतीय ऊर्जा प्रसारण हुनसक्छ भने बाँकीको विद्युत प्रसारण क्षमता सय मेगावाटभन्दा कमछ ।
कुन-कुन ठाउँमा बन्दैछन् प्रसारणलाइन?
अपी पावर कम्पनीले अप्पर चमेलिया हाइड्रोपावर आयोजनाका लागि १३२ किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । १५ किलोमिटर लामो यो प्रसारणलाइनको क्षमता ४० मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण गर्ने रहेको छ । अप्पर चमेलिया हाइड्रोपावर आयोजनाको स्विचयार्डबाट सुरु हुने यो प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको बलाँच सब-स्टेसनसम्म छ ।
त्यस्तै, नेसनल सोलार पावर कम्पनीले प्रतापपुर एसपिभिबाट संयुक्त प्रसारणलाइन परियोजना निर्माणको अनुमति लिएको छ । ग्रिड जडानसहितको यो प्रसारणलाइन ३३ किलोभोल्ट क्षमताको छ । ३.७६८ किमी लामो यो प्रसारणलाइनबाट १५ मेगावाटसम्मको विद्युतीय ऊर्जा प्रसारण हुनेछ । परियोजनाको स्विच यार्डबाट सुरु हुने यो प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको गण्डक सब-स्टेसनसम्म रहनेछ ।
त्यस्तै, पिपुल्स पावरले पनि पुवा २ हाइड्रोपावर परियोजनाका लागि प्रसारणलाइनको निर्माणको अनुमति लिएको छ । ३३ किलोभोल्ट क्षमताको यो प्रसारणलाइनको लम्बाई ५ किलोमिटरछ भने ४.९६ मेगावाटसम्म विद्युतीय ऊर्जा यसबाट प्रसारण हुनेछ । यो प्रसारणलाइन पुवा २ हाइड्रोपावर परियोजनाको स्विच यार्डबाट अप्पर पुवा १ हाइड्रोपावर परियोजनाको स्विच यार्डमा जोडिनेछ ।
भुजुङ हाइड्रोपावर प्रालिले अप्पर मिदिम हाइड्रोपावर प्रसारणलाइनको निर्माणको अनुमति लिएको छ । ३३ किलोभोल्ट क्षमताको यो प्रसारणलाइनको लम्बाई २६.१३ किलोमिटर छ । ७.५ मेगावाटसम्म क्षमताको यो प्रसारणलाइन लमजुङस्थित हाइड्रोपावरको स्विच यार्डबाट नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सब-स्टेसनसम्म छ ।
त्यस्तै, मध्य सोलु हाइड्रोपावर कम्पनीले मध्य सोलु खोला हाइड्रोपावर परियोजनाअन्तर्गत १३२ किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ०.५५ किमी लम्बाई रहेको यो प्रसारणलाइनमा ९.५ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने क्षमता छ ।
युनिटेक हाइड्रोपावर कम्पनी प्रालिले अप्पर फावा खोला जलविद्युत आयोजनाअन्तर्गत रहेर ३३ किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ५.८ मेगावाटसम्मको विद्युतीय ऊर्जा प्रसारण क्षमता रहेको यो ७.२ किलोमिटर लामो प्रसारणलाइनको सुरुवात अप्पर फावा खोला जलविद्युत आयोजनाको स्विच यार्डमा छ भने यो प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको कावेलीस्थित अमरापुर सब-स्टेसनमा जडान हुनेछ ।
श्री मेवा डपलोपर्स प्रालिले १३२ किलोभोल्टको मध्यमेवा ढुंगे साँघु प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ७३.५ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने १०.७ किलोमिटरको यो प्रसारणलाइनको सुरुवात मम्यमेवा ढुंगे साँघु जलविद्युत आयोजनाको स्विच यार्डदेखि ढुंगे साँघुस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनसम्म छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले सेती नदी हाइड्रोपावर परियोजनाअन्तर्गतको १३२ किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति विद्युत विकास विभागबाट लिएको छ । ३.७किमी लामो उक्त प्रसारणलाइनमा ८४.६ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुनेछ । सेती नदी जलविद्युत परियोजनाको स्विच यार्डबाट सुरु हुने यो प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको लहचोकस्थित सब-स्टेसनमा जोडिनेछ ।
झापा इनर्जी लिमिटेडले ३३ किलोभोल्टको क्षमताको झापा सोलार पावर प्रसारणलाइन परियोजना निर्माणका लागि विद्युत विकास विभागबाट अनुमति पाएको छ । ०.७ किमी लम्बाई रहने यो प्रसारणलाइनबाट १० मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुनछ । यो प्रसारणलाइन झापास्थित परियोजनाको स्विच यार्डबाट सुरु भई बुलुचोकस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनमा जडान हुनेछ ।
त्यस्तै, १३२ किलोभोल्ट क्षमताको सेन्जेन खोला हाइड्रोइलेक्ट्रिक परियोजनाको प्रसारणलाइन निर्माणका लागि सालासुंगी पावर प्रालिले अनुमति लिएको छ । ७.५ किमी लम्बाईको यो प्रसारणलाइनबाट ७८ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुनेछ । सेन्जेन खोला जलविद्युत आयोजनाको स्विच यार्डबाट सुरु हुने यो प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणको चिलिमेस्थित सब-स्टेसन हबमा जडान हुनेछ ।
त्यस्तै, दुधपोखरी चेपे हाइड्रोपावर प्रालिले दुधपोखरी चेपे र सुपर चेपे हाइड्रोपावर परियोजनाको संयुक्त प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ३३ किलोभोल्ट क्षमताको यो प्रसारणलाइन २४ किमी हुनेछ भने यसमा १७.८९ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुन सक्छ । यो प्रसारणलाइन उक्त जलविद्युत आयोजनाको स्विच यार्डबाट सुरु भएर नेपाल विद्युत प्राधिकरणको कीर्तिपुरस्थित सब-स्टेसनमा जडान हुनेछ ।
मेन्चियाम हाइड्रोपावर प्रालिले अप्पर पिलुवा खोला-२ हाइड्रोपावरका लागि ३३ किलोभोल्टको प्रसारणलाइन निर्माण गर्ने अनुमति लिएको छ । १२ किमी लम्बाईको उक्त प्रसारणलाइनमा १२.४२ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुन सक्छ । यो प्रसारणलाइनको सुरुवात अप्पर पिलुवा खोला-२स्थित जलविद्युत आयोजनाको स्विच यार्डबाट भएर बानेश्वरस्थित सब-स्टेसनमा जडान हुने विद्युत विकास विभागले जनाएको छ ।
सेवा हाइड्रोलिमिटेडले ३३ किलोभोल्ट क्षमताको १४ किमी लम्बाई भएको ३.४४ मेगावाटसम्म विद्युत प्रसारण हुन सक्ने लोवर सेलाङ हाइड्रोपावरअन्तर्गतको संयुक्त प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । यो प्रसारणलाइन लोवर सेलाङ परियोजाबाट सुरु भएर नेपाल विद्युत प्राधिकरणको चौतारास्थित सब-स्टेसनमा जडान हुनेछ ।
हिमालयन हाइड्रोपावरले नमार्जुन मादी हाइड्रोपावर परियोजनाअन्तर्गतको १३२ किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । यो प्रसारणलाइनको लम्बाई ४.६ किमी छ । १२ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने यो प्रसारणलाइन नमारजुन मादी जलविद्युत आयोजनाको स्विच यार्डबाट सुरु भएर अप्पर मादी जलविद्युत आयोजनाको स्विच यार्डमा जडान हुनेछ ।
त्यस्तै, यामालिङ हाइड्रोपावरले यामालिङ जलविद्युत आयोजनाअन्तर्गत ३३ किलोभोल्ट क्षमताको ७ किमी लामो प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ७.२७ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने यो प्रसारणलाइन यामालिङ जलविद्युत आयोजनाको स्विच यार्डबाट सुरु भएर अप्पर बलेफीको स्विच यार्डमा जडान हुनेछ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलाई तीन प्रसारणलाइन निर्माणको अनुमति
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले तीनवटा प्रसारणलाइन निर्माणको अनुमति पाएको छ । उक्त कम्पनीले बेतनदेखि दोधारासम्म ४०० किलोभोल्ट, दोधारादेखि कर्मादेव (नेपाल-भारत सिमाना)सम्म ४ सय किलोभोल्ट र फुकोटदेखि बेतनसम्म ४ सय किलोभोल्टको प्रसारणलाइन निर्माणको अनुमति लिएको हो ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बेतनदेखि दोधारासम्म निर्माणको अनुमति लिएको ४ सय किलोभोल्टको प्रसारणलाइनको लम्बाई ३७ किमी छ । यो प्रसारणलाइनबाट २६४७ मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुनेछ ।
त्यस्तै, दोधारादेखि कर्मादेवसम्मको ४ सय किलोभोल्टकै प्रसारणलाइनको लम्बाई ३० किमी छ, जसबाट २५ सय मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुनेछ । यससँगै फुकोटबाट बेतनसम्मको ४ सय किलोभोल्टको प्रसारणलाइन ५४ किमी रहने र यसबाट २५ सय मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने विद्युत विकास विभागले जनाएको छ ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माणको अनुमति लिएका तीन प्रसारणलाइनमध्ये फुकोटदेखि बेतनसम्मको प्रसारणलाइनको सुरुवात फुकोटमा प्रस्ताव गरिएको सब-स्टेसनबाट बेतनमा प्रस्ताव गरिएको सब-स्टेसनसम्म हुनेछ ।
त्यस्तै, बेतनबाट दोधारासम्मको प्रसारणलाइनको सुरुवात प्रस्तावित बेतन सब-स्टेसनदेखि दोधारा सब-स्टेसनसम्म रहनेछ । सँगै दोधाराबाट कर्मादेव (नेपाल‑भारत सीमा)सम्मको प्रसारणलाइनको सुरुवात प्रस्तावित दोधारा सब-स्टेसनबाट नेपाल भारत सिमानामा रहेको कर्मादेवसम्म रहनेछ ।
विद्युत प्राधिकरणलाई पाँच प्रसारणलाइन निर्माणको अनुमति
नेपाल विद्युत प्राधिकरणले पनि चालू आर्थिक वर्षमा हालसम्म पाँचवटा प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । अमरपुर-ढुंगेसाँघुको १३२ किलोभोल्ट प्रसारणलाइन, गोडाक‑सोयाक प्रसारणलाइन, सुर्खेत-दैलेख १३२ किलोभोल्ट प्रसारणलाइन, लालबन्दी‑सलेमपुर १३२ किलोभोल्ट प्रसारणलाइन र त्रिशूली थ्रि बी देखि कालिकास्थान प्रसारणलाइन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले अनुमति लिएको छ ।
प्राधिकरणले अमरपुर-ढुंगेसाँघुमा १३२ किलोभोल्ट क्षमताको १९.१३ किमीप्रसारणलाइन निर्माणको अनुमति लिएको छ । २ सय मेगावाटसम्म विद्युतीय ऊर्जा क्षमताको यो प्रसारणलाइनको सुरुवात अमरपुर सब-स्टेसनबाट ढुंगेसाँघु सब-स्टेसनसम्म छ ।
त्यस्तै, १३२ किलोभोल्टको ६.५६ किमी लम्बाईको गोडाक सोयाक प्रसारणलाइन निर्माणका लागि विद्युत प्राधिकरणले अनुमति लिएको छ । उक्त प्रसारणलाइन २ सय मेगावाटसम्म क्षमताको छ भने यसको सुरुवात प्राधिकरणको गोडाकस्थित सब-स्टेसनबाट काबेली कोरिडोरसम्म रहनेछ ।
प्राधिकरणले नै निर्माण गर्ने सुर्खेतदेखि दैलेखसम्मको प्रसारणलाइन १३२ किलोभोल्ट क्षमताको छ । उक्त प्रसारणलाइन ३२.०५ किमीलामो छ भने २ सय मेगावाटसम्म विद्युतीय ऊर्जा यसबाट प्रसारण हुने क्षमता छ । यो प्रसारणलाइन सुर्खेतस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनबाट सुरु भएर दैलेखस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनमा जडान हुनेछ ।
त्यस्तै, लालबन्दीदेखि सलेमपुरसम्म पनि विद्युत प्राधिकरणले नै १३२ किलोभोल्टको १९.८५ किमी लम्बाईको २ सय मेगावाटसम्म विद्युतीय ऊर्जा प्रसारण हुने प्रसारणलाइनको निर्माणको अनुमति लिएको छ । उक्त प्रसारणलाइनको सुरुवात नवलपुरस्थित नेपाल विद्युत प्राधिकरणको सब-स्टेसनबाट प्रस्तावित सलेमपुर सब-स्टेसनसम्म छ ।
उक्त प्रसारणलाइन निर्माणको ठेक्का मंगलबार मात्रै सिंगमा कन/एमएसपीएल जेभीलाई लगाइएको प्राधिकरणले सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको थियो । यो प्रसारणलाइनको डिजाइन, निर्माण, परिक्षणको सम्पूर्ण कामको कुल लागत ४० लाख ६७ हजार ४६६ अमेरिकी डलर र ५९ करोड ३४ लाख ३९ हजार ६२३ रुपैयाँ ९७ पैसा छ ।
सँगै प्राधिकरणले त्रिशूली थ्री बिदेखि कालिकास्थानसम्म पनि ३३ किलोभोल्ट क्षमता र ५ किलोमिटरको प्रसारणलाइन निर्माणको अनुमति लिएको छ । ८ मेगावाटसम्म क्षमताको यो प्रसारणलाइनको सुरुवात प्रस्तावित त्रिशूली थ्रि बि सब-स्टेसनदेखि भएर प्रस्तावित कालिकास्थान सब-स्टेसनमा जडान हुनेछ ।