त्यो देश, जहाँ हरेक १५ घण्टामा मूल्यवृद्धि दोब्बर हुन्थ्यो
जतिबेला देशमा महँगीको आँधी नियन्त्रण गर्न थालिएको थियो, त्यसबेला देशमा भएको सबै मुद्रा (पेंगो)को मूल्य अमेरिकी एक सेन्टभन्दा पनि कम भएको थियो ।
एजेन्सी । जब कवि एवं उपन्यासकार गिओर्गी फालोदी ८ वर्षका लागि गायब भएर सन् १९४६ मा हंगेरी पुन: फर्किए, तब हंगेरीको अवस्था देखेर उनी निराश भए । हंगेरी युद्धपछि पूर्णरुपमा क्षतविक्षत भएको थियो ।
राजधानी बुडापेस्ट, जुन उनी जन्मे र हुर्केको ठाउँ थियो, त्यो ठाउँमा भत्किएका संरचना र घरहरुको ठूलो थुप्रो लागेको थियो । कयौं भवन भत्किएका थिए । भवनका मुनि लासहरु गाडिएका थिए ।
हंगेरीमा अन्य परिवर्तन पनि भएका थिए तर ती स्पष्ट देखिएनन् ।
फालोदी फर्किएर आएको केही समयपछि उनका प्रकाशकले नयाँ किताबका लागि ३ सय बिलियन पेंगो (त्यस बेलाको हंगेरीको आधिकारिक मुद्रा) दिएका थिए ।
सुन्दा यो रकम निकै धेरै लाग्छ । तर, यो रकमबाट उनले जम्मा एउटा कुखुरा, दुई लिटर तेल र केही तरकारी मात्रै किन्न सक्ने अवस्था थियो । उनले त्यो पैसा त्यही दिन खर्च नगरेको भए भोलिपल्ट अघिल्लो दिन जति पनि सामान किन्न सक्ने थिएनन् ।
हंगेरी त्यसबेला इतिहासकै सबैभन्दा ठूलो महँगीको सिकार बनेको थियो । महँगी हजारौं प्रतिशतले बढिरहेको थियो । दैनिक जीवनयापनका लागि किन्नुपर्ने वस्तुको मूल्य हरेक घण्टाजसो दोब्बर हुने अवस्था थियो । देशमा मानिस महँगीको दर ५० प्रतिशतभन्दा धेरै भएको यो अवस्थालाई आर्थिक विशेषज्ञहरुले ‘बैंग’को संज्ञा दिएका थिए ।
हंगेरीका लाखौं नागरिकको पारिश्रमिक र जीवनको स्तर कमजोर भइरहेको थियो । यसले उनीहरुलाई आफ्नो अस्तित्व जोगाउन थप संघर्ष गर्न बाध्य बनाएको थियो । जतिबेला देशमा महँगीको आँधी नियन्त्रण गर्न थालिएको थियो, त्यसबेला देशमा भएको सबै मुद्रा (पेंगो)को मूल्य अमेरिकी एक सेन्टभन्दा पनि कम भएको थियो ।
अहिले पनि विश्वका विभिन्न क्षेत्रमा मानिसहरु बढ्दो महँगी र मुद्रास्फीतिको विषयलाई लिएर चिन्तामा छन् । यस्तोमा इतिहासकै सबैभन्दा खराब मुद्रास्फीतिको घटना के थियो र त्यो किन भयो भन्ने विषयले धेरैको ध्यान खिच्न सक्छ ।
हंगेरीको त्यो दर्दनाक इतिहासबाट आजको समयमा बढ्दो महँगी र आर्थिक मन्दीको विषयलाई लिएर भइरहेको चिन्ताबाट धेरै पाठ सिक्न सकिने अर्थशास्त्रीहरु बताउँछन् ।
अन्य युरोपेली देश जस्तै हंगेरी दोस्रो विश्वयुद्धको असरबाट गुज्रिरहेको थियो । सुरुवातमा हंगेरीले अन्य वैश्विक शक्तिहरुलाई साथ दिएको थियो । सन् १९४१ मा सोभियत संघमाथि गरिएको हमलामा पनि हंगेरीले साथ दिएको थियो ।
तर, सन् १९४२ मा जब जर्मनीले युद्ध हार्ने अनुमान भयो, तब मित्र राष्ट्रहरुसँग वार्ता अघि बढायो । यसबारेमा थाहा पाएका एडोल्फ हिटलरले सन् १९४४ मार्चमा हंगेरीमा हमला गरेर त्यहाँ नाजीवादी सरकार बनाइदिए ।
इन्डियाना विश्वविद्यालयअन्तर्गतको हेमिल्टन लोगर स्कुलका प्राध्यापक लासेजलू बोहरी भन्छन्, ‘यसको परिणाम निकै भयानक थियो । हंगेरीका ४ लाख ३७ हजार यहुदीलाई निर्वासित गरियो । त्यसपछि हंगेरी जर्मनी र सोभियत युनियनका लागि युद्धमैदानमा रुपान्तरण भयो ।’
त्यसपछि बुडापेस्टले ठूलो युद्ध देख्नुपर्यो ।
युद्धले देशको अर्थव्यवस्था खराब बन्दै गएको थियो । जर्मनीले हंगेरीबाट १ अर्ब अमेरिकी डलर मूल्यको सामान बाहिर लगेको थियो । हंगेरीका अधिकांश उद्योग बन्द भएका थिए भने बचेका उद्योगमा पनि ९० प्रतिशतसम्म असर पुगेको थियो ।
रेलवे तथा रेल इञ्जनमा युद्धले असर गरेको थियो । बचेका संरचना सोभियत युनियन र नाजी जर्मनीको कब्जामा थियो । बुडापेस्टको डेन्युबमा रहेका सबै पुल भत्किएका थिए भने सबैजसो सडकमा क्षति पुगेको थियो ।
बुडापेस्टमा ७० प्रतिशत संरचना पूर्णरुपमा वा आंशिक रुपमा क्षतिग्रस्त भएका थिए । उत्पादनमा ६० प्रतिशतसम्म क्षति पुगेको थियो ।
बोरही भन्छन्, ‘मुख्य रुपमा देशमा संकटको अवस्था सिर्जना भएको थियो तर पनि त्यसबेला सोभियत सेनाका लाखौं सैनिकका लागि खानाको व्यवस्था गर्नुपर्ने थियो ।’
जब हंगेरीले युद्धविरामको सम्झौतामा हस्ताक्षर गर्यो, तब सोभियत युनियन, युगोस्लाभिया र चेकोस्लोभाकियालाई जरिवाना स्वरुप ३ सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने भयो । यो रकम अहिलेको हिसाबमा चार अर्ब अमेरिकी डलरभन्दा धेरै हुन आउँछ ।
यो सबै हुँदा पनि हंगेरीका नागरिकको सहयोग र देशको पुनर्बहालीका लागि त्यसबेला अन्य देशले कुनै कर्जा दिएनन् ।
क्यानडास्थित विल्फ्रेड लरेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक पिटर स्क्लोस भन्छन्, ‘हंगेरीको सरकारको आर्थिक अवस्था निकै खराब थियो । कुनै पनि रुपमा सहायता उपलब्ध गराउनुपर्ने आवश्यकता थियो । तर, यस्तो कुनै काम भएन, जसले पारम्परिक रुपमा कर जम्मा गर्नमा सहयोग पुगोस् ।’
कर प्राप्त गर्ने कुनै आधार नभएपछि हंगेरीले देशको अर्थव्यवस्थालाई सक्रिय राख्न पैसा छाप्ने निर्णय गर्यो । मुद्रा छाप्न आवश्यक सामग्री पनि आयात नै गर्नुपर्ने स्थिति थियो ।
नयाँ मुद्राको छपाइपछि सरकारले नागरिकलाई प्रत्यक्ष रोजगारीमा राख्न थाल्यो । नागरिकलाई कर्जा र पैसा बाँड्न थालियो । बैंकमा न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध थियो, जसले गर्दा व्यापार गर्नेहरुलाई सहायता होस् ।
पैसाको उपलब्धता बढ्दै जाँदा मुद्राको मूल्य भने निकै कम भइसकेको थियो । पहिलो विश्वयुद्धका बेला हंगेरीमा बढिरहेको महँगी नियन्त्रण गर्न बनाइएको पेंगोको मूल्य निरन्तर कम भयो ।
महँगी यति धेरै भयो कि स्थानीय मुद्राको मूल्य शून्य बराबर पुग्यो । सन् १९४४ मा हंगेरीमा सबैभन्दा ठूलो मुद्रा १ हजार पेंगोको थियो । सन् १९४५ सम्म आइपुग्दा एक करोडका नोट प्रचलनमा आइसकेका थिए । यसले पनि हंगेरीमा भएको मुद्रास्फीतिको अनुमान लगाउन सकिन्छ ।
यो क्रम जारी राख्दै हंगेरीमा एक करोडपछि १० करोड, १० करोडपछि एक अर्ब र त्योभन्दा पनि ठूला मुद्रा प्रचलनमा ल्याइयो । तर, यसको मूल्य भने शून्यबराबर भएको थियो । त्यसलगत्तै बी पेंगो नामको मुद्रा ल्याइयो, जसको मूल्य १० खर्ब बराबर थियो ।
यसमा वृद्धि हुँदै गयो । मुद्रा ठूल्ठूला सार्वजनिक भए । तर, त्यसको मूल्य भने झन्-झन् कम हुँदै गएको थियो । जब सन् १९४६ जुलाई ११ मा हंगेरीको राष्ट्र बैंकले १ हजार खर्बको नोट सार्वजनिक गर्यो, तब यो नोट विश्व इतिहासकै सबैभन्दा ठूलो मुद्रा बन्यो ।
हंगेरीको राष्ट्र बैंकले १० हजार खर्बको नोट पनि छापेको थियो । तर, त्यो नोटलाई प्रचलनमा ल्याइएन ।
यसपछि हंगेरीमा विशेष मुद्रा अडा पेंगो जारी गरियो, जसको प्रयोग पोस्टल र कर तिर्नका लागि हुन्थ्यो । महँगीका कारण हरेक दिन मुद्राको मूल्य कति छ भन्ने कुरा रेडियोबाट प्रसारण गरिन्थ्यो ।
सन् १९४६ जनवरी १ मा एक अडा पेंगोको मूल्य एक पेंगो बराबर थियो । तर, सोही वर्षको जुलाईको अन्त्यसम्ममा यसको मूल्य बढेर २० लाख बिलियन पुगेको थियो ।
हंगेरी सरकारले नयाँ र चम्किला नोट सार्वजनिक गरेर बढ्दो मूल्यवृद्धिलाई हेरेर मुद्राको अवस्थालाई यथावत राख्ने कोसिस गरिरहेको थियो । आमनागरिक यी मुद्रालाई मूल्यका आधारमा नभएर रंगको आधारमा सम्झन थालेका थिए ।
हंगेरीस्थित सिजिड विश्वविद्यालयमा आधुनिक सामाजिक तथा आर्थिक इतिहासका प्राध्यापक बेला टोमका भन्छन्, ‘अवस्था यस्तो खराब थियो कि जब कुनै मानिस १२ वटा अण्डा किन्न जान्थ्यो, तब उसले अण्डाको तौलबराबरकै पैसा तिर्नुपर्थ्यो ।’
सर्वसाधारणलाई मासिक तलबका रुपमा दिइने पैसाको कुनै अर्थ थिएन । त्यसैले कम्पनीहरुले कर्मचारीलाई उनीहरुको तलबका रुपमा उनीहरुले नै खेती गरेको वस्तु वा उत्पादन गरेको चिज दिन सुरु गरेका थिए । उनीहरुले तलबका रुपमा आफैंले उत्पादन गरेको आलु वा तयार गरेको चिनी पाउन थालेका थिए ।
उदाहरणका लागि कपडाको उद्योगमा काम गर्ने कर्मचारीलाई पारिश्रमिकका रुपमा कपडा नै दिइन्थ्यो । कर्मचारीले अन्य वस्तुको आवश्यकताअनुसार आफूसँग भएका वस्तुको लेनदेन गर्ने गर्थे । ‘ब्ल्याक मार्केट’ निकै फस्टाएको थियो ।
टोमका भन्छन्, ‘यसबाहेक विश्वमै मुद्रास्फीतिको इतिहासमा पहिलो पटक कम्पनीहरुले भोजनको एउटा निश्चित मात्रा र स्तर उपलब्ध गराउनुपरेको थियो । यसको निर्धारण कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई साप्ताहिक रुपमा आवश्यक क्यालोरीको आधारमा गरिएको थियो ।’
तर, यो उपाय खाद्यान्न अभावजस्तो समस्याको हल थिएन । तत्कालीन रुपमा यसले जनतालाई केही न केही सुविधा भने उपलब्ध भएको थियो ।
एक समय यस्तो पनि आयो, जब कर्मचारीहरु कम्पनीमा आफ्नो दैनिक पारिश्रमिक दिनको २ बजेभन्दा अघि नै उपलब्ध गराउन माग गर्न थालेका थिए । किनकि, त्यो दिन २ बजेभन्दा अघि पारिश्रमिक उपलब्ध नभएमा भोलिपल्ट महँगी दोब्बर भइसक्थ्यो । दिनको २ बजेभन्दा अघि कम्पनीले पारिश्रमिक उपलब्ध नगराए भोलिपल्ट सोही दिनको दरअनुसार पारिश्रमिक दिनुपर्ने हुन्थ्यो ।
यस्तोमा हंगेरीका सामु कुनै समाधानको उपाय थिएन । मानिसको तलब कौडीको भाउमा गइसकेको थियो । त्यसमा ८० प्रतिशतसम्मको गिरावट आएको थियो । मानिससँग जागिर त थियो तर महँगीका कारण उनीहरु गरिबीमा धकेलिएका थिए ।
तर, यति सबैका बीच सबैका लागि समस्या उस्तै थिएन ।
१९६४ अप्रिल ४ मा अमेरिकी पत्रिका न्युयोर्क टायम्सले आफ्नो रिपोर्टमा लेखेको थियो, ‘युरोप र अन्य कयौं हिस्सा ठूलो जनसंख्याको जीवनस्तर र बाँकी केही मानिसको जीवनस्तरमा यस्तो स्पष्ट विरोधाभास देखिएको थिएन, जसको बेलायत वा अमेरिकामा मित्रता थियो । आयस्रोतका अन्य उपायबाट उनीहरु महँगा रेस्टुरेन्टमा जान सकिरहेका थिए ।’
ती धनी व्यक्तिको समूहमा यस्तो किसिमको खाना पाइन्थ्यो, जुन युरोपमा कतै थिएन । त्यहाँ महँगा फल, कुखुराको मासु, क्रिम र युद्धभन्दा अघि महँगा होटलमा बिक्री हुने केक पाइन्थ्यो ।
तर, यी स्वादिष्ट पकवानहरुको आनन्द ती व्यक्तिले मात्रै लिन पाउँथे, जोसँग सम्पत्ति सुनका गहना वा अन्य महँगा हीरा थिए । टोमका भन्छन्, ‘उनीहरुले यसलाई बेचेर आफ्नो आवश्यकता पूरा गर्थे । त्यसबाहेक केही मानिस विदेशी मुद्रामा पनि कमाइरहेका थिए । कयौं मानिस विदेशी कम्पनी, दूतावास वा यस्तै संस्थामा काम गर्थे, जसले गर्दा उनीहरु यस्तो महँगीमा पनि जीवनस्तर स्थिर राख्न सफल थिए ।’
उनका अनुसार ग्रामीण क्षेत्रका बासिन्दाले खाद्यान्न उत्पादन गरिरहेका थिए । उनीहरुको आर्थिक स्थिति केही हदसम्म राम्रो थियो । त्यसबेला सहरमा रहने व्यक्ति सबैभन्दा गरिब थिए ।
महँगीको चरम अवस्थामा रहेको हंगेरीमा दैनिक मूल्यवृद्धि डेढ लाख प्रतिशतसम्म हुन्थ्यो ।
त्यसबेला सरकारले कर संकलन गर्न बन्द गरिसकेको थियो । किनभने यस किसिमले प्राप्त हुने राजस्वको क्रयशक्ति निकै हदसम्म खत्तम भइसकेको थियो । एउटा नयाँ किसिमको मुद्राले मात्रै देशको आर्थिक अवस्था सुदृढ गर्ने देखिएको थियो ।
सन् १९४६ अगस्ट १ मा हंगेरीमा गिल्डर नामको मुद्रा सुरु भयो, जसको मूल्य अघिल्लो मुद्रा पेंगोको तुलनामा करोडौं गुणा अधिक थियो । बोरही भन्छन्, ‘मेरो बुबाआमालाई याद छ, उनीहरुले सफाइकर्मीले आफ्नो तलब फोहोरको बट्टामा फ्याँकिरहेको देखेका थिए ।’
हंगेरीका नागरिकले पेंगो मुद्रा फ्याँकिदिए । किनकि, त्यो मुद्राको मूल्य कागजबराबर पनि थिएन् । बोरही भन्छन्, ‘हामीसँग बाँकी रहेको अलिकति मुद्रा पनि बेकार बनेको थियो । मानिसले आफ्नो पुँजी गुमाइसकेका थिए । उनीहरुले फेरि शून्यबाट सुरु गर्नुपरेको थियो ।’
स्क्लोस भन्छन्, ‘यसको तयारीमा केही महिना लागेको थियो । सरकारले खाद्यान्नको भण्डारण गरेको थियो, ताकि नयाँ मुद्रा ल्याएपछि कम्तीमा पनि केही महिनाका लागि खाद्यान्न उपलब्ध हुनुपर्ने थियो । धेरै जनतामा सुधारको काम भइरहेको छ भन्ने विश्वास पनि जगाउनु थियो ।’
यसबाहेक सुधारको प्रक्रिया सुरु भएको केही हप्तामा मानिसलाई महँगीमाथिको करमा भइरहेको निर्भरता सकिने कुरामा पनि तयार बनाउनु थियो । वस्तुको मूल्य निर्धारण अन्य वस्तुको हिसाबमा गरिने छैन र भविष्यमा लामो समयका लागि यो नीतिलाई जारी राख्ने विश्वास पनि दिलाउनु थियो ।
स्क्लोसका अनुसार यो कुराले जनतामा यति विश्वास पैदा भएको थियो कि गिल्डरको मूल्य यथावत् रह्यो । विस्तारै-विस्तारै आर्थिक गतिविधिले तीव्रता लिन थालेको थियो । जनतामा विश्वास पुनः जगाउने काममा महत्वपूर्ण भूमिका हंगेरीको राष्ट्रिय बैंकमा रहेको सुनको भण्डारणले खेलेको थियो ।
टोमकाका अनुसार यसलाई युद्धको अन्तिम चरणमा देशभन्दा बाहिर लगिएको थियो ताकि सोभियत सेनाले यसमाथि कब्जा जमाउन नसकुन् । यो सुनको भण्डारण अस्ट्रिया र अमेरिकाले कब्जा गरेको क्षेत्रमा पुर्याइएको थियो ।
उनी भन्छन्, ‘सन् १९४६ मा हंगेरीको सरकारको एक शिष्टमण्डल अमेरिकाको वासिङ्टन गएको थियो । त्यहाँ राष्ट्रपति ह्यारी एस ट्रुमेनले हंगेरीका जनताप्रति सद्भाव दर्शाउन यो सुन पूर्णरुपमा फिर्ता गर्न सहमति दिएका थिए ।’
सुनको भण्डारण हंगेरीमा फिर्ता भएको दिनलाई महत्वपूर्ण दिनको रुपमा लिइन्छ । यो निकै ठूलो घटना थियो । सोही वर्ष ६ अगस्टमा एसोसिएटेड प्रेसले लेखेको थियो, ‘एडोल्फ हिटलरको पूर्व निजी ट्रेन त्यहाँ तीन करोड ३० लाख डलर मूल्यको सुन लिएर आइपुगेको छ, जुन हंगेरीको राष्ट्रिय बैंकको कुल कोष थियो । यसले हंगेरीलाई नयाँ आर्थिक ढाँचामा अघि बढ्न सहारा दिनेछ ।’
त्यो रेलमा २२ टन सुनका बिस्किट र सिक्का थिए । जर्मनीले यो निकै बलियो सुरक्षा र गोपनीयताका साथ ल्याएको थियो । पहिलो पटक कुनै शत्रु देशले सबै आर्थिक सम्पत्ति फिर्ता दिएको घटना पनि थियो यो ।
हंगेरीका शासकले सम्पूर्ण सुन फिर्ता आउनुले देशमा जर्जर भएको अर्थव्यवस्थालाई बचाउनेमा आशा देखाएका थिए । मानिसमा पनि यही घटनाले नयाँ मुद्रामाथि विश्वास पैदा भएको थियो ।