चीनको आर्थिक वृद्धि लक्ष्य ५ प्रतिशत



एजेन्सी । चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।

चीनको राष्ट्रिय व्यवस्थापिकाको जारी बैठकमा प्रस्तुत बजेटको मस्यौदा प्रतिवेदनमा व्यापार विस्तार र विविधीकरणमा विशेष जोड दिइएको छ । प्रधानमन्त्री ली खछ्याङले यो वर्षको आर्थिक वृद्धिदरको लक्ष्य ५ प्रतिशतको हाराहारीमा राखिएको बताए ।

उनले कोरोना महामारीका कारण ३ प्रतिशतमा झरेको अघिल्लो वर्षको आर्थिक वृद्धिलाई बढाउन उद्यमी-व्यवसायीलाई उत्प्रेरित गरे । सन् १९७० पछि पहिलोपटक चीनको आर्थिक वृद्धिदर ३ प्रतिशतमा झेरको थियो ।

बैठकमा सरकारी योजनाबारे जानकारी दिँदै प्रधानमन्त्री लीले आर्थिक पुनरुत्थान र विस्तारलाई प्राथमिकता दिनु बजेटको मुख्य उद्देश्य भएको बताए । उनले स्वतन्त्र उद्यम र व्यवसाय प्रवर्धनमा जोड दिए । बाह्य व्यापारमा बढेको चुनौतीको सामना गर्ने सबल अर्थतन्त्र निर्माण लाग्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

प्रधानमन्त्री लीले उपभोक्ता खर्च बढाएर गार्हस्थ्य आम्दानी वृद्धिको आह्वान गरे पनि विस्तृत योजना सार्वजनिक गरेनन् । विज्ञान र प्रविधिको क्षेत्रमा राष्ट्रको सामर्थ्य बढाएर आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिए ।

अमेरिकासँगको व्यापारमा मन्दी आएका बेला बजेटका लक्ष्य र उद्देश्य हासिल गर्न चीनलाई हम्मेहम्मे पर्ने देखिन्छ । चिनियाँ चिप्स र अन्य उत्पादनमा अमेरिकाले देखाएको सुरक्षा चासोका साथै विश्वव्यापी माग घट्दा चीनको निर्यात व्यापार कमजोर हुने आर्थिक क्षेत्रका जानकारहरूले टिप्पणी गरेका छन् ।

चीन सरकारले सी चिनफिङको नेतृत्वमा विद्युतीय कार, स्वच्छ ऊर्जा, दूरसञ्चार र अन्य क्षेत्रमा प्रतिस्पर्धी सिर्जना गर्ने प्रयासले अमेरिका र व्यापारिक साझेदारसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

बजारमा नियन्त्रण कायम गर्ने, अनुदान दिएर अन्य लगानीकर्तालाई हतोत्साही पार्ने र प्रविधि चोरी गरेकोजस्ता गम्भीर आरोप चीनमाथि लाग्दै आएको छ ।

आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपमा सुदृढ राष्ट्र बनाउन विदेशी लगानी प्रवर्धन गर्ने भनिए पनि वास्तवमा बेइजिङले आफ्नै घोषित नीतिको पालना नगरेको आरोप छ ।

रक्षा बजेट ७.२ प्रतिशत

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले चालू वर्षको रक्षा बजेट ७.२ प्रतिशत हुने बताएको छ । गत वर्ष रक्षा क्षेत्रको बजेट ७.१ प्रतिशत थियो । आइतबार सार्वजनिक गरिएको मस्यौदा बजेटअनुसार यो वर्ष २२४.७९ बिलियन अमेरिकी डलर विनियोजन गरिएको छ ।

पश्चिमा मुलुकले चीनको सैन्य खर्चलाई विशेष चासोका साथ हेर्ने गरेका छन् । उनीहरूले रक्षा क्षेत्रमा चीनले अनपेक्षित रूपमा अधिक रकम विनियोजन गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।

जटिल सुरक्षा चुनौतीको सामना गर्न तथा आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न प्रस्तुत गरिएको बजेटलाई १४औँ राष्ट्रिय जन कंग्रेसका प्रवक्ता वाङ चाओले उचित र व्यावहारिक भनेका छन् । उनले रक्षा बजेट वृद्धि आवश्यक रहेको बताउँदै त्यो देशले अवलम्बन गरेको राष्ट्रिय प्रतिरक्षा नीति अनुकूल रहेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । चीनको रक्षा बजेट संयुक्त राज्य अमेरिकाको करिब एक चौथाइ हो ।

हालैका वर्षमा चीन र अमेरिकाबीच व्यापार, मानवअधिकार र अन्य विषयलाई लिएर मतभेद बढ्दै आएको छ । गत महिना मौसमी विवरण संकलनका निम्ति प्रक्षेपण गरिएको चिनियाँ बेलुन वायुको वेग र बहावका कारण अमेरिकी आकाशमा पुगेपछि दुई देशबीचको सम्बन्ध अझ चिसिएको छ ।

अमेरिकाले चीनको स्वशासित टापु ताइवानमा बेइजिङले आक्रमण गर्नसक्ने चेतावनी दिँदै आएका छन् । ताइवानी क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिलाई लिएर अमेरिकाले त्यस्तो चेतावनी दिएको हो । चीनले आवश्यक परेमा ताइवानमा बल प्रयोग गरेर त्यसलाई आफ्नो नियन्त्रणमा राख्ने वाचा गरेको छ । उत्तर-पूर्वी एसियामा हतियारको होडबाजी बढिरहेका बेला चीनले रक्षा खर्च बढाउनु स्वाभाविक भएको कतिपयको विश्लेषण छ । क्षेत्रीय सुरक्षा परिदृश्यले पनि रक्षा खर्च बढाउनुपर्ने परिस्थिति सिर्जना भएको उनीहरू बताउँछन् ।


क्लिकमान्डु