व्यापार घाटाको डरलाग्दो ग्राफ, पाम आयल र भटमास तेलको उदेकलाग्दो चक्र



काठमाडौं । नेपालको व्यापार घाटाको ग्राफ हरेक वर्ष डरलाग्दो गरी उकालो लागिरहेको छ । १० वर्षको अवधिमै व्यापार घाटामा साढे १३ खर्ब रुपैयाँको बढोत्तरी छ ।

आर्थिक वर्ष २०६८/६९ मा ३ खर्ब ८७ अर्ब रहेको व्यापार घाटा गत वर्ष बढेर १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटाको एक दशकको यो वृद्धिदर झन्डै साढे ३ सय प्रतिशत हो ।

१० वर्षमा ७४ अर्ब २६ करोडको निर्यात बढेर २ खर्ब रुपैयाँ पुगेको छ भने आयात ४ खर्ब ६१ अर्बबाट बढेर १९ खर्ब २० अर्ब नाघेको छ । यसको अर्थ निर्यात साढे २ गुणाले बढ्दा आयात झन्डै ५ गुणाले बढेको छ ।

पाम आयल र भटमास तेलको व्यापार

वैदेशिक व्यापारमा पाम आयल र भटमास तेलको चक्र उदेकलाग्दो छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालको निर्यात व्यापार ४४ प्रतिशतले बढ्यो । त्यस्तै गत वर्ष ४१ प्रतिशतको वृद्धि छ ।

दुवै वर्ष पाम आयल र भटमासको तेलका कारण निर्यात व्यापार यो स्तरले बढेको हो । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्बको निर्यात हुँदा ५३ अर्ब रुपैयाँको पाम आयल र भटमासको तेल निर्यात भएको थियो । यो कुल निर्यातको करिब ३८ प्रतिशत हो । आव २०७७/७८ मा झन्डै ६२ अर्ब रुपैयाँका यी दुवै वस्तु आयात भएका छन् ।

गत वर्ष २ खर्बको निर्यात हुँदा पाम आयल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब छ । यो कुल निर्यातको ४५ प्रतिशत हो । त्यही वर्ष झन्डै ९८ अर्ब रुपैयाँका यी दुवै वस्तु आयात भएका छन् ।

अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चीन, इजिप्ट, इन्डोनेसिया, पाराग्वे, रुस, स्विट्जरल्यान्ड, टर्की, मलेसियालगायत देशबाट कच्चा या प्रशोधनपछि भित्रिने पाम आयल र भटमास तेलको सानो हिस्सा प्रशोधनपछि यहीँ खपत हुन्छ । जति निर्यात हुन्छ सबै भारत निर्यात हुन्छ ।

चालू आर्थिक वर्षको ७ महिनाको निर्यातमा पनि यिनै दुई वस्तुको हिस्सा सर्वाधिक छ । समीक्षा अवधिमा ९३ अर्ब ४३ करोडको निर्यात हुँदा २३.७६ प्रतिशत अर्थात् २२ अर्ब २० करोड रुपैयाँको प्रशोधित पाम आयल र भटमास तेल भारत निर्यात भएको छ ।

जबकि, यो अवधिमा ३६ अर्ब रुपैयाँको कच्चा पाम आयल र भटमासको तेल नेपाल भित्रिएको छ । चालू आवको ७ महिनामा साढे २६ अर्बको भटमासको तेल र २० अर्बभन्दा बढीको पाम आयल आयात भएको हो ।

भटमास सानो परिमाणमा नेपालमा उत्पादन हुन्छ । तर, पाम आयल नेपालमा उत्पादन हुँदैन । विदेशबाट आयात गरेर विदेश नै निर्यात गर्दा नेपालले ७ महिनामा भन्सार राजस्वबापत ५ अर्ब ४० करोड रुपैयाँ आम्दानी गरेको छ ।

सूर्यमूखी र सोयाबिन तेल पाम आयलको प्रयोग दक्षिण एसियाली मुलुक र अफ्रिकामा धेरै हुन्छ । कुनै पनि पकाएको वस्तुलाई लामो समय बिग्रिन नदिन पाम आयल प्रयोग गर्ने गरिन्छ । त्यस्तै स्याम्पु, टुथपेस्ट, लिपिस्टिकलगायतका सामग्री निर्माणमा पनि यसको प्रयोग हुन्छ ।

पाम आयल खाद्य तेल उत्पादक कम्पनीहरुले विभिन्न देशबाट आयात गरेर केही नेपाली बजारमा बिक्री गर्ने र अधिकांश भारत निर्यात गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।


क्लिकमान्डु