२ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ: विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जान लागेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले नेपाली बैंकमा केही सय मानिसको स्वामित्व रहेको बताए ।

उनले नेपालको अर्थतन्त्र र सम्पत्ति २ सय परिवारको हातमा केन्द्रित हुन लागेको बताए । ९० प्रतिशत जनता गरिबीको मारमा धकेलिरहेको उनको भनाइ थियो ।

‘नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । बैंकहरुमा जम्मा दुई, तीन सय परिवारको स्वामित्व रहेको छ । नेपालको अर्थतन्त्रको हिसाब गर्दा २ सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ’ विप्लवले भने, ‘९० प्रतिशत जनताहरु किसानहरु गरिबीको मारमा धकेलिरहेका छन् । लाखौंलाख युवाहरुको शक्ति विदेश लखेटिने वा पलायन हुने बेचिने अवस्थातिर गइरहेको छ ।’

जनतामा रुपान्तरण, परिवर्तनको चाहना भए पनि पूरा हुन नसकेको उनको भनाइ छ ।

‘चुनावमा नयाँ दलहरु उदाएका छन्, यो एउटा सकारात्मक कुरा पनि हो । तर जनतालाई यो थाहा हुनुपर्छ की नेपालमा समस्या केवल पार्टीहरुको कुरा मात्रै होइन, नेताहरुको कुरा मात्रै होइन, यहाँको आर्थिक सम्बन्ध, दलाल पुँजीपति वर्गको आर्थिक सम्बन्ध नेपालको समस्या हो,’ उनले भने, ‘ उत्पादन र उत्पादकत्व घट्दै जाने परनिर्भरता बढ्दै जाने, थोरै मानिसहरुले अर्थतन्त्र अधिनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको देखिने तर अर्थतन्त्र संकटमा जाने यसको सबै कारण भनेको नेपालको अर्थतन्त्र दलाल पुँजीवादी सत्ता हो ।’

नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने नयाँ पिढीले सोच्नु पर्ने उनले बताए ।

‘नेपाललाई स्वाधिन बनाउने हो भने यो दलाल पुँजीवादी, विदेशीहरुले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने, विदेशीहरुको निर्देशनमा यहाँका अर्थतन्त्रहरु निर्माण गरिने, नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरुले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य नयाँ पिढीले सोच्नेछ’ विप्लवले भने ।

किसानहरु र ऋण लिनेहरुले आत्महत्या गर्नु पर्ने अवस्था आएको भन्दै उनले भने, ‘तराईमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठिवास भएको छ । केही उक्सिनको लागि ऋण लिने किसानहरुलाई फासी लाग्न बाध्य बनाउने, जल्न बाध्य बनाउने स्थिति नेपालमा छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरु जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरुसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।’


क्लिकमान्डु