प्रेमको आत्मदाह: राज्यको नीतिले गरेको ‘हत्या’



सहजकर्ता/दलाल/विचौलियालाई मनग्य अवसर दिने नीतिगत व्यवस्था भएको नेपालमा उत्पादन बढाउन खोज्ने व्यक्तिहरु ठूलो समस्या छन् । समयमै सरकार गम्भीर र सचेत बनेन भने कयौं व्यक्तिले प्रेमप्रसाद आचार्यको बाटो नपछ्याउलान् भन्न सकिँदैन।

काठमाडौं । मंगलबार नयाँ बानेश्वर चोकमा इलाम घर भएका प्रेमप्रसाद आर्चायले पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरे । तत्कालै उद्धार गरेर अस्पताल पुर्‍याइएका आचार्यको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । विभिन्न व्यवसाय गर्दासमेत सफल हुन नसकेको र ऋणको बोझले थिचिएपछि आत्महत्याको बाटो रोजेको आफ्नै शरीरमा आगो लगाउनुभन्दा केही अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

आचार्यको मृत्युपछि बुधबार बिहान नेपाल प्रहरीले बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलिम पदार्थ बिक्री नगर्न निर्देशन दिएको छ ।

सुरक्षा संवेदनशीलताको सूचना बिपरित पेट्रोलियम पदार्थको बिक्री बितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारवाही गर्ने प्रहरीले चेतावनी दिएको छ ।

प्रहरीले कुन कानून अनुसार पेट्रोलियम पदार्थ खुलारुपमा बोतल, जर्किन लगायतका भाँडोमा बिक्री गर्न पाइँदैन भनेर सूचनामा खुलाएको भने छैन ।

यसअघि गत मंसिर १८ गते धुम्बराहीस्थित पिपलबोट चोक नजिकै पुष्पा न्यौपानेले पनि शरीरमा पेट्रोल छर्किएर आत्महत्याको प्रयास गरेकी थिएन् । न्यौपानेको आत्महत्या गर्नु पर्ने कारण फरक नै थियो ।

प्रहरीले खुला रुपमा पेट्रोल बिक्री गर्न रोक लगाउँदै यस्ता घट्ना रोक्न सकिन्छ ? पेट्रोल पम्पले बोतलमा पेट्रोल बिक्री गरे/नगरेको प्रहरीले कसरी एकिन गर्छ ? मोटरसाइकल र स्कुटरबाट पेट्रोल निकाल्न खोज्नेलाई प्रहरीले कसरी नियन्त्रण गर्न सक्छ ?

जसरी विगतमा नेपाल सरकारले केही घटना भए लगत्तै प्रतिबन्ध लगाउने निर्णय गर्दथ्यो, अहिले पनि प्रहरीले बोतलमा पेट्रोल बिक्री नगर्न उर्दी जारी गरेर केही काम गर्न खोजेको जस्तो देखाएको छ । तर, प्रहरीले जारी गरेको सूचना प्रति समाजिक सञ्जालमा सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । के राज्यको जिम्मेवारी कुनै पनि कुरामाथि लगाउने प्रतिबन्धनले पूरा होला वा घटनाको गहिराइमाथिको मन्थनले होला ? शासकवर्गमा यस्तो चेतको विकास हुन सकेको भए सायद आज प्रेमप्रसादले शरीरमा आगो लगाउनु पर्ने अवस्था बन्ने थिएन होला ।

000

प्रेमप्रसाद आचार्यले फेसबुकमा लेखेको लामो स्ट्याटस पढ्दा उनले कयौं काम गर्न खोजेको देखिन्छ । विभिन्न व्यक्तिले र संस्थाले दिनु पर्ने रकम नदिँदा ऋणको भारमा थिचिएर आचार्य आत्महत्याको बाध्यत्मक अवस्थामा पुगेको देखिन्छ ।

बुवाको मृत्युपछि इलामको पैतृक सम्पत्ति बिक्री गरेर बूढानीलकण्ठमा घर किनेका प्रेमले ट्राभल एजेन्सी शुरु गरे । तर, बढ्दो उधारोले व्यवसाय व्यवस्थापन नहुँदा घाटामा गए । घर समेत बिक्री गर्नु पर्यो । सानी छोरी र श्रीमतीलाई भाडाको घरमा राखेर नयाँ सपना देख्दै प्रेम कतार पुगे । फेसबुक स्ट्याटसमा उनले लेखे अनुसार कतारमा प्रेमको कमाई राम्रै भयो । पुरानौ सबै ऋण चुक्ता गरे ।

कमाएर जोगिएको बाँकी पैसा ल्याएर देशभित्रै केही गर्ने उद्देश्य सहित नेपाल फर्किए । एक पटक नेपालमा व्यवसाय गर्दा असफल भएका प्रेम दोस्रो पटक पनि सफल हुन सकेनन् । जसले गर्दा मंगलबारको अप्रिय घटना घट्न पुग्यो ।

यहाँ प्रश्न उठ्छ, प्रेम सफल हुन नसकेका हुन् वा प्रेम सफल हुने वातावरण थिएन, प्रणाली थिएन । प्रेम जस्तै उद्यमी बन्छु भन्ने सोचलाई हाम्रो राज्य संयन्त्रले सहयोग गरेको छ वा छैन ?

‘सूर्योदय ११– केराबारी, इलाममा सुर्योदय एग्रो इण्डस्ट्रिज एण्ड फार्म हाउस प्राली र इलाम एग्रो मार्ट नाम गरेका उद्योग खोलियो । गल्ती यहि गरिएछ,’ प्रेमले आत्मदाह गर्नुअघि समाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सोचें, पैसालाई जग्गामा फ्रिज गर्ने होइन । चलायमान बनाउन उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने । यदी मैले ऋण तिरेर बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थियो ।’

नीति निर्माताले बुझ्नु जरुरी छ, उत्पादन गर्न लगानी गरेका उद्यमीलाई जग्गा खरिद नगरेकोमा पछुतो लागेको छ । आजका दिनमा राज्यलाई उद्यमी र उत्पादन बढाउने नीति आवश्यक छ वा घर जग्गा र शेयरबजारबाट क्षणिक लाभ लिएर आनन्दित हुने नीति । राज्यको उपल्लो तहमा बसेका व्यक्तिले निर्मम समीक्षा गर्न जरुरी छ ।

प्रेमले कर प्रणालीदेखि उत्पादन बढाउन तत्कालै सरकारले गर्नु पर्ने विभिन्न सुझाव दिएका छन् । जुन निकै मननीय छन् । चालू आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ९२ अर्ब रुपैयाँको आयात हुँदा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ । धान, चामल, तरकारी, फलफूल, कागती, अचार, आलू, काउली, गाँजर, मकै जस्ता देशभित्र उत्पादन हुन सक्ने खाद्यपदार्थ समेत विदेशबाट आइरहेका छन् ।

नेपालमा उत्पादन हुन सक्ने बस्तुहरुसमेत आयात भइरहेको समाचार देखेर कयौं युवाहरु देशभित्र उत्पादन गर्नु पर्छ भनेर लागेका छन् । तर, दुर्भाग्य मान्नु पर्छ, नेपालमा उत्पादन बढाउनु पर्छ भनेर विदेशबाट राम्रो काम छोडेर आएको कोही पनि खुसी छैनन् । खुसी छन्, घर जग्गा दलालीमा, म्यानपावर व्यवसायमा संलग्नहरु, राजनीतिक नेतृत्वको आँसेपासेहरु, विदेशका प्रतिष्ठित कम्पनीको एजेन्सी लिएर व्यसाय गरिरहेका व्यक्तिहरु, अर्काको उत्पादन गरेको सामान बजारसम्म पुर्याउने काम गरिरहेका सहजकर्ता/विचौलियाहरु ।

अहिले नेपालमा सिमेन्ट र छड बाहेक साना वा ठूला उत्पादनमूलक उद्योग चलाउने अधिकांश व्यक्तिहरु घाटामा रहेको एक प्रतिष्ठित उद्योगी बताउँछन् ।

‘सरकारले नै घरजग्गाको प्लटिङ, विदेशी ब्राण्डको एजेन्सी वा दलाली गर्दा कमाइ हुने वातावरण बनाएको छ,’ ति उद्योगी भन्छन्,‘यस्तो अवस्थामा उत्पादन बढाउन कसले लगानी गर्छ ।’

उत्पादन बढाउने उद्योगीले उद्योग विभाग, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका उच्च अधिकारीलाई प्रत्यक्ष आर्थिक लाभ दिन सक्दैन ।

तर, अन्य देशमा उत्पादित सामान सस्तो मूल्यमा आयात गरेर महँगो मूल्यमा देशभित्र बिक्री गर्ने व्यवसायीले सबैलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ दिन सक्छन् । जसले गर्दा सबैको प्राथमिकतामा उद्योगीभन्दा पनि व्यवसायीमा पर्ने गरेको छ ।

त्यसैले नेपालका ठूला उद्योगीहरुका संगठन नेपाल उद्योग परिसघं र नेपाल उद्योग वाणिज्य महासंघमा रहेको अधिकांश पदाधिकारीहरु उद्योगीभन्दा पनि व्यवसायी छन् ।

आयकर ऐन २०५८ आर्थिक ऐनबाट संधैं संशोधन गरिने गर्छ । तर, साना उद्यमीलाई लाभ दिने गरी त्यस ऐनमा संशोधन गरिएको छैन ।

मूल्य अभिवृद्धी ऐन अनुसार २० लाखभन्दा बढीको सेवा कारोबार गर्दा र ५० लाखभन्दा बढीको बस्तु कारोबार गर्दा मूल्य अभिवृद्धी करमा दर्ता हुनु पर्छ । पछिल्लो केही वर्षको मुद्रास्फितिका आधारमा ५० लाखको कारोबार निकै ठूलो हो ?

राज्यले साना उद्योगी र व्यवसायीलाई लक्षित गर्दै कर कानून सम्बन्धी ओरिन्टेसन कतिको गरेको छ ? ऋण कति लिने वा ऋण लिएर उपभोग गर्ने वा नगर्ने भन्ने विषयमा राज्यले आफ्ना जनतालाई वित्तीय साक्षरता प्रदान गरेको छ ? सबै जनता आफैं जान्ने सक्षम हुने हो राज्य किन आवश्यक हुन्छ भनेर आन्दोलन गर्नु पर्ने समय आउँदैन ?

राज्यको काम कसैको मृत्यु हुँदा समवेदनाको केही अक्षर खर्च गर्नु मात्रै हो ?

यदी आगामी दिनमा राज्य उत्पादन बढाउने गरीकाम गरिरहेका व्यक्तिलाई सहयोग गर्ने गरी अग्रभागमा देखिएन भने कयौं प्रेमले ज्यान गुमाउने र देश समाजिक द्वन्द्वमा पस्ने खतरा छ ।

अहिलेको घटनाले देशभित्र केही गर्न खोजेका व्यक्तिलाई मात्रै होइन विदेशबाट फिर्किएर स्वदेशमै केही गर्छु भन्ने व्यक्तिलाई समेत निरास बनाएको छ ।

हरेक दिन कयौं सक्षम युवा देशबाहिर जान बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्न केही काम गर्न नसकेको सरकारले आफैं काम गर्छु भन्नेलाई समेत सहजीकरण गर्न सकेको छैन ।

प्रेमलाई जस्तै कयौं साना व्यवसायीलाई बजारमा फसेको उधारो उठाउन किनै कठिन हुने गरेको छ । प्रेमले जस्तै प्रहरी प्रशासन, कर प्रणालीबाट कयौं व्यवसायी पीडित बनेका छन् । तर, सरकार र नीति निर्माणमा बसेकाहरुको स्वार्थ ती तमाम विषयमा बन्न सकेको छैन । छ त केबल सत्ता, पद र व्यक्तिगत लाभमा ।

कयौं उद्योगीहरुले प्रेमले जस्तै समस्या भोगिरहेका छन् र जसोतसो बाँचिरहेका छन् । सरकार यसलाई एक व्यक्तिको आत्मदाहसँग जोडेर मुकदर्शक बनेर बसिरहन्छ भने त्यस्ता कयौं प्रेमप्रसादहरुले यही नियति नभोग्लान् भन्न सकिने अवस्था छैन।

हो अहिले विश्व बजारमा मन्दी छाएको छ । व्यापार व्यवसाय चौपट छ । ऋण बढेको छ जसका कारण उद्योगीहरु तनावमा छन् । उनीहरुको तनावलाई न्यूनीकरण गर्न राज्यले मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान दिन जरुरी छ । उनीहरुको मानसिकतालाई दरिलो बनाउन यो क्षेत्रमा राज्यले तत्काल कदम चाल्नु पर्नेछ ।

सरकार गम्भीर भयो भने आगामी दिनमा यस्ता घटना कम हुन सक्छन् । त्यसकालागि सरकारले आवश्यक कानून, नीति र पद्धति हेरफेर गर्न समय लिन हुँदैन ।

तर, सहजकर्ता/दलाल/ बिचौलियालाई ठूलो अवसर दिने गरेका राज्यका नीति परिवर्तन हुँदै उत्पादन बढाउने र उद्योग स्थापना गर्नेको पक्षमा बन्छन् र त्यस्तो काम गर्न सरकारसँग क्षमता र चाहना छ भन्ने विश्वास अधिकांश व्यक्तिलाई छैन ।

जसका कारण एक उद्योगीको आत्मदाह ‘अपराध’ सिंगो समाज स्तब्ध बनेको छ । त्यसलाई समाजले कानूनले भनेझै आत्महत्या अपराधको रुपमा हेरेको छैन । यसलाई देशको नेतृत्वकर्ताको कमजोरी र अपराधको रुपमा लिनेको संख्या ठूलो छ । नभए माइतीघरको चिसो भूइँमा प्रेमको आत्महत्या होइन, हत्या हो भन्दै बस्नु पर्ने अवस्था पक्कै बन्ने थिएन ।


शरद ओझा