निजी क्षेत्रका विमानमध्ये यतीका दुर्घटना धेरै, ११ दुर्घटनामा १६९ जनाले गुमाए ज्यान



काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विभिन्न निजी क्षेत्रका एयरलाइन्सहरुमध्ये सबैभन्दा धेरै दुर्घटना हुने एयरलाइन्समा यती एयरलाइन्स रहेको छ । १९९८ मा सुरुवात भएको यती एयरलाइन्स हालसम्म ११ पटक दुर्घटनामा परेको छ । विगतका सबै दुर्घटना हिमाली र पहाडी क्षेत्रको उडानमा भएका थिए ।

आन्तरिक उडानतर्फ हालसम्म देशमा दुर्घटना भएका एकल तथा मल्टी इञ्जिन हवाई जहाजहरुमध्येमा यती एयरलाइन्सका विमान १९.२९ प्रतिशत रहेका छन् ।

पोखरामा आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको एटिआर ७२ विमान कम्पनीको ११औं दुर्घटना हो । यसअघि यती एयरलाइन्सअन्तर्गतको यती र तारा एयरका १० वटा हवाई दुर्घटनाहरु भइसकेका छन् ।

आइतबार भएको दुर्घटनामा जहाजमा सवार ६८ यात्रुसँगै ४ जना चालक दलका सदस्यहरुको निधन भएको छ । जहाज दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ ।

आठ महिनाको अन्तरालमा यतीका दुई दुर्घटना

देशकै दोस्रो ठूलो आन्तरिक उडान कम्पनी यती एयरलाइन्सका जहाजहरु एक वर्ष पनि नपुग्दै दुई पटक दुर्घटनामा परेका छन्।

यसअघि पछिल्लो पटक यती एयरलाइन्सअन्तर्गतको तारा एयरको विमान गत जेठमा दुर्घटनामा परेको थियो । गत जेठ १५ मा पोखराबाट जोमसोमतर्फ गएको विमान मुस्ताङक्षत्रको घासा क्षेत्रको टिटी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।

मुस्ताङ क्षेत्रमा भएको तारा एयरको दुर्घटनाको कारण खराब मौसम भएको नेपाल वायुसेवा निगमको तत्कालीन प्रारम्भिक अध्ययन प्रतिवेदनले जनाएको थियो । तर, विस्तृत रुपमा उक्त दुर्घटनाको कारण के थियो भन्ने बारेमा विवरण आइसकेको छैन।

आठ महिनाको अन्तरालमा भएका दुईवटा यती एयरलाइन्सकै विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ९४ पुगेको छ ।

२२ वर्षमा यतीका ११ दुर्घटना, १६९ जनाले गुमाए ज्यान

हालसम्म यती समूहका ११ वटा विमान दुर्घटनामा परेका छन् । २२ वर्षको अन्तरालमा भएका यी दुर्घटनाहरुमा ज्यान गुमाउनेहरुको संख्या भने १६९ रहेको छ ।

सञ्चालनमा आएपश्चात पहिलो पटक यती एयरलाइन्सको विमान सन् २००१ अप्रिल ५ मा दुर्घटनामा परेको थियो । तुम्लिङटारमा भएको उक्त दुर्घटनामा यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेका थिए ।

उक्त दुर्घटना भएको तीन वर्षपछि सन् २००४ मे २५ मा यती एयरलाइन्सकै विमान सोलुखुम्बुको लाम्जुरा क्षेत्रमा दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा भने ३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २००६ जुन १२ मा जुम्ला विमानस्थलमा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए ।

सोही वर्ष एक महिना पनि नबित्दै यती एयरलाइन्सकै विमान पुनः दुर्घटनामा परेको थियो । बाजुरा विमानस्थलमा ३ जुलाईमा भएको विमान दुर्घटनामा यात्रु तथा चालक दलका सदस्यहरु भने सकुशल थिए ।

दुई वर्षपछि सन् २००८ अक्टोबर ०८ मा लुक्ला एयरपोर्टमा यती एयरलाइन्सको विमान दुर्घटना परेको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

त्यसको दुई वर्षपछि फेरि यती एयरलाइन्सअन्तर्गतको तारा एयरको विमान ओखलढुंगा क्षेत्रमा दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाए ।

त्यस्तै, सन् २०१२ सेप्टेम्बर २१ मा तारा एयरकै विमान डोल्पा क्षेत्रमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भने यात्रु र चालक दल सबै सकुशल रहेका थिए ।

सन् २०१२ पछि सन् २०१६ मा तारा एयरको विमान म्याग्दी क्षेत्रमा दुर्घटनामा परेको थियो । म्याग्दीको दाना क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए ।

६ वर्षपछि सन् २०२२ मे २९ (गत जेठ)मा मुस्ताङ क्षेत्रमा यति समूहकै तारा एयरको विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।

यसपश्चात पोखरामा पुनः यती एयरलाइन्सकै विमान दुर्घटना भएको छ । उक्त दुर्घटनाको कारण हालसम्म खुलेको छैन ।विमानमा सवार ६८ यात्रु र ४ चालक दलका सदस्यहरुको भने निधन भएको पुष्टि भइसकेको छ ।

सबैभन्दा धेरै दुर्घटना हुने निजी क्षेत्रको विमान कम्पनी

यती एयरलाइन्स नेपालको हवाई इतिहासमै सबैभन्दा धेरै दुर्घटना हुने निजी क्षेत्रको हवाईजहाज कम्पनी रहेको छ ।

हालसम्म नेपालमा आन्तरिक उडानतर्फ एकल तथा मल्टि इञ्जिनका सरकारी निकाय र निजी क्षेत्रका विमान गरि कुल ५८ वटा दुर्घटना भएका छन् । यसमध्ये १८.९२ प्रतिशत विमान दुर्घटना भने यती एयरलाइन्सका हवाई जहाजहरुको भएको छ ।

हालसम्म नेपालमा भएका हवाई दुर्घटनाहरुमा सबैभन्दा धेरै भने नेपाल एयरलाइन्सका विमानहरु रहेका छन् । सरकारी संस्थान रहेको नेपाल एयरलाइन्सका विमानहरु १९ पटक दुर्घटनामा परेका छन् । यसबाहेकका ३९ वटा निजी क्षेत्रका विमानहरु दुर्घटनामा परेका छन् । जसमध्ये २८.२० प्रतिशत विमान दुर्घटना यती एयरलाइन्सकै विमानहरुको रहेको छ ।

यती एयरलाइन्स यसबाहेक सांग्रिला एयर २ पटक, नेकोन एयर २ पटक, नेपाल एयरवेजको ४, एभरेष्ट एयर १ पटक, स्काईलाइन एयर २ पटक, समिट एयर २ पटक, मकालु एयरको ३ पटक, गोर्खा एयरलाइन्सको एक पटक, सीता एयर २ पटक, अग्नि एयर २ पटक, कश्मिक एयर एक पटक, काष्ठमण्डप एयरलाइन्स १ पटक र बुध्द एयरको विमान २ पटक दुर्घटनामा परेका छन् ।

ट्रंक रुटको ठूलो दुर्घटना

नेपाली आकाशमा हिमाली र पहाडी क्षेत्रको सट टेक अफ ल्याण्डिङ रुट(स्लट) मा तुलनात्मक रुपमा बढी दुर्घटना हुने गरेको पाइएको छ । मौसममा हुने बदलाव, पहाड लगायतका कारणले हिमाली र उच्च पहाडी क्षेत्रमा हुने उडान जोखिमपूर्ण हुने गरेको छ ।

यतीका विमानहरु प्राय स्लट उडान गर्ने गरेको छ । पछिल्लो समयमा हिमाली क्षेत्रमा उडान भर्नका लागि उसले तारा एयर सञ्चालन गर्ने गरेको छ । अहिलेसम्म भएकामध्ये धेरै जसो दुर्घटना स्लट रुटमा भएका थिए । तर, सुगम क्षेत्रको ट्रंक रुटमा पहिलो पटक ठूलो दुर्घटना भएको हो ।

नेपाली आकाशमा यसअघि ट्रंक रुटमा ठूलो दुर्घटना भएको थिएन भने यति एयरलाइन्सको पनि ट्रंक रुटमा यो पहिलो ठूलो दुर्घटना हो ।


युवराज भट्टराई